अनुभव र अनुभुति

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा मेरा चलचित्र

Breaknlinks
Breaknlinks

मेरो लेखन निर्देशनमा बनेका दुई चलचित्र ‘ट्याङ्चलाक’ र ‘परिबन्द’ विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भइरहेका छन्। दुवै चलचित्रहरु नेपाली र मगर भाषा मिश्रित एवम् मगर विषयवस्तुमा निर्माण गरिएको चलचित्रहरु हुन्।

चलचित्र युनिभर्सल ल्याङ्वेज हो। यी कुराहरु चलचित्रका किताबहरुमा पढ्न पाइन्छ साथै राज काउचा थापा दाइसँग पनि कफी गफहरुमा भइरहेकै कुरा हुन्। केशव सूर्यवंशी सरसँग पनि बटौलीमा चलिरहने कुरा थियो- यो। चलचित्रको कुनै भाषा हुन्न- नजिकबाट यी दुई चलचित्रहरुले प्रमाणित गरिरहेको छ।

हामी कोरियन फिल्म हेर्छौं। जसमा अंग्रेजीमा क्याप्सन राखिएको हुन्छ र त्यही क्याप्सन पढेर फिल्म हेर्छौं। कोरियन फिल्म क्याप्सन हेरेर बुझ्ने आफ्नै देशको जातीय चलचित्र चाहिँ नबुझ्ने त हुँदैन होला भन्ने लाग्दथ्यो। अलि बढी बुझ्ने साथीहरु चाहिँ नेपालीमा बनेको भए झन बढी बुझिन्थ्यो भन्दछन्। तर, भाषा संरक्षणको लागि भाषामै चलचित्र बनाएकै राम्रो।

म १८ मगरात क्षेत्रको खाम भाषी मगर तर विगतको राज्यसत्ताको कारण भाषाविहिन गराइएको व्यक्तिले भाषा मोह बारे नबुझ्ने कुरै थिएन्। मगर भएर भाषा नबोल्ने भन्दै समाजमा कति सुनियो कति ? यसको कुनै हिसाब छैन।

स्कुल पढ्दा नै सिक्ने प्रयास गर्दा उल्टोपाल्टो सिकाउने साथीहरु पनि भेटिए। लाजै मर्दो सिकाएको थाहा पाएर सिक्ने मोह कम पनि भयो। तर, मगर विद्यार्थी देखिनै मगर समाजमा हिँडेर सामाजिक काम गरिरहँदा ढुट भाषामा सजिला–सजिला कुराहरु फर्काउन सक्ने भएको छु। र, साथीहरुसँगको संगतकै कारण ढुट भाषामा ३ वटा फिल्महरु बनाउन सम्भव पनि भएँ।

चलचित्रभित्रको रुल थ्रि एक्ट र चलचित्र सुरुवातको पहिलो १० मिनेटभित्र फस्ट ईनसाईट ईन्सीडेन अर्थात् फस्ट अब्स्टेकल्स आएन भने मानिसहरु चलचित्रमा फोकस् हुँदैनन् भने झै चलचित्र निर्माण गर्दा मेरो फस्ट अब्स्टेकल्स भनेको नै भाषा नबोल्नु रहयो। यसलाई पार लगाउँदै चलचित्र निर्माणको काम सक्दाको मज्जा नै बेग्लै छ। यसको अनुभूत मलाई मात्र थाहा छ। अन्यले त महसुस गर्ने त हो।

विगतको राज्य सञ्चालन गर्नेहरुले भाषिक दमन गरेकै कारणले हामी भाषा नबोल्ने भएको हो भनेर त हामीले पनि बुझाउन सक्नुपर्छ। बुझ्नेले यसै बुझिहाल्छ। नबुझ्नेलाई त जति पढाए पनि बुझाए पनि उस्तै हो। यसको लागि नदुखेको आफ्नो टाउको किन दुखाउनु ? र, कसैले यसो भन्यो भनेर मगर नहुने पनि त होइन ? आफ्नो क्षेत्रमा आफूले जानेको काम निरन्तर गरिरहने हो। महसुस गर्ने कुरा समय आएपछि भइहाल्छ।

