दसैंका विस्मृत–छालहरू

अनाम

बैंकक, थाइल्यान्ड
Break n Links
Break n Links

थाइल्यान्ड रमाइलो छ। अझ भनौँ– बैंकक। यो शहरमा मानिसहरू आआफ्नै लयमा बाँचिरहेका हुन्छन्। अस्त–व्यस्त ‘सुन्दरनगरी’ बैंककमा सबै जसो व्यस्तै हुन्छन्।अझ धेर व्यस्त। चोकगल्लीका सडक। अनि व्यस्त नै छौं हामी प्रवासी मजदूर। जसका हजारौँ सपनाहरू बैंककले चम्काउँदैछ, डुबाउँदैछ वा समयको फेरो तन्काउँदैछ।

छिटोछिटो गुड्नु पर्ने गाडीहरू थपक्क रोकिएकै छन् सडकमा। हैरान छु, सधैं झैं वाक्क पारि रा'थ्यो ट्राफिक जामले। यात्रुले खचाखच भरिएको बस भित्र थुनिएकाछौं मानवरुपि रोबोट सरह। एकअर्काको पसिनाको बाफले पाकिसके म। अब त सासै चल्न छोड्यो, मुखबाट आवाजै निस्किन छोड्यो। बल्लतल्ल मेरो ओर्लिने पालो आयो र खुसी हुँदै गाडीबाट बाहिर निस्किन्छु। सरासर सानो आफ्नो कोठा छिरेर दिनभरिको थकान बिसाउन ‘चिसो पानी’मा चोपलिन्छु। केहि समयपछि हलुङ्गो महसुस हुन्छ। शान्त वातावरणमा पानीका थोपाहरूले ‘बाजाको ताल’ मिलाइरहेका छन्। त्यहि तालमा रमाउँदै गीत गुनगुनाउँछु।

ह्या..!

फोनको आवाजले वातावरण भंग गर्यो। अनि, चिसो पोखरीबाट बाहिर निस्के र उठाउँछु। ‘दिदी अहिलेसम्म तयार भएर कोठामा आउनु भा'छैन? नाइट मार्केट जाने भनेको थिएँ त,’ भन्दा झसङ्ग भएँ। हिजै मात्र पटकपटक भनिरहेकी थी। बजार जाने मन नहुँदानहुँदै असजिलो मानीमानी हुन्छ भनेकी थिएँ मैले। ऊ बच्चा झैं फुरुङ्ग भएको देखेर हाँसो उठेको थियो।

उमेरले ४० ननाघे पनि कर्तव्यको भारले ६० कटिसकेको म। बिहे नभए पनि अविभावक भएको दुई दशकै कटेछ। बडादसैं आयो रे! भित्तेपात्रोमा बाहेक अन्त आएझैं नदेख्ने म। बाल्यकालतिरै फर्किन्छू। शरीर थाइल्यान्डमा भएपनि मन मोगोकमै (म्यान्मा) हुन्छ तर हाम्रा घरकालाई प्रत्येक चाडबाड पहिल्यै लाग्छ। टेबलअघि बसेर हेर्छू– रमाइलो थियो कुनै समय। याद छ। एक समय थियो, सानो छँदा।

कहिलेकाहीँ लाग्छ– जसलाई फुर्सद छ। जोसँग पैसा छ, त्यसलाई बैंककमा जहिल्यै दसैं छ तर नेपालीहरूको जमातमा हुर्केको म, नेपाली परिवेश मै बाँचिरहेकोछु। थर सुनेर गोत्र ठ्याक्क अनुमान लाउन सक्थें। चित्त नबुझे थरगोत्रको पुस्तक पल्ट्यार उत्तर नियाल्थे। प्रवासिएको परिवेशमा काम चलाउने पण्डितले दिएको काश्यप गोत्रलाई हाम्रो गोत्र यो हो भन्दा ‘माउ भन्दा चल्ला बाँठो बन्नुहुँदैन’ जे छ, ठिक छ भन्ने बा पनि थर गुमाएर कुन कुनामा अलपत्र छन्।

बालापन नमजाले भन्दा कष्टदायी थियो। पढाई बाहेक अरु थिएन। जसमा सम्झनाको पाटा भन्नु नै थकाइ थियो। दसैंको टीका जन्मघरमा लगाएपछि मात्र मावल जानुपर्ने।

