हर्क साम्पाङसँग टक्कर लिन खोज्यो भने व्यक्ति मात्रै होइन दल नै सिद्धिन्छ : मेयर साम्पाङ

धरानका मेयर हर्क साम्पाङले आफूसंग टक्कर लिन खोज्यो भने व्यक्ति मात्रै होइन दल नै सिद्धिने चेतावनी दिएका छन्।

बुधबार दिउँसो बोरामा बालुवा बोकेर सर्दुखोलामा माइक्रो मिनी हाइड्रो पावर हाउस बन्दै गरेको स्थलमा पुगेका मेयर साम्पाङले संचाकर्मीहरुसंग यस्ताे बताएका हुन्।

उनले अहिलेसम्म कुनै पनि दललाई तोकेर दाेष नलगाएको दाबी गर्दै आफ्नो अभियानलाई निस्तेज पार्नका लागि केही अराजक तत्त्व भिजिलान्तेहरुले आफूलाई तगारो लगाउन खोजेको बताए।

मेयर साम्पाङले भने, ‘मेरो खुट्टा तान्न खोजिएको होला म उड्ने मान्छे हुँ, खुट्टाले हिँड्ने मान्छे होइन।’

बराह पीडितको प्रसङ्गमा मेयर साम्पाङले आफू जहिले पनि पीडितको पक्षमा रहेको र अहिले पनि पीडितले न्याय पाउनुपर्छ भन्नेमा नै रहेकोले धरान उपमहानगरपालिकाले बराहको सबै सम्पत्ति रोक्काको लागि सम्बन्धित निकायलाई पत्राचार गरेको बताए।

तर अराजक तत्त्वहरूले आफूविरुद्ध मुर्दावादको नारासमेत लगाउँदै आफ्नो कार्यकक्षको झ्यालको सिसासमेत तोडफोड गरिएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए। त्यसैले ती अराजक तत्त्वहरूको कानुनी उपचार हुनुपर्ने पक्षमा आफू रहेको समेत बताए।

श्रमदान गर्ने दैनिक बढ्दै

धरानका मेयर साम्पाङले चलाएको अभियानमा श्रमदान गर्नेहरूको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ।

केही दिनअघि मेयर साम्पाङको विरुद्धमा बराह पीडितहरूले मुर्दावादको नारा लगाएपछि मेयर साम्पाङको अभियानमा असर पुग्छ कि भन्ने थियो।तर मेयरको विरोध पछि झन् धेरै श्रमदान गर्नेहरू बढेको मेयर साम्पाङको अभियानमा सक्रिय दत्त लिम्बुले बताए।

दुई दिन पानी परेकोले श्रमदान गर्न आउन नपाउनेहरू बुधवार सयौँको सङ्ख्यामा सर्दु खोला पुगेका थिए।

धरानको सर्दु, खर्दु र निशाने खोलामा अहिले मेयर साम्पाङको अभियानअन्तर्गत अहिले सर्दु खोलाबाट माइक्रो मिनी हाइड्रो पावर हाउस बनाउने क्रम धमाधम भइरहेको छ। यहाँ पावर हाउसको टरर्बाइन जडान गर्ने स्थलमा अहिले सर्वसाधारण श्रमदानमा जुटेका छन्।

पावर हाउसको काम अबको हप्ता दश दिनभित्रमा सम्पन्न भइसक्ने माइक्रो मिनी हाइड्रो पावरका लागि काम गरिरहेका तर्कबहादुर मगरले बताए।अहिले पावर हाउस बनाउने ठाउँमा तीव्र गतिमा काम भइरहेको छ।

प्रकाशित मिति: : 2022-08-04 10:31:00

प्रतिकृया दिनुहोस्