चलचित्र राजनीति पनि हो- राष्ट्रको। आफ्नो देशको भाषा, संस्कार, संस्कृति बारेमा भुउपग्रह प्रयोग गरी अर्को देशमा आफ्नो देशको पर्यटन प्रवद्र्धन गर्नुदेखि लिएर आफ्नो पहिचानको माध्यम बनाउन सकिन्छ- चलचित्रलाई। तर, हाम्रो देशका उपल्लो तहमा रहेका ब्युरोक्रेट्सलाई चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र हो भन्ने सोचाई छ जस्तो लाग्छ।

जसरी खेलकुदले राष्ट्र चिनाउँछ त्यस्तै गरी चलचित्रले देश चिनाउँछ। तर, नेपालमा न खेलकुदलाई राष्ट्रले चिन्यो न चलचित्रलाई। व्यक्तिको नाममा प्रतिष्ठान खोल्दा करोड बजेट दिने सरकारले खेलाडी र खेलकुदलाई फरक तरिकाले हेरिरहेको छ। चलचित्र पनि त्यस्तै हिस्सा अन्तर्गत पर्दछ।

नविन सुब्बा दाइको अन्तवार्वार्ता भरी जहिले पनि नेपालको मौलिक फिलिम र नेपाली क्राफ्ट बारे भनिरहनु हुन्छ। अहिले अलिअलि बुझ्न थाल्दैछु- उहाँको भनाई। आफ्नो समुदायको फिल्म भनेर हामीले भारतीय फिल्म र नेपाली फिल्मको कपी गरिरहेका छौं ? आफ्नो समुदायमा ती कुराहरु छैनन्/हुँदैनन् तर हामी त्यस्तै चलचित्र बनाइरहेका छौँ। हामी भारतीय फिल्मदेखि प्रभावित छौँ। त्यसैले उतैको जस्तो फिल्म बनाई रहेका छौँ।

मगर समुदायमा फिल्म बनाउँदा हिरो लाहुरे हुन्छ। लाहुरे हिरो लडाइँमा मरेको खबर घरमा आउँछ। बिहे गरी ल्याएको बुहारीको कारण छोरा मरेको हो भन्ने ठहर गरी बुहारीलाई घरदेखि निकालिदिन्छ। केटी गिट्टी कुटेर पेट पाल्छ। अन्तमा लाहुरे हिरो मरेको हुँदैन र फर्कन्छ। यसरी कथा बुन्दछौं- हामी। यसरी कथा रचना गर्दा समाजमा यस्तो हुन्छ–हुँदैन हामी हेक्का राख्दैनौं।

वास्तवमा मगर समाजमा प्राय: बुहारी टाढाको नाता पर्ने हुँदैन। केटाले साली वा भनौं नजिकको गाउँदेखि नाता खोजेर नै बिहे गर्दछ। र, समाजमा बुहारीलाई छोरीको जस्तो व्यवहार गरिन्छ। लाहुरे लडाइँमा परेर मर्दा पनि उसको नाममा पेन्सन लेखिन्छ। गिट्टीनै कुटेर खानुपर्ने अवस्था आउँदैन। मरेको छोराको सन्तान छ भने त झन आफ्नो सन्तानको नाशो भनेर राम्रो हेर विचार गरी पालिन्छ।

सिनेमा काल्पनिक कथा हो तर अधिकांश सिनेमा समाजकै घटना र पात्रबाट टिपेर बनाइन्छ। त्यसरी समाजको घटना उर्तादा साँचो चित्रण होस् र कुनै वर्ग, क्षेत्र र समुदायलाई लाञ्छित नगरियोस् भनेर सचेत हुनु कलाकर्मीको दायित्व पनि हो। मौलिक कथा र यथार्थ जीवनीसँग नजिक रहेर बनाइएको सिनेमाहरुको मुल्याकन समाजमा उच्च रहन्छ।

