फोनमा व्यस्त भएर मेरा विपरीत दिशाबाट आफ्नै सुरमा आउँदै गर्नु भएका मेरा एकजना अति आत्मीय मान्यजनसँग अचानक बाटामा जम्काभेट भयो। मैले परैबाट जम्लाहात गरि नमस्कार गरें।
नमस्कार तीन चारचोटी दोहो-याएँ। तर मलाई देखेर पनि नदेखे झैं गरी नमस्कारको प्रतिउत्तर सम्म नदिई फोन कै सुरमा मलाई क्रस गरेर आफ्नो गन्तव्य तिर लाग्नु भयो। मलाई सारै दु:ख लागेर आयो। अप्ठ्यारो जस्तो जिल्लिए जस्तो पनि भयो। म असमन्जसमा परें। खिन्न चित्त लगाएर म पनि आफ्नो गन्तव्य तिर लागेँ।
हप्ता दिनपछि म एकाविहानै विदेशबाट छोराको फोन आयो। म छोरासँग फोनमा बात मार्दै थिएँ। फोन एकान्तमा गर्नुपर्ने बाध्यता पनि थियोे। संयोगबस मेरो नमस्कार रिसिभ नगर्ने ती मेरा मान्यजन त्यही समयमा टुप्लुक्क आईपुगे। फोनले गर्दा रामरी नमस्कार गर्न पनि मिलेन, आउनु न यतातिर बसौं भन्नपनि मिलेन। हात र टाउकोका इशाराले एकछिन बस्दै गर्ने आग्रह गर्दै घरको पछाडिपटि गएर फोन गरि रहें। फोन गरी सकेर दस मिनटपछि सिकुआमा आउँदा त उहाँ फर्किसक्नु भएछ।
आज एकवर्ष भयो उहाँसँग मेरो आवतजावत र बोलचाल बन्द भएको छ।