प्रदेश १ मा ४९ हजार नयाँ मतदाता थपिए

प्रदेश १ मा ४९ हजार नयाँ मतदाता थपिएका छन्। गत वैशाखमा स्थानीय तह निर्वाचनपछि प्रदेशमा ४९ हजार ४ सय ८१ जना नयाँ मतदाता थप भएका हुन्।

विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयका अनुसार आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेशमा  ३३ लाख ९६ हजार ८ सय ६५ जना मतदाता कायम भएका छन्।

प्रदेशका कूल मतदातामध्ये १७ लाख २९ हजार ७ सय ७२ जना पुरूष र १६ लाख ६७ हजार ७१ जना महिला मतदाता भएको निर्वाचन कार्यालयले जनाएको छ।

१४ जिल्ला रहेको प्रदेश नम्बर १ मा प्रतिनिधिसभाका लागि २८ र प्रदेशसभाका लागि ५६ निर्वाचन क्षेत्र रहेको छ। प्रदेशभर १ हजार ८ सय ९७ मतदानस्थल र ४ हजार ९९ मतदान केन्द्र रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवनकश्यप अधिकारीले बताए।

त्यस्तै यो अवधिमा प्रदेशमा २२ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको मतदातामा नाम संकलन भएको छ।

झापामा आठ जना, मोरङमा ६ जना, इलाम, सुनसरी र उदयपुरमा दुई/दुई जना, भोजपुर र ओखलढुङ्गामा एक/एक जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।

कुन जिल्लामा कति मतदाता

प्रदेशका १४ जिल्लामध्ये मोरङमा सबै भन्दा धेरै र तेहृथुममा सबैभन्दा कम मतदाता छन्। मोरङमा ७ लाख ३५ हजार ५ सय २५ जना मतदाता छन्। जिल्लामा ३०६ मतदान स्थल र ८३९ मतदान केन्द्र छन्।

सबैभन्दा कम मतदाता भएको तेहृथुममा ७१ हजार ९ सय ३३ जना रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। यहाँ ५६ मतदान स्थल र ९३ मतदान केन्द्र रहेको छ।

ताप्लेजुङमा कुल ८८ हजार २८५, पाँचथरमा १ लाख ३९ हजार ९३२, इलाममा २ लाख २४ हजार ८७७, झापामा ६ लाख ६३ हजार ३११, संखुवासभामा १ लाख १७ हजार ५५४, भोजपुरमा १ लाख २३३९७, धनकुटामा १ लाख १६ हजार ९९१, सुनसरीमा ५ लाख ४४ हजार ९४१, सोलुखुम्बुमा ८१ हजार ५०२, खोटाङमा १ लाख ४२ हजार ७९२, ओखलढुंगामा १ लाख १७ हजार ८९७ र उदयपुरमा २ लाख २८ हजार ९४६ जना मतदाता रहेका छन्।

प्रकाशित मिति: : 2022-09-22 14:05:00

प्रतिकृया दिनुहोस्