मोगोकमा नेपाली नै नेपाली छौं।ऊ अलग प्राकृतिक सुन्दर र सजावटले बेग्लै राम्रो छ।त्यहाँ बस्ने विभिन्न प्रजातीहरूको बेग्लै न्यानोपन छ। जसमा बाँचेको नेपाली जनसमुदायले सानो नेपाल भनेर चिनिएर बाँचिरहेको छ। दसैं टीका साइतमै लगाएपछि ६–७ घण्टा हिँडेर जानुपर्थ्यो मावल। म्यान्मामा हामी सानैमा सिकाइन्थ्यो दुइटा हुन्छन् घर भनेर– ‘बा’घर र ‘मामा’घर। परिवारै घण्टौँ हिँडेर उफ्रीउफ्री मावल जान्थ्यौँ। बाआमै, मामामाइजूको दक्षिणा र आशिष थाप्थ्यौं।दाजुभाइ र दिदीबहिनीहरू जम्मा भइ पैसा गन्थ्यौं। आमैका पुराना र घतलाग्दा कुरा सुन्दा लठ्ठ हुन्थ्यौं। आमैले सुनाउने कथा र सिलोक,तुक्काहरू आज पनि ताजा याद छ।

बाघर र मामाघरमा टीका थापेको भोलिपल्ट हामी म्यान्माली स्कूलका साथीहरूसँग गफिन्थ्यौँ। मामाघरको कथा सुनाउँथियौँ। रहरका पोका खोल्थ्यौँ। मामाघर जाँदाका गुनासाहरू बाँड्थिउ। केही वर्ष यसरी बिते। अन्ततः पढाइको अन्त्यसँगै मावली बाआमैको पनि बित्नुभयो। त्यसपछि मावलमा टीका लाउन जानै परेन। मामा घर नै हरायो।

घरको हाँगा ठूलो हुँदा आफन्तको जुठो लागि रहन्थ्यो। एक पटक सात सालपछि टीका लगाउन पाएका थियौं, त्यो पनि चाडबाडमा एक हाँगाले मात्र टिका नलाउने भन्ने निर्णय लिएर। हामी सबै खुशी थियौं। पिङ् खेल्न जाने योजना थियो तर मन्दिरमा चण्डि पढ्ने नहुँदा मिलेन। सबै अन्तको झैं पुस्कत ब्यापक नहुँदा र गाउँमा नौ दिनको व्रत बस्नेहरूलाई कथा पढि दिने नहुँदा, अक्षर चिन्नेले पढ्नुपर्दा म्यान्मामा युवावस्थाको रमाइलो गर्नुपर्ने सबै अधिकार हरू गुम्यो।

बाबाको आफ्नो गाउँ सानो भएनि रमाइलो थियो। हितैसी लाग्थ्यो। पूरै गाउँ आफ्नो थियो। सबै काकाबाउ, फुपू, जेठाबाउ र आमैको घर हुँदा विन्दास डुलेर टीका थाप्ने र सेलरोटी चपाउने योजना मनमनै बन्थ्यो।

घरभरि मान्छे। टीकाको पालो रुङ्दारुङ्दा अबेर हुन्थ्यो। टीका लाउन हिँडेको बाटैमा नयाँ बैनीज्वाइँ भेटिए। ‘दिदी सँगै जाऊँ'बैनीले भनी। मनमनै गम्किएँ। आहा! मचाहिँ गाइड नै बन्ने भए भनेर। केहि क्षणमा थाहा भयो कि एकल जानु र जोडी जानुमा धेरै फरक हुँदोरहेछ। ज्वाइँलाई मान्यता दिने हाम्रा फुपू र आमाले छोरीको खासै वास्ता नगर्ने रहेछन्। टीका थाप्दा पाइने दक्षिणा मेरो भागमा कहिलै हुँदैनथ्यो। अझ यसपटक भने जमारा र पातीसहित टन्न आशिर्वाद थापेकी थिएँ, ‘बैनीले जोडा मिलाएर घर बनाइ, अब ढिला नगरेस्, एकलो जीवन गाह्रो हुन्छ’ भनेर।

मलाई निकै रिस उठ्यो। जमरासहित आशिर्वाद फिर्ता दिने मन थियो। रातो मुख पारेर सेलरोटीको चुरा लाएकी थिएँ। धेरै खाएर उठ्न बस्न गाह्रो भइरहेको थियो। तैपनि खान किन छाड्ने भनेर खाएरै हिड्थेँ।

त्यो समय सम्झेर म मुसुमुसु हाँस्छु। मेरो अनुहार हेरेर बैनीहरू सोध्छन्। ‘दिदी तपाईं सानो छँदा दशैं कति रमाइलो लाग्थ्यो?'

फेरि सोंच्छु ‘मेरो उमेर ढल्केरै गयो र?'

