राष्ट्रपतिमा रामचन्द्र पौडेललाई १० दलभन्दा बढीको समर्थन छ: प्रधानमन्त्री प्रचण्ड 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई १० दलभन्दा बढीको समर्थन रहेको बताएका छन्।

राष्ट्रपति निर्वाचनको सन्दर्भमा आठ दलीय गठबन्धनका सांसदहरुका लागि बिहीबार आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ताे बताएका हुन्।

उनले राष्ट्रपतिका उम्मेदवार पौडेललाई ८ दलको मात्रै नभएर संसद्‌मा र निर्वाचन आयोगमा दर्ता भएका १० दलभन्दा बढीको समर्थन रहेको बताएका हुन्।

'रामचन्द्रजीलाई नेपाल समाजवादी पार्टी, नेपाल आम पार्टीको पनि समर्थन छ। स्वतन्त्र सांसदहरूको पनि समर्थन रहेको जानकारी गराउँदछु,' प्रचण्डले भने।

उनले एमालेसँगको गठबन्धनको सुरुवातमै संसद् विघटन सही थियो कि गलत थियो भन्ने डिबेट आएपछि आफूलाई पहिल्यै गठबन्धन धेरै समय नटिक्ने लागेको बताए।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका अहिलेको गठबन्धन सरकार गठनका लागि मात्रै नभएर लोकतान्त्रिक नियम र मान्यताको रक्षाका लागि भएको समेत बताए।

प्रकाशित मिति: : 2023-03-02 16:32:00

प्रतिकृया दिनुहोस्