आज मार्च ८, अन्तर्राष्ट्रिय नारी दिवश। संसार विभिन्न कार्यक्रमका साथ ११२औं अन्तर्राष्ट्रिय नारी दिवश मनाउँदै छ। ‘दीगो भोलिका लागि आज लैङ्गिक समानता’ नाराका साथ मनाउन लागिएको यो दिवश नेपाली महिलाहरू पनि चाडका रूपमा मनाइरहेका छन्। यो मनाउने क्रम घरदेशमा मात्र हैन, परदेशमा पनि सुरू भएको छ।
आज विश्वमा महिलाको जुन परिभाषा छ, त्यो एकैदिन प्राप्त भएको हैन। यसका लागि अनेकौ अप्ठ्यारा परिभाषाहरू हुँदै गुज्रनु परेको इतिहास साक्षी छ। र, आज पनि आधा आकाश ढाकेर रहेका महिला एकै भए पनि संसारका विभिन्न देशमा फरक फरक परिभषामामा बाँचिरहनु परेको छ।
आज हामी विश्वकै एक मात्र महाशक्ति अमेरिकाको धर्तीमा टेकेर अन्तर्राष्ट्रिय नारी दिवश मनाइरहेका छौं, यो बेला हामीले महिला अधिकारवादी सुसन बी एन्थोनीदेखि उपराष्ट्रपति कमला ह्यारिससम्मको यात्रा हेर्नुपर्ने हुन्छ। जति नै ठूलो र समानताको कुरा गरे पनि अमेरिकामा अहिले पनि महिलामाथिको विभेद कायमै छ। भर्खरै अमेरिकी महिला फुटबल खेलाडीले ठूलो कानूनी लडाइँ जितेर समान तलव पाउने भएका छन्, अमेरिकाको सर्वोच्च अदालतको न्यायाधीशमा पहिलो महिला अश्वेत न्यायाधीश सिफारिस गरिएको छ।
अझ राजनीतिको कुरा गर्ने हो भने देशले ४६औं राष्ट्रपति पाउँदा पनि एकजना महिला राष्ट्रपति पाउँन सकेको छैन, १७औं प्रधानन्यायाधीश पाउँदा पनि महिला प्रधानन्यायाधीश पाउँन सकेको छैन।अमेरिकाको कार्यपालिका कमला ह्यारिस र न्यायपालिका रूथ बाडेर गिन्सबर्गसम्म मात्र आइपुगेको छ, त्योभन्दा अगाडि बढ्न सकेको छैन। व्यवस्थापिका भने न्यान्सी पेलोसीका रूपमा सभामुख पाएर अपवादमा बनेको छ।
यहाँनेर हामी गौरवका साथ के सम्झन सक्छौं भने भलै हाम्रो जन्मभूमी नेपाल विकास र चेतनाका हिसाबले पछि होला तर
हाम्रो जनेमभूमीले राष्ट्रप्रमुखदेखि व्यवस्थापिका र न्यायपालिकामा महिला नेतृत्व पाइसकेको छ। एक समय नेपालले एकसाथ देशका तीन प्रमुख पदमा तीन महिला राष्ट्रपतिमा विद्या भण्डारी, सभामुखमा ओमसरी घर्ती, प्रधानन्यायाधीशमा सुशीला कार्की पाएर मानक उपलव्धी हासिल गरेको थियो । यद्यपि, अझै पनि नेपालले महिला सरकार प्रमुख भने पाउँन सकेको छैन। मलाई आशा एवं विश्वास छ, नेपालले एक दिन त्यो पनि अवश्य पाउँनेछ।
नेपालले यस्तो मानक उपलव्धी हासिल गरे पनि त्यो व्यक्तिगत उपलव्धीमा सिमीत छ। त्यसले समग्र महिलाको अवस्थालाई तात्विक असर पारेको छैन। यसको मुल कारण पितृत्तावादी सोच हो, यो सोच नेपालमा पुरूषमा जति छ, महिलामा पनि कम छैन। नेपाली महिलामा रहेको यही पितृसत्तावादी सोचका कारण नेपालमा महिला अधिकारको पल्ला भारी हुन सकेको छैन।
मलाई लाग्छ, महिला सशक्तिकरणको एक मात्र आधार शिक्षा नै हो। यदि हामीले महिलालाई शिक्षा दियौ भने एकातिर उनीहरूमा चेतना बढ्छ र त्यसले अधिकारका लागि मात्र हैन, उत्तरदायित्वका लागि पनि सचेत बनाउँछ। तर, यसरी दिइने शिक्षा ज्ञानमा र त्यसपछि विद्धतामा परिणत हुनुपर्छ। कोरा शिक्षाले मात्र पनि केही हुदैन।
