तिमी आऊ अब, क्रान्ति सक्किसक्यो!

Break n Links
Break n Links

एकाबिहानै झिसमिसे उज्यालोमा कसैले ढोका ढक्ढक्याएजस्तो लाग्यो। हतार हतार उठेर ढोका खोलें त्यहाँ कोही थिएन र कसैलाई देखिनँ।

दिनभरि बारीको डिलमा आएर काग करायो अब चाहिँ घरमा कोही आउँछ वा केही खबर आउछ कि भन्ने ठानें तर कोही आएन, केही खबर पनि आएन। घरकै पर छेऊ दोबाटोमा पर्खी बसें केही खबर आउँछ कि भनी अँह केही खबर आएन, यसरी धेरै समय धेरै ठाउँ पर्खी बसें अँह कोही आएन।

ती दिन जुन दिन तिमीले मलाई कसम खाँदै भनेका थियौ त्यो दिन मैले भुलेकी छैन। जुन उद्देश्यले घर छोडेका थियौ त्यो पनि मैले भुलेकी छैन।

खै तिमीसँगै हिँडेका तिम्रा अरु साथी उहिल्यै आइसके तिमी कहाँ छौ, के गर्दै छौ कोसँग छौ? न तिम्रा साथीले भन्छन् न तिमीले नै भन्यौ।

मैले त्यो बेला तिमीलाई भनेकी थिएँ हाम्रो समाजको बारेमा, हाम्रा संस्कारका बारेमा तिमी हिँडेको बाटोको बारेमा र तिम्रो उदेश्य पूरा गर्न सँगै हातेमालो गर्दै हिँडेका साथीसङ्गीका बारेमा। खै, तिमिले मानेनौ र मसँग रिसाएर हिँड्यौ त्यसैले तिमी घर आउन अफ्ठारो त मानेका छैनौ? 

खै, र! केही छैन समय बदलिएको छ, तिमीहरूले भन्ने गरेको बिनासपछि विकास, मान्छे मारेर मात्रै  सम्भब हुने क्रान्ति, साम्राज्यवाद विस्तारबाद र घरेलु सामन्तवादविरुद्धको लडाईं, तिम्रो भाषामा सम्पन्न भएको छ। तिम्रा साथीहरू त्यसै भन्दैछन् आजभोलि।

तिमीसँग हिँडेका केही साथीहरूलाई राज्यले सहिद घोषणा गरिसकेको छ। त्योभन्दा धेरै अंगभंग भएर दर्दनाक जिन्दगी लिएर घर फर्किएको पनि वर्षौं भइसक्यो। बिचरा पिडादायी जीवन ब्यतित गर्न बाध्य छन्। दिन गुजारा चलाउन धौधौ छ, कोहीले हिँजोको त्यही साम्राज्यवाद र विस्तारबादको उपमा दिएका मुलुकमा कुल्ली, ज्यामी चौकिदार आदि बन्दै घरधन्दा छन्। परिवारको पेट पालिरहेका छन्। 

त्यही भित्रका कोहिकोही त यो देशका ठुल्ठूला ओहोदामा पुगिसके। जीवनको बाटो नै परिवर्तन गरिसके, कोहि अझै आत्मसमर्पण नगरौं बेला आउन बाँकी छ भन्दै ज्वारभाटा ल्याउछौं भनिरहेछन्। 

तिमीले  भन्थ्यौ नि, हाम्रो सत्ता हो। त्यो सत्ता पनि पटक पटक चलाइसके, सत्ताको मोह पनि राम्ररी बुझिसके त्यसैले त सत्ता बाहिर हुनेबित्तिकै छट्पटाउने बानी समेत लागिसकेको छ। 

