थारु महिला–४

‘काम धेरै, दाम थोरै’

फुल्दै गरेका कपालका केश। झट्ट हेर्दा मगरको जस्तो देखिने अनुहार। चोलो र सारीसँगै दायाँ काँधमा हातले बुनेको झाेला भिर्नु दैनिकी हो।

वि.स.२०४५ सालेदेखि अक्सर यही पहिरनमा सजिएर गाउँघर निस्किन्छन्, कोहलपुर–६ रझेनाकी सोकारी थरुनी (५१)। उनी महिला स्वास्थ्य स्वयंमसेविका हुन्। उनले यो काम थालेको पनि ३२ वर्ष पुग्यो।

गर्भवती, सुत्केरीलाई, खोप लगाउन प्रेरित गर्ने, सरसल्लाह दिने,सरकारका विभिन्न अभियानमा सरिक हुने र स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने उनका दैनिकी हुन्।

१९ वर्षको कलिलो स्वयंमसेविका बन्ने शौभाग्य प्राप्त गरेकी थिइन्, उनले। जतिबेला उनले विवाह गरेको जम्मा दुई वर्ष मात्र पुगेको थियो। विवाहपछि चुलोचौकामै सीमित भइन्, पुटुहिया (बुहारी) का रुपमा।

श्रीमान गाउँका बडघर थिए। उनैले तत्कालीन रझेना गाविसको वडा हेर्नेगरी काममा लगाएका थिए। अहिले उनका श्रीमान यो संसारमा छैनन्, उनका सम्झना र उनैले लगाइदिएको काम छ सोकारीसँग।

भन्छिन्, ‘एकदिन पनि विद्यालयको ढोकामा टेकिन। सानै उमेरमा विवाह भयो। आफ्नो नाम पनि लेख्न आउदैन थियो। अहिले भने सामान्य अक्षर पढ्न र लेख्न सक्ने भएकी छु।’

महिला स्वास्थ्य स्वयंमसेविका भएपनि उनले एक महिना लामो तालिम लिएकी थिइन्। त्यही हो, उनले पहिलोपटक कापी र कलम समातेको। तालिमको अवधिमा आफूहरुले गर्नुपर्ने कामका बारेमा जानकारी गराइएको उनी अहिले पनि सम्झिन्छिन्। 

त्यतिबेलाको समयमा थारु समुदायमा छोरी विद्यालय जाने चलन खासै थिएन। उनले कमलरी भने बस्नु परेन। सानै उमेरमा स्वयंमसेविका भएकोले सैद्धान्तिक कुरा सिक्ने मौका पाइन।

सोकारी भन्छिन्, ‘अस्तेके हमार काम चाई। दिन प्रति दिन धौर हुइट जाईटा। तर ज्याला चाँही कुछु नाई पइथी।’ उनको गुनासो छ, ‘धेरै काम गर्नुपर्छ थोरै पैसा छ।’ राज्यले आफूजस्ता महिलाको समस्या बुझ्न नसकेको प्रति उनको दुःखेसो छ। ‘हामीले घरघरमा गएर सेवा दिनुपर्छ। तर राज्यले हाम्रो माग पुरा गर्न सकेको छैन।’ 

त्यसैले कहिलेकाही छ उनी विरक्तिन्छिन्। एउटै क्षेत्रमा यति लामो समय काम गरेपनि धेरै कुरा गुमाएको र केही पनि नपाएको उनले बिएल नेपाली सेवालाई बताइन्।

पहिला जनस्वास्थ्य कार्यालय हुँदा तालिम हुन्थ्यो। विभिन्न संस्थाले तालिम प्रदान गर्थे। राज्यले पारिश्रमिक नदिएपनि भत्ताले दैनिकी चलाउन सजिलो हुन्थ्यो। अहिले त तालिम र भत्ता दुवै छैन। नगरपालिका लागुभएपछि हामीलाई तालिम पनि दिएका छैनन्। काम मात्रै बढी गर्नुपर्ने उनले बताइन्।

‘गाउँमा गएर महिलालाई जुटाउ। किशोरीलाई जुटाउ। बच्चाहरुको खोपको लागि उत्तिकै झन्झट हुन्छ। कहिलेकाही त मोबाइलमा रिचार्ज गर्न समेत १ सय रुपैयाँ नहुने समस्या भोगिरहेका छौ,’ निरास थरुनी भन्छिन्–‘पेटका लागि खाजा चाहिन्छ। मोबाइलका लागि खाजा( रिचार्ज)चाहिन्छ। त्यतिपनि हुँदैन।’

कुराकानीको क्रममा उनले थारु समुदायका महिलामा आएको जागरणबारे बताइन्– ‘आजभन्दा ३० वर्षअघि र अहिलेको अवस्थामा निकै परिवर्तन आएको छ। थारु समुदायका महिलामा अन्य समुदायका महिला झैँ जागरण आएको छ।’

उनले महिला स्वास्थ्य स्वंयमसेविकाको रुपमा काम गर्दा थारु समुदायका महिला निकै कम थिए। अहिले स्वास्थ्य क्षेत्रमा महिलाहरुको सहभागिता निकै बढेको छ। यस्तै सरसफाइदेखि अन्य कुरामा पनि थारु समुदायका महिला जान्ने र बुझने भएका छन्।

कोहलपुरमा अहिले कूल ७१ जना महिला स्वास्थ्य स्वंयमसेविका छन्। तीमध्ये झण्डै आधाजति थारु समुदायका महिला छन्। कोहलपुर नगरपालिकाले प्राेत्साहन स्वरुप  मासिक दुई हजार रुपैयाँ दिने गरेको छ।

‘मै जब २०४५ सालमा काममा लग्नु तो मोरिक बच्चा एक थोर २ वर्ष ६ महिनक रहे। ओ एक थोर ३ वर्ष ६ महिनक रहे। तबसे मै स्वयमसेविकक काम करत। हमार आय स्रोत कुछु नाई करइले होइ। हमार पैसा अईन दगरा कुछु नाई हो बस काम किल थप करतै,’ उनले जानकारी दिइन्।

उनको घरको आर्थिक अवस्था निकै नाजुक छ। संयुक्त परिवार भएकोले जिविकोपार्जनमा समस्या हुने उनको भनाइ छ। परिवारमा ९ सदस्य छन्। उनको बुढाको भने यही पुष १० गते मृत्यु भएको थियो। उनी लामो समयदेखि मुटु रोगीका साथै अपांगसमेत थिए। उनको घरमा उनीसहित छोरा, बुहारी, नातीनातिनीहरु छन्। एक छोरीको विवाह भइसकेको छ।

अब त बुढेसकाल पनि लाग्यो, सरकारसँग के छ अपेक्षा? भन्ने प्रश्नमा उनी सरकारले आफूहरुलाई एकमुष्ट रकम दिनुपर्ने बताउँछिन्। उनका अनुसार लामो समय आफूहरुले सेवा गरे बापत सरकारले ४/५ लाख रुपैयाँ दिने व्यवस्था मिलाउनुपर्छ। त्यसो गर्दा आफूहरुको सम्मान र बुढेसकालको साहारा हुने सोकारीको भनाई छ। 

‘हम्रे जनतनके सेवा करली। उहे से बुढेसकालके सहाराक लाग हमरन कुछ नाइ। तो ५ लाख सम्म दैके विदाई करेक चाही कहन हमार माग बा,’ उनले भनिन्। 
 

प्रकाशित मिति: : 2021-03-30 09:42:00

प्रतिकृया दिनुहोस्