आज दिनभरि:

स्कुटरमा भेटियाे ११ कराेडकाे सुन, ओली-देउवा चुप बस्दा प्रचण्ड उत्साही

Break n Links
Break n Links

आज बिहानै ८ केजी सुनसहित दुई भारतीय नागरिक हेटाैँडाबाट पक्राउ परे। याे समाचार फैलिरहँदा दसैँ मनाउन गाउँ जानेहरुकाे काठमाडाैँमा चहलपहल बढिरहेकाे थियाे। बाढी-पहिराेकाे त्रासका बिच आज पनि ठुलाे संख्यामा मानिसहरु राजधानीबाट बाहिरिए।

बसपार्क र उपत्यकाका नाकाहरुमा दसैँका यात्रुहरुकाे चहलपहल बढिरहँदा नेपाल एयरलाइन्सका कर्मचारीहरु भने यात्रुलाई अलपत्र पारेर आन्दाेलनमा उत्रिए। कर्मचारीहरुकाे माग सम्बाेधन गर्दै सरकारले एयरहाेस्टेजहरुकाे उमेर हद ५० वर्ष पुर्‍याउने निर्णय गर्‍याे।

यही असाेज ११ र १२ गते आएकाे बाढीपहिराे र त्यसले निम्त्याएकाे विपत्तिबारे पनि कुरा चल्याे। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले पूर्वतयारीकाे लागि पैसा अपुग भएकाे कुरा खाेले।

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवा चुपचाप रहेकाबेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन बिनागठबन्धन लडेर जित्ने घाेषणा गरे। भने, चितवनमा रास्वपा समर्थक र सहकारी पीडितबीच झडप भयाे।

त्यसका साथै मध्यपूर्वमा जारी युद्धका समाचारहरुले पनि आज स्थान पाए। भने, घाम ढलेपछि कर्णालीका चेलीहरुले हात पारेकाे जित अहिले चर्चामा छ। यीसँगै आज दिनभरिका प्रमुख समाचार यहाँ प्रस्तुत छ:


एयरहोस्टेजको उमेर हद बढाएर ५० वर्ष पुर्‍याउने निर्णय

सरकारले विमान एयरहोस्टेजको ४५ वर्षे उमेर हदलाई ५० वर्ष पुर्‍याउने भएको छ।

शनिबार ४५ वर्षे उमेर हद हटाउन माग गर्दै आन्दोलनतर क्याबिन क्रु सदस्यहरुसँग छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले निगमलाई ४५ वर्षको उमेर हदलाई ५० बनाएर अघि बढ्न निर्देशन दिएका हुन्।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री पाण्डेले क्याबिन क्रु मेम्बरहरुले आफूहरुमाथि भेदभाव भएको, आफूहरुलाई विभिन्न सेवा-सुविधाबाट वञ्चित गरिएको, आफूहरुको सुनुवाइ नभएको विषय राखेकोमा सरकारले गम्भीरतापूर्वक लिएर समस्या समाधान गरेको बताए।

याेसँगै आन्दोलन गर्दै आएका नेपाल एयरलाइन्सका एयर होस्टेजहरु काममा फर्किएका छन्।

उत्साह र त्रासकाबीच काठमाडौं छाड्नेहरुको ताँती

हिन्दुहरुको महान पर्व वडादसैँ सुरु भएसँगै देशकाे राजधानी काठमाडौँबाट बाहिरिनेकाे संख्या बढेकाे छ। बाढी र पहिरोका कारण राजमार्गहरु असहज भएपनि गाउँ जानहरुकाे भीड उत्तिकै रहेकाे छ।

सरकारले सोमबारदेखि नै रुट परमिट खुला गरिदिएपछि व्यवसायीहरुले जोखिम मोलेरै भएपनि सवारी साधनहरु संचालनमा ल्याएका छन्।

यसपालीको दसैँमा १८ लाखभन्दा बढी मानिसहरूले काठमाडौं छाड्ने अनुमान गरिएको छ।

आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी उपनिर्वाचन र २०८४को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने बताएका छन्।

माओवादी केन्द्र दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार आयोजना गरेको भेटघाट तथा अन्तक्रियालाई सम्बोधन गर्दै उनले यस्तो उद्घोष गरेका हुन्।