यतिका पटक सत्ताको नेतृत्व गर्दा समेत खै त साम्राज्यवादसँग र विस्तारवादसँग लडेको? अझ आजभोलि त तिनीहरू साम्राज्यवाद भन्नेहरूसँग घुँडा टेकेका छन्। राष्ट्रघाती सम्झौताका ब्याख्याता बनेका छन्। विस्तारवादका सामु लम्पसार भएका छन्। हिँजोको घरेलु सामन्तभन्दा धनाढ्य भएका छन् नब सामन्तवादको जस्तो व्यवहार प्रदर्शन गर्दैछन्। हिँजो सबै सर्बहाराकृत हुँदै गर्दा समाजवाद र साम्यवादको बाटो अङ्गाल्ने नीतिको घोक्रो सुख्ने गरि आदर्श बाँड्दै गाउँवस्ती चाहर्दै हिँड्ने तिमी र तिम्रा साथीहरू लाई सम्झिरहेकी छु।

खै, र!

तिमी अहिलेसम्म कहाँ छौ, कहिले आउँछौ, तिम्रो उदेश्य कहिले पूरा हुन्छ थाहा छैन। तर तिमीसँगै हिँडेका तिम्रा साथीहरू आज जनता सर्वहारा बनाएर आफ्नै साथीलाई सर्वहारा बनाएर आफू एक्लै पूँजिपति बन्ने दौडमा छन्। 

हिँजो एउटा राजतन्त्र थियो त्यसका विरुद्ध लड्यौ, आज दर्जनौं नवराजाहरूबाट शासन चलिरहेको छ।  त्यसको हिस्सेदार तिम्रा साथीहरू पनि भैसके, हिँजो गरिब दलित-जनजाति, मधेसी, महिला, उत्पीडित पिछडिएका वा जनता दुब्लाएर सरकार मोटो हुने देशमा विकास हुँदैन त्यस कारण क्रान्ति गर्नुपर्छ भन्थ्यौ। जनतालाई नदुब्लाइकन वा जनतालाई मोटाएर मात्र सरकार मोटो हुनुपर्छ भन्ने गरेका थियौ। असाध्यै राम्रो कुरा उठाएका थियौ तर त्यो सब खै?

थाहा छ जन्मिनेबित्तिकै हाम्रा सन्तानहरूले टाउकोमा ८० हजार भन्दा बढी ऋण बोकि आउँछन्। शासन गर्नेहरू मोटाउँदैछन् कि जनता दुब्लाउँदैछन्?

छोडौं यी सब कुरा तिमी कहाँ छौ? कुन दुनियाँमा छौ? तिमी गएदेखि हामीले एकपटक पनि दसैं मनाएका छैनौं तिमी आएपछि मनाऔंला भनेर!

हिँजको समाजमा तिमी जेजस्ता विकृति अनि कुरिती, अन्याय र अत्याचारविरुद्ध लडेका थियौं। तिम्रा सहयोद्धाहरू आज त्यही बाटोमा छन्। त्यही विकृती, विसंगत समाजका अगुवा भइरहेका छन्। शासक भइरहेका छन्। तिमी-हामी फेरि रैतिजस्ता। 

त्यसैले तिमीले घर आउन अप्ठ्यारो मान्नै पर्दैन, आऊ यो दुनियाँ यस्तै हो।

तिमी जहाँ छौ चाँडै आऊ। 

सबै सबै आइसके। सबै उस्तै भइसके। तिम्री बहिनीले सजाएर राखेको मखमली र सयपत्री फूलको माला पनि वर्षौ देखि तिम्रै तस्बिर अगाडि राखेकी छ। थालीमा बनाएको टीका सुकेको वर्षौं भइसक्यो। हरेक दसैंमा जमरा उम्रिन्छन्, तिमी आउदैनौं ती त्यसै सुकेर।

आऊ अब हामीलाई केही चाहिएको छैन। मात्रै तिमी आएपुग्छ, अब सब त उस्तै भइसक्यो।

बस् तिमी आऊ…
 

प्रकाशित मिति: : 2024-10-11 17:09:00

प्रतिकृया दिनुहोस्