कावा खोलामा पुल नबन्दा स्थानीयलाई जोखिम

File Photo
File Photo

भाँचिएको भोजपुरको कावा खोलाको पुल पुनःनिर्माणमा ढिलाइ हुँदा स्थानीयवासी ज्यानको जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।

रामप्रसादराई र हतुवागढी गाउँपालिका जोड्ने कावा खोलाको पुल निर्माणका क्रममा भाँचिएको थियो। पुल आठ महिनाअघि भाँचिएको भए पनि हालसम्म पुनः निर्माणको काम अघि बढ्न सकेको छैन।

गत मङ्सिरमा सो विषयमा सर्वपक्षीय छलफल भएको थियो। पुनः निर्माणको काम यस वर्षको बर्सातअघिनै सक्ने सहमती भएको थियो। खोलाबाट भाँचिएको पुल हटाउनबाहेक अन्य काम अघि बढ्न नसकेपछि स्थानीयले आवाज उठाएका हुन्।

प्रादेशिक सडक, पुल आयोजना प्रदेश १ का संयोजक सूर्यनारायण चौधरीले आगामी चैतसम्म पुनःनिर्माण गरिने बताएका छन्।

निर्माणकै क्रममा पुल भाँचिएको विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ। स्थानीय उमेश कुलुङले भने, 'पुल निर्माण सुरु हुँदा हामी निकै उत्साहित थियौँ। बन्दै गर्दा पुल भाँचियो। भाँचिएपछि तत्काल बन्ला बन्ने आशा थियो। तर पुनः निर्माणको काम सुरु भएन। हामी जोखिम मोलेर यात्रा गर्न बाध्य छौँ।'

पैदलयात्रुसँगै सवारीसाधन पार गर्न निकै कठिन हुने गरेको छ। विसं २०७६ फागुन १२ गते पुलको शिलान्यस गरिएको हो। करिब ९० प्रतिशत काम सकिएपछि ढलान गर्ने क्रममा पुल बीचमा भाँचिएको हो।

करिब रु पाँच करोडको लागतमा पक्की पुल निर्माण भइरहेको थियो। भोजपुर–मानेभज्याङ–रानीबास–घोडेटार सडकखण्डको उक्त पुल २०७७ असार मसान्तसम्म निर्माण सक्नुपर्ने थियो। पुलको लम्बाइ ४५ मिटर छ।

प्रकाशित मिति: : 2022-07-07 09:37:00

प्रतिकृया दिनुहोस्