निर्देशक नविन सुब्बा भन्नुहुन्छ- आदिवासी जनजातिको सिनेमा निर्माण गर्न व्यक्ति आदिवासी भएर मात्र पुग्दैन, सोच र दृष्टि पनि आदिवासीको हुनुपर्छ। अर्थात् आदिवासीको चलचित्र भनिसकेपछि समाज भित्रको सुवास र सुगन्धले समाजको प्रतिनिधित्व गर्दैन भने त्यो आदिवासी जनजातिको सिनेमा हुँदैन। किनकि यसप्रकारको सिनेमाहरुको प्रदर्शनले समाजको पहिचान गराउनुभन्दा समाजलाई विकृतनै चित्रण गर्दछ भने त्यो सिनेमा आदिवासीको हुनै सक्दैन।

मगर समाज आफैमा विविधताको समाज हो। तीन प्रकारको भाषा बोलिन्छ। यसमध्ये मैले बाह्र मगरात यानी ढुट भाषामा बनाएको दुई चलचित्रहरु अहिले विभिन्न १२ वटा अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भई ३ वटा महोत्सवमा अवार्ड जित्यो भने २ वटामा फाइनलिष्ट, १ वटामा सेमिफाइनलिष्ट र अन्यमा अफिसयल छनोट भयो। अमेरिकामा आयोजना भएको एउटा महोत्सव बाहेक अन्य सबै विशुद्ध विदेशीहरुले आयोजना गरिएको महोत्सवहरु थिए।

सर्वप्रथम साउथ अफ्रिकामा आयोजना भएको ४२ वर्ष लामो इतिहास बोकेको डर्बान अन्तराष्ट्रिय चलचित्र महोत्सवमा मगर विषयवस्तुमा निर्माण भएको ट्याङ्चलाक चलचित्र छनोट हुँदा आफैमा अचम्म एवम् उत्साहित भएको थिएँ।

नेपालमा बसोबास गर्ने मगरहरु बारेमा साउथ अफ्रिकाका बासिन्दालाई कति थाहा थियो। साथै उनीहरुले मगर भाषा र नेपाली भाषा मिश्रित फिल्मलाई अवलोकन गरे नै। सर्वप्रथम त्यति लामो इतिहास बोकेको महोत्सवमा मगर विषयवस्तुमा बनेको चलचित्र अफिसयल छनोट हुनु पनि मेरो लागि ठूलो कुरा भएको थियो।

यसैगरी जापानमा टोकियो फिल्म अवार्डमा ट्याङ्चलाक चलचित्र छनोट भई सिल्भर अवार्ड जित्नु पनि अर्को गर्व गर्न लायक विषय भएको छ- मेरो लागि। साथै मैले बनाएको अर्को छोटो विद्याको चलचित्र परिबन्दले भारतमा आयोजना भएको दुई वटा महोत्सवमा अवार्ड जित्न सफल भएको छ।

मेरो दुवै चलचित्रभित्र विषयवस्तु मगरको भए पनि विदेशमा आयोजना भएको चलचित्र महोत्सवहरुमा यी दुई चलचित्रले नेपालको प्रतिनिधित्व गरिरहेको छ। र, खुशीको कुरा केही महोत्सवहरुमा अवार्ड पनि जितिरहेको छ भनेर लेख्न पाउँदा पनि गर्व लागिरहेको छ।

अझ चलचित्रबाट आयोजना भएका महोत्सवहरुमा नेपाल र मगर समाज चिनाउन पाउँ भन्ने कामना समेत गर्दछु। यी चलचित्रका कलाकार तथा प्राविधिकहरुलाई धेरै–धेरै धन्यवाद।

(मेजन पुन मगर चलचित्रकर्मी संघका निवर्तमान उपाध्यक्ष हुन्)

प्रकाशित मिति: : 2021-12-04 19:12:00

प्रतिकृया दिनुहोस्