उनले विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर हुन पुगेको उल्लेख गर्दै अब देशब्यापीरुपमा एकल प्रतिस्पर्धामा जानेगरी पार्टीले तयारी थालेको र त्यसको सुरुवात आगामी मंसिरमा हुने उपनिर्वाचनबाट गरिने बताए।

हेटौंडाबाट ८ किलो सुनसहित २ जना भारतीय नागरिक पक्राउ

हेटौंडाबाट ८ किलो २४३ ग्राम सुनसहित दुई जना भारतीय पक्राउ परेका छन्।

शनिबार बिहान ३ बजेको समयमा विशेष सूचनाको आधारमा प्रहरीले हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्टस्थित पूर्व-पश्चिम सडकखण्डमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको स्कुटरलाई जाँच गर्दा सुन फेला परेको थियो।

बरामद सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ।

विपद् जोखिम न्यूनिकरण गर्न बजेट अभाव

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले राष्ट्रियस्तरमा पूर्वतयारी गर्नको लागि सरकारको बजेटले नपुग्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित उनले राष्ट्रियस्तरमा पूर्वतयारी गर्नको लागि केही नभएपनि २० अर्ब रुपैयाँ आवश्यक हुने भन्दै बजेटको सीमाभित्र सम्भव नभएको बताए।

उनले गृह मन्त्रालय भित्रबाट वर्षको तीन चार करोड मात्र चालु पुँजी आउने र त्यो पैसाले पूर्वतयारी गर्नको लागि सम्भव नहुने बताए।

विपद् प्रभावित पालिकालाई बागमती सरकारको ५ करोड ८० लाख रुपैयाँ

बागमती प्रदेश सरकारले विपद् प्रभावित स्थानीय तहलाई राहत तथा उद्धार कार्यका लागि आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ। शनिबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् प्रभावित ४५ स्थानीय तहहरूलाई ५ करोड ८० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।

बैठकले गत असोज ११ र १२ गतेको वर्षाका कारण विपद्बाट प्रभावित भएका स्थानीय तहलाई ३ वर्गमा विभाजन गरी राहत तथा उद्धार कार्य गर्न रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए।

अखिल क्रान्तिकारीको स्थगित सम्मेलन २३ र २४ मंसिरमा हुने

नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको स्थगित भएको २३औँ राष्ट्रिय सम्मेलन २३ र २४ मंसिरमा हुने भएको छ।

शनिबार बसेको अध्यक्ष मण्डलको बैठकले १६ असोजमा स्थगित भएको अधिवेशन २३ र २४ मंसिरमा गर्ने निर्णय गरेको हो।

हातमा राइफल समाउँदै खामेनेइले ‘नमाज’ पढेर इजरायललाई दिएको सन्देश

करिब पाँच वर्षपछि आफूलाई सार्वजनिक गरेका इरानका सर्वोच्च नेता आयतुल्लाह अलि खामेनेइले ‘मुस्लिम राष्ट्रहरूलाई’ एक हुन अपिल गरेका छन्। 

इजरायलसँग युद्ध चर्किरहेका बेला खामेनेइको सार्वजनिकीकरण र उनको सन्देशले पश्चिम एशियाली ध्रुबमा थप युद्धको संकेत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले टिप्पणी गरेका छन्। 

मंगलबारमात्रै इरानले इजरायलमाथि करिब २ सय क्षेप्यास्त्रहरू आक्रमण गरेको थियो। इजरायलको हवाई प्रतिरक्षा प्रणालीले ती रकेटहरू आकाशमै निस्तेज गरिदिएको थियो।

र,

कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि

एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यशविसले जितेको छ।

शनिबार सम्पन्न फाइनल खेलमा कर्णालीले ललितपुर क्विन्सलाई ३-२ सेटले पराजित गर्दै उपाधि जितेको हो।

खेलमा कर्णालीले शुरुका दुई सेट जितेपछि ललितपुरले खेलमा कमब्याक गर्दै तेस्रो र चौथो सेट जितेको थियो। त्यसपछिको फाइनल सेट कर्णालीले १५-१३ले जितेर उपाधि चुमेको थियो।

यो हारसँगै ललितपुर क्विन्स उपविजेता बनेको छ।

प्रकाशित मिति: : 2024-10-05 21:54:00

प्रतिकृया दिनुहोस्