बारा–२, चितवन–२ र तनहुँ–१ मा मतदान जारी

File Photo
File Photo

 बारा–२, चितवन–२ र तनहुँ–१ मा बिहान सात बजेदेखि मतदान जारी रहेकाे निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ।

तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि ती निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य रिक्त भएको थियो। नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि चितवन–२ रिक्त थियो।

नेपालमा वैशाख १० गतेको घाम झुल्किसकेको छ। आजै नेपालका तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ ।

संवैधानिक हिसाबले ठीकै भए पनि नैतिक रूपमा भन्दा यो उपनिर्वाचनमा मंसिर ४ को निर्वाचनमा जितेका उम्मेद्वार र दलका कारण थोपरिएको देशदोहनका घटना मात्र हो। यी तीन नै निर्वाचन क्षेत्रमा उपनिर्वाचन थोपर्ने कारक बनेका यसअघि जितेका पार्टी वा उम्मेद्वार हार्नुपर्ने हो । तर, त्यस्तो देखिएको छैन। यसअघि चुनाव जितेका दलका उम्मेद्वार नै यसपटक पनि जीतको नजिक देखिन्छन् ।

यो उपचुनावले सत्ताको अंकगणितमा केही फरक नपार्ने भए पनि यसको परिणामले धरै कुराको संकेत गर्छ । त्यसमध्ये पनि सबैभन्दा ठूलो संकेत त देश ८०को दशकमा कता जाने भन्ने नै हो। हेर्नु छ, मुलुकमा रविले बाँडेको भ्रम बिक्छ या विचारले निर्देशित दलहरूले नै शंकाको सुविधा पाउँछन् ।

यसो भन्दा कसैका लागि अप्रिय पनि लाग्ला तर रविलाई आदर्श मान्ने र उनको नेतृत्वमा हिड्न खोज्ने नेपालको भविष्य हुँदैन। रवि र उनको लोकरिझ्याइँ प्रवृति देशका लागि समस्या हो, समाधान हैन। यो बुझ्नका लागि अहिले तयार नहुनेहरू समयक्रममा फालिम लाग्नेछन्। अहिलेलाई यति भनौं, बाँकि समयक्रममा समय आफैंले भन्ने छ।

तीन निर्वाचन क्षेत्रमा आज भइरहेकाे मतदानमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ६५ उम्मेदवार रहेका छन्। बारा–२ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, एमालेबाट पुरूषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेललगायतका उम्मेदवार छन्। 

तनहुँ–१ नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार छन्। 

त्यस्तै चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः उम्मेदवार छन्। त्यहाँ नेपाली कांग्रेसले जितनारायण श्रेष्ठ र नेकपा एमालेले  रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ।

प्रकाशित मिति: : 2023-04-23 06:49:00

प्रतिकृया दिनुहोस्