उत्तरगङ्गा आयोजना अघि बढाउनुपर्छः मुख्यमन्त्री अधिकारी

फाइल तस्बिर
फाइल तस्बिर

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उत्तरगङ्गा जलाशययुक्त आयोजनाको काम तत्काल अघि बढाउनुपर्ने बताएका छन्। 

ढोरपाटन क्षेत्र, बागलुङ जिल्ला र गण्डकी प्रदेशको दीगो विकासका लागि जलाशययुक्त आयोजना कोसेढुङ्गा सावित हुने भन्दै अधिकारीले तत्काल काम थाल्नुपर्ने बताए। उनले जलाशययुक्त आयोजना निर्माणपछि ढोरपाटन क्षेत्रका सर्वसाधारणको जीवनस्तरमा सुधार आउने विश्वास व्यक्त गरे। 

नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने भनिएको राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको विद्युत् आयोजनाको काम अघि बढाउन प्रदेश सरकारले केन्द्र सरकरासँग अनुरोध गर्ने उनले बताए। गण्डकी प्रदेशकै गौरवको आयोजना भएर पनि उत्तरगङ्गा कम चर्चामा रहने गरेको भन्दै उनले सबै पक्ष र क्षेत्रबाट यो आयोजना सञ्चालनका लागि सहयोग आवश्यक रहेको बताए। 

सम्भाव्यता अध्ययन सकिएको आयोजनाबाट आठ सय २६ मेगावाट विद्युत् निकाल्ने योजना रहेको भए पनि काम अघि बढ्न सकेको छैन। नेकपा (एमाले)को ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत ढोरपाटन उपत्यकामा आयोजना गरिएको कार्यक्रममा मुख्यमन्त्री अधिकारीले ढोरपाटन क्षेत्रमा पुग्ने सडकको स्तरोन्नतिका लागि प्रदेश सरकारले योजना बनाइरहेको बताए। 

राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडकको काम सन्तोषजनक नभएको भन्दै उहाँले आयोजनाले तत्काल काम सक्नुपर्ने बताए। ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका सबै बस्तीमा केन्द्रीय प्रसारण लाइन विस्तारका लागि प्रदेश सरकार तयार रहेको उनको भनाइ थियो।

ढोरपाटन नगरपालिकाका केही वडामा बाहेक अन्य तीनवटै पालिकाका वडामा केन्द्रीय प्रसारण लाइन पुगेको छैन। ढोरपाटनमा अस्पताल र शिक्षा क्षेत्रको सुधारका लागि प्रदेश सरकारले विशेष योजना ल्याउने अधिकारीले बताए।

सांसद देवीप्रसाद भट्टचनले जनताको आर्थिकस्तर सुधार नभएसम्म समृद्धिको सपना पूरा गर्न नसकिने बताए। आयआर्जन र उत्पादनको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने उहाँको धारणा थियो।

गण्डकी प्रदेशसभा सदस्य कृष्ण पाठकले जनभावनाअनुसारकै विकास निर्माण र विधि विधान बनाउने काममा आफू लागिरहेको बताए। ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले ढोरपाटन, निसी र तमानको विकासका लागि तीनै तहका सरकारको साझा कार्यक्रम आवश्यक रहेको बताए। 

प्रकाशित मिति: : 2023-03-12 19:32:00

प्रतिकृया दिनुहोस्