शिक्षापछि निश्चित समयका लागि सकारात्मक विभेद पनि आवश्यक हुन्छ, त्यसले उनीहरूलाई प्रतिस्पर्धी हुनका लागि ठाउँ दिन्छ। त्यही ठाउँमा उभिएर उनीहरूले अनुभव हासिल गर्नेछन् र पुरूषसँगै प्रतिस्पर्धामा उत्रनेछन्। अहिले नेपालमा लोक सेवा आयोगमार्फत दिइएको सकारात्मक विभेदले नेपालको जनप्रशासनलाई महिलामैत्री बनाउन ठूलो भूमिका निर्वाह गरेको छ। राजनीतिमा प्रदान गरिएको सकारात्मक विभेद भने अझै पनि नेताहरूको खल्तीका महिलाहरूकै लागि बढी प्रयोग भएको पाइन्छ। तर, मलाई विश्वास छ एकदिन नेताका खल्तीका मानिस सकिनेछन् र सक्षम महिलाहरूले ठाउँ पाउँनेछन्।
नेपाली महिला हुन् या पुरूष, दुबैको मस्तिष्कमा अझै पनि कुनै न कुनै रूपमा पितृसत्ताको गहिरो छाप छ। छोरी हुँदा बाबुको अनुहार जति उदास देखिन्छ, आमाको अनुहार पनि त्यति नै फुङ्ग उडेको हुन्छ। जबसम्म अनुहारको भाषा यही भैरहन्छ, तबसम्म मुखले समानताको गीत गाएर कहीँ पुगिदैन।
अमेरिकाको नेपाली डायस्पोराको कुरा गर्दा छोरीचेलीका लागि विभेदपूर्ण घरपरिवार बचेका छन् जस्तो मलाई लाग्दैन । अपवाद त जहाँ पनि हुन्छ, यहाँ पनि होला। तर, यस्तो अवस्थामा पनि महिलाका लागि फरकखाले चुनौतिहरू छन्। खासगरी अधिकार र उत्तरदायित्वको सन्तुलन नमिल्दा गति बिग्रिएका प्रतिनिधि घटनाहरू हाम्रै समुदयामा पनि भेटिएका छन्। हामीले यस्ता घटनाहरूबाट पाठ सिक्नुपर्छ।
हामीसँग रहेको अर्को समस्या भनेको पुस्तान्तरण पनि हो। अहिले अमेरिकामा नेपालको पनि गाउँमा जन्मेकोदेखि अमेरिकामै जन्मेको पुस्ता गरी चार पुस्ताको नेपाली समुदाय छ। हरेक पुस्ताको लागि फरक खाले महिलाको परिकल्पना र परिभाषा छ। यदाकदा यी परिभाषाहरू एक आपसमा ठोक्किदा पनि समस्याहरू आएका छन्।
हामीलाई नेपालीपन पनि जोगाउँनुछ, अमेरिकन हुनु पनि छ। यसको अर्थ हामीसँग एकसाथ दोहोरो दायित्व आइलागेको छ। यो भूमिका निर्वाह गर्न सजिलो छैन। यसले पनि हाम्रो महिला अधिकारको कोणलाई अलि जटिल बनाएको छ। अहिले नै यसले आकार लिइसकेको छैन, त्यसैले त्यसबारेमा समयक्रममा विचार मन्थन गरौला।
विश्वले यो वर्ष भोलिको दीगो बिकासका लागि आज नै लैङ्गिक समानता चाहिन्छ भनिरहेको छ। त्यसको प्रारम्भ हामीले आजैदेखि गर्नुछ, त्यो पनि आफ्नै परिवारबाट। यसका लागि हामीले हाम्रा भनेर मात्र हुँदैन, राम्रा पनि भन्नुपर्छ। त्यसका लागि हामीले हाम्रालाई नै राम्रा बनाऔं। यसो गर्न सकियो भने सुनमाथि सुगन्ध हुन्छ। अबको जमाना जे भए पनि छोराछोरी आफ्ना राम्रा भन्ने रहेन, पाराडाइम सिफ्ट भैसकेको छ।
महिला हुनुका पृथक चुनौति पनि छन्, अवसर पनि छन्। चुनौतिका पहाडलाई अवसरको मैदान बनाउन सम्पूर्ण आमा, दिदीबहिनीहरूलाई सफलता मिलोस्। शुभकामना।