मिनबहादुर गुरुङ: प्रचण्डबाट थुनिए, ओलीलाई पार्टी कार्यालय बनाउन ७० कराेड बढी पर्ने जग्गा सुम्पिए

Break n Links
Break n Links

२०७२काे विनाशकारी भूकम्पबाट पार्टी कार्यालय भत्किएपछि उचित ठाउँकाे खाेजीमा छटपटीरहेकाे नेकपा (एमाले)ले अब भने आफ्नै सुविधायुक्त भवन बनाउने भएकाे छ। प्रधानमन्त्रीको कुर्सीमा आसिन पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार कीर्तिपुर नगरपालिका वडा नं. २ स्थित मैत्रीनगरमा नयाँ पार्टीका कार्यालय भवनको शिलान्यास गरे।

०७२काे विनाशकारी भूकम्पबाट बल्खुस्थित मदननगरमा रहेकाे एमाले पार्टी कार्यालय भत्किएकाे थियाे। त्याे भवन भत्किएपछि अलपत्र परेकाे एमालेले अहिलेसम्म एउटा गतिलाे पार्टी कार्यालय खडा गर्न सकेकाे थिएन। याे ९ वर्षकाे अवधिमा एमालेले तीन ठाउँमा त पार्टी कार्यालय सार्‍याे।

भूकम्पबाट बल्खुकाे पार्टी कार्यालयमा क्षति पुगेपछि एमालेले धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको भवनबाट पार्टी कार्यालय चलाएकाे थियाे। त्यसाे त यहाँ पार्टी कार्यालय चलाइँदै गर्दा एमालेले बल्खुमै नयाँ पार्टी कार्यालय बनाउनका लागि शिलान्यास पनि गरेकाे थियाे। १ वर्षमा कार्यालय भवन बनाउने लक्ष्य राखिए पनि त्याे बिचमै अलपत्र पर्‍याे।

त्यसपछि २०७८ वैशाख ८ गते एमालेले थापाथलीमा पार्टी कार्यालय सार्नु परेकाे थियाे। थापाथलीमा पार्टी कार्यालय स्थापना गर्दा ओली प्रधामन्त्री थिए। तीन राेपनीमा बनेकाे १२ काेठे त्याे भवन विद्युत महसुल तिर्न बाँकी रहेका एकजना व्यापारीले दिएका थिए। चक्रपथ निर्माण भइरहेकोले धुम्बाराहीको पार्टी कार्यालयमा आउजाउ गर्न गाह्रो भएको भन्दै एमालेले पार्टी कार्यालय थापाथलीमा सारेकाे थियाे। तर, पनि एक वर्षभन्दा बढी पार्टी कार्यालय चल्न सकेन। त्यहाँ पार्किङलगायतका लागि पर्याप्त ठाउँ नभएकाे एमाले नेताहरु बताउँछन्।

थापाथलीमा आएकाे ठिक एक वर्षपछि २०७९ वैशाख ८ गते एमालेले च्यासलस्थित तुलसीलाल स्मृति भवनमा कार्यालय सार्‍याे। तर, मनाेहरा खाेलामा आउने बाढीका कारण एमाले पार्टी कार्यालय डुबानमा पर्ने गरेकाे छ।

बाढीका कारण कार्यालय डुबानमा पर्दा एमालेले दु:ख पाइरहेकाे छ। यही असाेज ११ र १२ गते आएकाे बाढीका कारण त एमाले पार्टी कार्यालय नराम्राेसँग प्रभावित भएकाे थियाे। बाढीबाट हैरानी ब्यहाेर्दै आएकाे एमालेले अहिले भने आफ्नै भवन बनाएर पार्टी कार्यालय स्थापना गर्ने निर्णय गरेकाे छ। बिहीबार बसेको सचिवालय बैठकले पार्टी कार्यालय कीर्तिपुरमा सार्ने निर्णय गरेको थियाे। जसको आज कीर्तिपुरमा प्रधानमन्त्री ओलीले शिलान्यास गरे।

एमाले पार्टी कार्यालय बनाउन लागिको यो जग्गा भने भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले दान गरेका हुन्। गुरुङ दम्पतीले दान गरेको जग्गा १० रोपनी १४ आना रहेको छ। अहिलेको बजारभाउ अनुसार यस जग्गाको मूल्य ७० करोड बढी पार्न आउँछ।

गुरुङ एक विवादित व्यवसायी हुन्। जो, बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका छन्।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गुरुङलाई यही प्रकरणमा अनुसन्धानका लागि हिरासतमा पुर्‍याएको थियो। ललिता निवासको सरकारी जग्गा किर्ते गरेर हडपेको आरोप गुरुङमाथि छ। यही आरोपमा गुरुङ २०८० असार १२ गते पक्राउ परेका थिए।

तर, पक्राउ परेका गुरुङ ११ दिनपछि २ करोड ४६ लाख धरौटी बुझाएर रिहा भएका थिए। यति ठुलो प्रकरणमा गुरुङलाई पक्राउ गरेकोप्रति त्यतिबेला प्रधानमन्त्री (तत्कालीन) प्रचण्डलाई सबैले ‘स्याब्बास’ भनेको थियाे।

तर, कनै समय माओवादीसँग साइनो जोडेका गुरुङ याे घटनापछि प्रचण्डसँग चिढिएका थिए। प्रचण्डसँग चिढिएका गुरुङले पछिल्ला दिनहरुमा एमाले अध्यक्ष ओलीलाई सहयोग गर्दै आइरहेका छन्।

ओलीसँगै भवनको शिलान्यास गर्न कीर्तिपुर पुगेका मीनबहादुर गुरुङले आफू पहिलादेखि नै एमालेको नजिक रहेकोले पार्टी कार्यालयका लागि जग्गा उपलब्ध गराएको बताए। पार्टी कार्यालयका लागि जग्गा उपलब्ध गराउन पाउनू आफ्नो लागि राम्रो अवसर भएको मीनबहादुरको भनाइ छ।

अब यो जग्गामा एमालेले ‘मदन भण्डारी स्मृति भवन’को नामबाट भवन बनाउनेछ।

प्रकाशित मिति: : 2024-10-11 17:47:00

प्रतिकृया दिनुहोस्