गठबन्धन गर्दा प्रधानमन्त्रीमा आलोपालो गर्ने सहमति भएकाे हो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धन गर्दा प्रधानमन्त्रीमा आलोपालो गर्ने मौखिक सहमति भएकाे बताएका छन्। 

सोमबार बिहान गृहजिल्ला चितवन पुगेका अध्यक्ष प्रचण्डले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन्।

उनले भने, 'समझदारीबाट जिम्मेवारी आयो भने लिने हुन्छ। समझदारीबाट अरु नै हुन पनि सक्छ।' गठबन्धनका बीचमा यसअघि लिखित औपचारिक रुपमा केही नभएको भन्दै उनले थपे, 'गठबन्धन गर्दा आलोपालो गर्ने कुरा भएको हो, अहिले पनि यो समझदारी छ।'

गठबन्धन गर्दा आलोपालो प्रधानमन्त्री हुने मौखिक सहमति भएको दाबी गरेका प्रचण्डले चुनावपछि आफूलाई प्रधानमन्त्री बनाउने विषयमा गठबन्धनभित्र छलफल भएको बताए।

यद्यपि, प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखका विषयमा प्याकेजमा सहमति खोजेर गठबन्धन अघि बढ्ने प्रचण्डको भनाइ छ।

आफू प्रधानमन्त्री हुनुपर्छ नै भन्ने कुनै अडान नरहेको बताउँदै प्रचण्डले गठबन्धनभित्र छलफल गरेर शक्ति बाँडफाँट गर्दै अघि बढ्ने जानकारी दिए।

प्रकाशित मिति: : 2022-12-19 12:29:00

प्रतिकृया दिनुहोस्