मोरङमा अपाङ्गता किशोरी बलात्कृत 

Symbolic photo
Symbolic photo

मोरङको सुनवर्षी नगरपालिका–७ मा अपाङ्गता भएकी एक जना किशोरी बुधबार साँझ बलात्कृत भएकी छन्। 
शारीरिक रूपमा अपाङ्गता रहेकी र बोल्न नसक्ने १७ वर्षीया किशोरी आफ्नै घरमा बलात्कृत भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घरमा कोही नभएको मौका छोपेर किशोरीमाथि सुनवर्षी–७ का २२ वर्षीय सुरेन्द्र ऋषिदेवले बलात्कार गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मञ्जील मुकारुङले जानकारी दिए। 

उनका अनुसार परिवारका अरु सदस्य कोही नभएको बेला घरमा पुगेका सुरेन्द्रले जबरजस्ती किशोरीलाई भान्सा कोठामा लगेर साँझ ५ः३० बजेतिर बलात्कार गरेको पाइएको छ। किशोरी राम्ररी हिँडडुल गर्न र बोल्न सक्दिनन्। 
किशोरीमाथि जबरजस्ती गरिरहेको स्थानीयले देखेपछि गाउँमा होहल्ला भएको थियो।

होहल्ला हुन थालेपछि घटनामा संलग्न सुरेन्द्र फरार बनेका थिए। इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोलीले भाग्दै गरेको अवस्थामा सुरेन्द्रलाई पक्राउ गरेको छ। 
रङ्गेली प्रहरीको हिरासतमा राखिएका उनीविरुद्ध प्रहरीले जबरजस्ती करणी मुद्दा चलाउने तयारी गरेको छ। बलात्कारबाट पीडित बनेकी किशोरीको अवस्था सामान्य रहेको जानकारी प्रहरीले दिएको छ। प्रहरीले उनको स्वास्थ्य परीक्षण विराटनगरमा गराउने भएको छ।

प्रकाशित मिति: : 2022-01-21 09:39:00

प्रतिकृया दिनुहोस्