बजेट निर्माणका क्रममा दलको घोषणा–पत्र माग 

खोटाङको जन्तेढुंगा गाउँपालिकाले नयाँ बजेट निर्माणका क्रममा सबै दलसँग घोषणा–पत्र माग गरेको छ।

आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका लागि गाउँपालिकाले एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी र राप्रपालाई पत्राचार गर्दै लिखित सुझावका साथमा गत ३० बैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका बेला जारी गरेको आ–आफ्नो घोषणा–पत्र उपलव्ध गराउन भनेको हो।

दलका घोषणा–पत्रमा उल्लेखित कतिपय प्रतिवद्धता गाउँपालिकाको बजेट निर्माणका क्रममा उपयुक्त र उत्कृष्ट हुनसक्ने भएकाले सुझावका साथमा घोषणा–पत्र माग गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले शुक्रबार पठाएको पत्रमा आगामी ६ असारसम्ममा बजेट निर्माणका क्रममा आवश्यक सुझावका साथमा घोषणा–पत्र उपलव्ध गराउन भनिएको छ।

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनबाट जन्तेढुंगामा गठबन्धनकातर्फबाट माओवादी केन्द्रका अरुणादेबी राई अध्यक्ष र कांग्रेसका खेमबहादुर खड्का उपाध्यक्षमा चुनिएका छन्।

प्रकाशित मिति: : 2022-06-19 05:57:00

प्रतिकृया दिनुहोस्