राष्ट्रपतिलाई लखेटेर दरबारभित्र रमाइरहेका श्रीलंकाली (फाेटाे फिचर)

श्रीलंकामा महिनौंदेखि चलिरहेको आर्थिक संकट निकै गहिरिएको छ। मुद्रास्फीतिबाट हैरान भएका प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्री भवन घेराबन्दी गरेका छन्।

प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको निजी घरमा आगजनी भएको छ। राष्ट्रपति भवनबाट फरार छन्। आधिकारिक रूपमा राजीनामा नगरेसम्म श्रीलंकाको राष्ट्रपति र प्रधानमन्त्रीको निवासमा कब्जा जारी राख्ने प्रदर्शनकारीहरूले बताएका छन्।

राष्ट्रपति गोटाबाया राजापाक्षेले जुलाई १३ मा राजीनामा दिने शनिबार संसदका सभामुखले जानकारी दिएका थिए। त्यस्तै, प्रधानमन्त्रीले पनि राजीनामा दिने बताएका छन्।

तर राष्ट्रपति आफैं देखिएका छैनन् र सार्वजनिक बयान दिएका छैनन्।

उनी हाल श्रीलंकाको जलक्षेत्रमा नौसेनाको जहाजमा रहेको सैनिक स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। उनका भाइ पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्षे पनि नौसेनाको आधारमा रहेको बताइएको छ। 

दुबै नेताले राजीनामा दिने भने पनि आन्दोलनकारीहरूले नेताहरूको नियतप्रति शंका गरिरहेका छन्।

‘हाम्रो संघर्ष सकिएको छैन’, विद्यार्थी आन्दोलनका नेता लाहिरु वीरासेकराले भने, ‘राष्ट्रपति राजापाक्षेले नछोड्दासम्म हामी संघर्ष छोड्ने छैनौँ।’

आगामी दिन राजनीतिक रूपमा के हुन्छ भनेर हेर्नको लागि अत्यन्तै अनिश्चित समय हुने राजनीतिक विश्लेषक तथा मानवअधिकार वकिल भवानी फोन्सेका बताउँछन्।

प्रदर्शनकारीहरू राष्ट्रपति भवनको हल र बाहिरकाे स्विमिङ पुलमा रमाइरहेका छन्। कतिपय जिमहल गएर कसरत गरिरहेका छन्। यसबाहेक उनीहरू प्रधानमन्त्री निवासमा पुगेर तास खेलिरहेका छन्।

प्रकाशित मिति: : 2022-07-11 06:54:00

प्रतिकृया दिनुहोस्