अब पार्टीभित्र नेताको मन जितेर नेता बन्ने प्रणालीको अन्त्य गर्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्न निर्देशन गरेका छन्।

पार्टी र सरकारका काम कारबाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि कार्यान्वयनको सुरुआत गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै उनले जनताको सम्बन्धलाई थप विस्तार र व्यवस्थित गर्नुपर्ने बताएका छन्।

उनले भने, 'सरकार र पार्टीको कामलाई योजनाबद्ध र व्यवस्थित गर्न तयार भएको कार्यविधिअनुसार आजबाट भेटघाटको सुरुआत भएको छ। सामान्य किसानदेखि कार्यकर्तासम्मले आफ्नो प्रधानमन्त्री भेट्ने वातावरणका लागि बनेको यस कार्यविधिलाई यान्त्रिक नबनी कार्यान्वयनमा आवश्यक कला र लचकता अपनाउँदै व्यावहारिक रुप दिन आग्रह गर्दछु।'

उनले अब पार्टीभित्र नेताको मन जितेर नेता बन्ने प्रणालीको अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याउँदै जनता र कार्यकर्ताको मन जित्ने नै नेता बन्ने बताए।

उनले भने, 'अब जनता र कार्यकर्तातिर फर्केर मात्र पार्टी बन्छ। पार्टी हामी सबै मिलेर बनाउनु नै छ। पार्टी बनाउने राजनीति, विचार र संस्कृतिमा गयौँ भने पार्टी बन्न ढिलो पनि हुन्न।'

प्रधानमन्त्री दाहालले जतिसुकै चुनौती भए पनि वर्तमान सरकारलाई सफल बनाएरै छाड्नेमा आफूहरुले सङ्कल्प लिएको र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताए।

उनले पार्टीका नेताहरुलाई निर्देशन दिँदै भने, 'लेखौँ, बोलौँ र प्रतिक्रियावादी प्रतिक्रान्तिकारीको प्रतिरोध गरौँ। हामी सबैले आफ्नो भूमिका पूरा गर्यौँ भने हाम्रो तागत ठूलो छ।'

उनले सरकारको नेतृत्व लिएपछि पनि धेरै काम गर्न प्रयास भएको भन्दै केही प्रयास सफल भएको बताए। पार्टी र सरकारको सम्बन्धलाई नयाँ उचाइँमा उठाउन जरुरी रहेको उनको भनाइ छ। सरकारलाई जनताको आशा अपेक्षाअनुसार जनमुखी बनाउने ऐतिहासिक चुनौती र जिम्मेवारी आफ्नो काँधमा आएको उनले बताए।

कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङ, उपाध्यक्षद्वय कृष्णबहादुर महरा र अग्नि सापकोटा, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोलप्रसाद गजुरेललगायतको सहभागिता थियो। 

प्रकाशित मिति: : 2023-04-14 14:53:00

प्रतिकृया दिनुहोस्