नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सचिव तथा सांसद प्रेम सुवालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पास गर्ने पक्षमा रहेको बताएका छन्।
एमसीसीको बिरोधमा शुक्रबार नयाँ बानेश्वरमा आयोजित विरोध र्यालीमा बोल्दै सुवालले उक्त कुरा बताएका हुन्।
‘दाहालजीले नेपाल बन्दको बेला सडकमा आएर ‘एमसीसी सम्झौता खारेज गर’ भनेर कार्याकर्ताले नारा लगाएपछि, ‘रोक–रोक’ भनेर रोक्न लगाउनु भयो,’ उनले भने,‘तर, पुस ४ गतेको सर्वदलीय बैठकमा सिँधै भन्नुभयो, हामी यो एमसीसी सम्झौता अस्वीकार गर्ने होइन। आएको पैसा फिर्ता पठाउने होइन।’
सुवालले यसरी भ्रम निवारण गर्नुको अर्थ यसकाे समर्थन गर भन्ने भएकाे बताए।
‘माओवादीका नेता दाहालजीले एमसीसीलाई स्वागत गर्नुपर्छ। त्यसलाई फिर्ता पठाउने होइन। भ्रम निवारण गर्ने हो भन्नुको अर्थ एमसीसी सम्झौतामा समर्थ गर्नु हो,’ उनले भने।