पछिल्लो दुई महिनामा विभिन्न देशबाट नेपालमा ६ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन सेट भित्रिएको छ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिना (साउन र भदौ) मा उक्त रकम बराबरको मोबाइल फोन सेट नेपाल भित्रिएका हुन्।
सो समयमा ६ अर्ब १८ करोड ८ लाख ९६ हजार रुपैयाँको मोबाइल फोन नेपालले आयात गरेको विभागले जनाएको छ । उक्त मूल्यमा ४ लाख ३८ हजार ९८५ थान मोबाइल सेट नेपाल भित्रिएको छ।
नेपालमा सबैभन्दा बढी मोबाइल चीनबाट आउने गरेको छ। पछिल्लो दुई महिनामा चीनबाट मात्र नेपालमा ४ अर्ब ६७ करोड ४४ लाख ३२ हजार रुपैयाँको मोबाइल सेट भित्रिएको छ।
गत आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिनामा नेपालले विभिन्न देशबाट १० अर्ब ३६ करोड ३५ लाख ७६ हजार रुपैयाँको १४ लाख ९८ हजार ७६५ थान मोबाइल सेट आयात गरेको थियो।