०००

विदेशिएको एक दशक भयो। कैयौँ दशैं डेरामा, काममा, घरमा कट्यो। आर्थिक र देशकाल परिस्थितिले विदेशिन वाध्य भएका हामी, कर्मथलो थाइल्यान्डमै भएनि परिवारसहित रमाएका छौँ। हरेक चाडपर्व मनाएका छौं। रीतिरिवाजको मान्यता पूर्णरुपले पालना गरेका छौं। फरक यत्ति छ कि यहाँ अविभावकका रुपमा आमाबुबा हुनुहुन्न। भिडियो कुराकानीबाट आशीर्वाद थाप्नुपर्छ। आँसु लुकाएर हाँसो बाड्नुपर्छ।

थाकेको मस्तिष्क र भारी शरीर टेकाउने आमाको न्यानो काख छैन। बुबाको शितलता दिने ओत छैन। अरु त सबै बराबर छ। राता, सेता अक्षता ,जमरा, सेलरोटी, पुरी, दालभात, अचार, मिठाई, दक्षिणा, भाइबुहारी र बैनीज्वाइँसँगको रमाइलो पलभन्दा नि मीठा सम्झना छन्।

पुन: दिदी भन्दा झस्केर भन्छु– हाम्रा दसैंहरू जुन तस्विरमा कैद भएनन्। किनकि त्यो एउटा समय थियो, जब एउटा तस्विर लिन कसैको बिहे या पुजा हुनुपर्थ्यो। तब फोटोग्राफर आउँथ्यो। नत्र थिएन केही। हजुरबा र आमा (मावल)को माया बेग्लै थियो। (घरपट्टीका बाआमैको याद थिएन, म सानैछँदा बितिसक्नु भएको थियो।) मावलपट्टीबाट पहिलो सन्तान भएकै कारण रहरैरहरमा धेरै माया पाएकि थिएँ। जो हर कोहीले पाएनन्। 

दसैंमा मामाघर जान पुरै शहरमा यातायातको लागि एउटा गाडी थियो। त्यो पनि सिमित ठाउँमा चल्दा हिँडेर चड्न दुई घण्टा हिड्नुपर्ने र झरेपछि पुनः हिँडेरै ३ वा ४ घण्टा पैदल चल्नुपर्दा हरेक ठाउँ हिँडेरै यातायत गर्थे सबै। सिंगो शहरमा एउटा फन (फोन) थियो। त्यो पनि सरकारी कार्यालमा। सुन्दा अचम्म लाग्छ।

आज भन्दा २५–२६ वर्ष अघिको म्यान्मा यस्तै थियो। (मेरो कुरा सुन्न सबै भाइबैनीहरू भेला भइसकेका थिए। उनीहरूको अनुहारमा झल्किरहेको थियो अश्चर्य वाला झलकहरू) दसैंमा टीका लगाएर, खाना खाएपछि मनोरञ्जनका निम्ति नाच्ने, गाउने माहोल बन्थ्यो।

'मेरी नातिनीले राम्रो नाच्छिन् भनेपछि’ राति ३ बजे नि उठेर नाच्ने गर्थें। मेरा कुराले सबै दंग। 

भाइले उत्सुकतापूर्वक सोध्छन्। कुरा काटेको होइन तर नौ दिन व्रत बसेर खसी, बोका किन काटेका? दसैंमा मासुखानै पर्छ र? म्यान्मामा बली चढाउने चलन चल्तीछैन झैं मलाई लाग्छ, यो त बुच्चडहरूको मार्केटिङ होला। मैले जानेको चाहिँ मन्दिरमा काँक्रो या कुविन्डो काटेको याद छ। अरु त थाहा छैन भनेको हाँस्छन्।

उसको र मेरो बुझाइमा फरक छ। बुझ्ने र बुझाउनेको अन्तर हो कि! मेरा कुराले सन्नाटा छाउँछ।

चियाको चुस्कि लिंदै पुनः सोच्छु।

थाइल्याण्डमा एउटाचाहिँ सजिलो छ। गाउँमा व्रत बसेरै जमरा घरमा राखिन्थ्यो। यहाँ मन्दिरमा पुरोहितले राखेर बाँड्छन्। समयको अभावले विदेशिएका नेपालीलाई सजिलो भएको छ।जसको निधार खाली हुन्छ भन्ने सम्भावना पनि छैन। किनकि पुरोहितको हातबाट आशिर्वाद र टीका थापिसकेका हुन्छौं र आफूभन्दा सानालाई टीका लगाइ दिन र स्नेहका साथ अतिथि सत्कारमा दशैं मनाउन पाउँछौं।प्रवासी हामी जहाँ, जुन ठाउँ पुगे पनि सुक्ष्म या भव्यताका साथ बडादसैं मनाउदै आएका छौं। मीठा र तीता सम्झना भने तिमी–हामीले बनाउने हो।

०००

बैनीहरू बजार जान हतारिए। यति भनेर अब पछि कुरा गर्ने भनेर नयाँ लुगा किन्न टोली लिएर हिडें। उनीहरूको व्यस्तता, बार्गेनिङ अनि ठट्टाहरूले मलाई नि दशैं लागे झैं भयो। घरको, मावलको, मीठा यादको एउटा लहर धेरै पछि माला बनाएर उनें। फुर्तिलो महसुस गरें। मन हलुका भइरह्यो। तातो बतासको स्पर्श पनि रमाइलो लागिरह्यो। मलाई जस्तै तपाईंहरू सबैलाई पनि बडादसैंको मनमन शुभकामना।

प्रकाशित मिति: : 2024-10-12 06:42:00

प्रतिकृया दिनुहोस्