उपेन्द्र यादव पटकपटक मन्त्री हुँदा काम नगरी सत्तामा रमाए: प्रभु साह

आम जनता पार्टी (आजपा) अध्यक्ष प्रभु साहले उपेन्द्र यादव ‘गाई हो की निलगाई’ प्रष्ट पार्नुपर्ने बताएका छन्।

उपनिर्वाचन बारा-२ मा आमसभा तथा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रश्न तेर्साएका हुन्। आफू मन्त्री हुँदा मेचीदेखि महाकालीसम्म विकासका काम गरेको तर उपेन्द्र यादव पटकपटक मन्त्री हुँदा समेत काम नगरी सत्तामा रमाउने काम गरेको आरोप लगाए।

‘उपेन्द्र यादवसंग तपाईंहरुले सोध्नु कि कुन दुध दिएको हो? गाई हो कि निलगाई हो? विकासका लागि के के काम गर्यौँ बताउनुस्। म त मन्त्री हुँदा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विकासको आयोजना निर्माण गरेँ। सप्तरीमै म विकासको दर्जनौं आयोजनाहरु पुरा गरेँ, तपाईं भन्नुस्, तपाईं मन्त्री हुँदा बारा, रौतहट जिल्लाका लागि के गर्नुभयो? मत माग्न आउँदा उनीसंग तपाईंहरु पनि सोध्नु’, आजपा अध्यक्ष साहले भने, ‘तिमी फल दिने बिरुवा हौ कि फल नदिने (बाझ) हौं, बाराबासीलाई बताउ।’

सवाल जातको नभई सही र गलतको रहेको बताउँदै उनले प्रत्येक जातमा सही र गलत मान्छे रहेकाले सही मान्छेलाई मतदान गर्नुपर्ने र गलतलाई बहिष्कार गर्नुपर्ने बताए। यस्ता गलत प्रवृतिको मान्छेलाई पराजित नगरुनजेलसम्म विकासको कल्पनासमेत गर्न नसकिने उनले बताए।

सधैँ सत्तामा रहने र पटकपटक मन्त्री हुँदा समेत उपेन्द्रले बारा जिल्लाका लागि केही पनि नगरेको तर आफू मन्त्री हुँदा सिम्रौनगढ, गढीमाईलाई पर्यटन क्षेत्र घोषणा गराएर भौतिक पुर्वाधारका विभिन्न आयोजना अगाडी बढाएको साहले बताए। जतिबेला कतिपयलाई सम्राट सिटी के हो भन्ने थाहा नभएको बेला आफूले गढीमाई, बरियापुरलाई सम्राट सिटी घोषणा गरेर यहाँको विकासका कामलाई अगाडि बढाउने काम गरेको उनले बताए।

हुलाकी सडकमा पर्ने बाराको तियर खोलामा पुल नभएको बेला आफूले पुलको प्रोजेक्ट अगाडि बढाएको तर कतिपयले आफूलाई मसिहा ठान्नेहरुले बारा, रौतहटको विकासका लागि सिन्कोसमेत भाँच्न नसक्नेको उनले बताए।

‘सिम्रौनगढका युवाहरु आन्दोलन गर्दै संघ गरिरहेका बेला प्रभु साह युवाहरुको साथमा रहेर नहरको बाटोलाई कालोपत्रे गराउने काम गरेको सबैले देखेकै कुरा हो’ साहले भने, ‘अब तपाईंहरु उपेन्द्रहरुसंग सोध्नु कि तपाई पनि यहाँको नेता हो भने के के काम गर्नुभयो?’

आफूले एक सांसदको रुपमा मात्रै हँदा समेत धेरै काम गर्ने तर उनीहरु सधैँ सत्तामै रहेर पनि यस जिल्लाका लागि केही गर्न नक्नुले बाराबासीले पराजित गरेर लखेटनुपर्ने बताए। सिमित अवधिका लागि आफू मन्त्री भएको बेलामा धेरै आयोजनामा करोडौं बजेट राखेर ति आयोजना पुरा गराउँदै बारा, रौतहटको विकास अगाडी बढाएको साहले दावी गरे।

हरेक निर्वाचनमा जिल्ला परिवर्तन गर्दै हिँड्ने तर विकासको काम नगर्ने उपेन्द्र जस्ता नेताहरुलाई मतदान गर्नु आवश्यक नभएको बताउँदै उनले कुर्सीकै लागि मरिहते गर्नेलाई किन मतदान गर्नुपर्ने हो? प्रश्न गर्दै साहले, ‘२०६३ देखि उपेन्द्र सधैँ मन्त्री भइरहने, सिके राउत लगायतकाले के काम गरेर मधेसको विकासका लागि ? नक्कली र ठगहरु मन्दिर, मठमा पस्यो भने के हुन्छ?’

आफूले गरेको विकासको कामको बारेमा चर्चा गर्दै आउने दिनमा बारा, रौतहटसहित मधेसको विकासका लागि बारा २ मा आजपाबाट उम्मेदवार बनेको अधिवक्ता अरुण ज्ञवालीलाई मतदान गर्न उनले अपिल गरेका छन्।

पूर्वमन्त्रीसमेत रहेका आजपा अध्यक्ष साहले भ्रष्ट एवं मधेस विरोधीहरुलाई उपनिर्वाचनमा पराजित गर्नुपर्ने अहिलेको आश्यक्ता रहेको छ। बारा २ मा हुने उपनिर्वाचनमा भ्रष्ट एवं मधेस विरोधीहरु चुनाव लडन खोजेको भन्दै त्यस्ता लुटेरालाई पराजित गर्नुपर्ने बताए। 

प्रकाशित मिति: : 2023-04-17 18:22:00

प्रतिकृया दिनुहोस्