जेईको यादमा भाङो, तीतेपाती र सिस्नोका कथा उधिनीरहेका नवीन
सहरमा बदनाम छ अचेल ऊ, ‘गाँजा’ बनेर। भाङ खाने ‘ट्यापे’हरू उसैगरी बदनाम छन्, सहरका गल्लीहरूमा।
त्यो गाँजा के थियो? त्यो भाङ अर्थात् भाङो कसरी ‘ट्यापे’हरू जन्माइरहेको छ? सहरमा गाँजा अनि गँजेडीहरू किन त्यसै बदनाम छन्?
सिस्नो आज ‘एलिट मेनू’मा चढिसकेको छ। तीतेपातीका गाथाहरू ‘पुरातन’ भएका छन्।
नवीन विभासको जीवनमा त्यो गाँजा अनि भाङोसँग अलि फरक साइनो छ। अलि फरक नाता छ। अलि फरक सम्बन्धले बाँधिएका छन्, उनी भाङका रेसाले बनेको भाङ्ग्रोजस्तै।
यी लेखक हुन्। गाउँघरमा हामीले बोल्ने झर्रो अनि रैथाने शब्दलाई सहरका ‘मेन इस्ट्रिम’ मिडियामा उनले स्वादिलोगरी पस्किन्छन्। जसरी भाङो मिसाएको ‘सहरिया’ अचार छ।
नवीनकी जेईले उनलाई भनेकी छिन्, गाँजा के हो, भाङो के हो। पाखाबारीमा बाक्लिएका सिस्नो के हो अनि तीतेपाती के हो?
जेईले बाँचेको त्यही सिस्नो, तीतेपाती र भाङो युगको जीवनलाई अब उनले किताब बनाउनेछन्।
यो झारपातवाला किताबमा के होला?
यसमा गाँजाको जीवन हुनेछ। तीतेपातीको मीठो गुणहरू अक्षर बनेर कुँदिनेछन्, ज्यान चिल्ने सिस्नोले बाँचेका ती युगका कथा हुनेछन्।
सिस्नो, तीतेपाती र भाङो मिसिएका पात्रहरूले भरिएको उनको किताब कस्तो होला? त्यसका लागि अलिबेर कुर्नुपर्छ।
कुनैबेला पत्रपत्रिकामा समाचार लेख्ने नवीन केही समय पूरै अलप भए। सहरमा नवीन विभासको ‘बाइलाइन’ गायब भो।
मानौं यो समाचारको दुनियाँमा अब नवीन विभास छैन। केही समयपछि फेरि उनी अनुसन्धाता भएर आए। के-के गरे, के-के अनुसन्धान गरे? केही समयपछि बजारमा आउने उनका यी झारपात कहानीहरूले बताउने नै छन्।
खासमा यतिञ्जेल त उनी आफ्नै जेईसँग उनै भाङो, तीतेपाती र सिस्नोको गर्भकथा सुनिरहेका थिए। सिस्नो, भाङो र तीतेपातीसँग आफूहरूको आदिम साइनो सुनाउँदा सुनाउँदै उनकी जेई बितिगइन्। अघिल्लो साल बा बितेका थिए।
आमाले सुनाएका ती आधाअधुरा कथाहरूसँग गाँसिएका टुक्राहरू खोज्न एकलट नवीन फेरि तिनै डाँडापाखाहरूमा बरालिए।
पाखाबारीका आलीहरू चाहारे, जहाँ उनकी बा-जेईहरू भाङो मिसाएको अर्नी खान्थे। भाङ्ग्रो लगाएर पाखाबारी निखार्थे। सिस्नोको तिउन र त्यसकै डाँठ खासलेर निकालेर बनाएका लुगाहरू लगाउँथे।
नवीनलाई आज लाग्छ, गाँजासँग उनकी जेईमात्रै होइन, सारा रोल्पालीको आदिम जीवन-साइनो गाँसिएको छ। सिस्नाको खोलेफाँडोले नवीनको मात्रै होइन, धेरै त्यस्ता नवीनहरू जन्माएको छ जो आज त्यही सिस्नाको घारमा आदिम कथाहरू खोजिरहेका छन्। जेईबाका विस्मृत यादहरूसँग गाडा भएका भाङो, तीतेपाती र सिस्नोका यादहरू अब कथा बनेर आउनेछन् उनका किताबमा।
तीतेपातीले धूपाएर धामीझाँक्रीले बचाएका कैयौं जीवनहरू आज त्यही ‘पुरातन’ जिन्दगीको कथा पढिरहेका छन्, त्यो पनि अरूले लेखिदिएका। नवीनकी जेई पनि सानोतिनो धामी नै थिइन्, जसले हेर्ने हरेक चामलका सिताहरूमा अनि उनले बोल्ने मन्त्रहरूमा तीतेपाती, सिस्नो र त्यही भाङोको सुवास मिसिएको थियो।
नवीन अब यिनै झारपात र मान्छेको जीवनमा गाँसिएको त्यसको साइनोलाई किताबमा उतार्नेछन्। नवीन पारामा।
सहरमा बदनाम भएको गाँजा हिँजो उनका जेई-बाहरूको जीवनशैली थियो। हरेक दिन हरेक पाइलामा यी तीन झारहरू गाँसिइरहन्थे।
साँझ बिहानको छाक होस् कि ग्वाला जाँदा, पाखाबारीमा बाली स्याहार्दा होस् कि घाँस दाउरा जाँदाको अर्नी। बस् भाङो, सिस्नो र तीतेपातीको आफ्नै सुगन्ध हुन्थ्यो ती सबमा। निस्पट्ट अन्धकारमा धिपधिपाउने त्यो अलिकति उज्यालो भाङो बालेको हुन्थ्यो।
आज पो सहरमा ती बदनाम भए। ‘एलिट’ भए। अनि लोपोन्मुख भए।
हिँज भाङो खानेहरू आज गँजेडी भए। त्यसकै डाँठ उम्काएर बनेका बनेका भाङ्ग्रो लाउनेहरू ‘भाङग्रे’ हुन्थे त्यो बेला पनि। सामन्ती युगमा सामन्तले बोल्ने शब्द थिए ती।
हिँज भाङ्ग्रो लाउनेहरू धनीका भाषामा भाङ्ग्रे थिए। सिस्नो खानेहरू बिटालु थिए। तीतेपातीले सुनपानी छर्किनेहरू पाखे र हटारु थिए। अर्थात्, धनीका आँखामा ती सब ‘दरिद्र’ थिए।
त्यसकै चोप आज कतै ‘चरेस’ बनेर बद्नाम छ, कतै हाम्रै बिराम निको पार्ने औषधीमा नघोली नहुने तत्व बनेको छ। कतै अत्तर बनेर हजारौंमा सुवास छरिरहेको छ।
हिँज जसले सिस्नो खाएर जीवन बाँचिरहेथ्यो आज ऊसँग सिस्नो छैन। अर्थात्, रोल्पाली पाखाबारीका आलीहरूबाट ती सिस्नो अब तारे होटेलको मेनूमा छन्। डलरमा बिकिरहेछन्, आफ्नै पाखाबारीको झारपात अब छोइसक्नु छैन।
भाङ्ग्राको लुगा अब रोल्पालीका आङमा छैनन्। ठमेलमा छन्, अनि अन्तर्राष्ट्रिय बजारहरूमा छन्। त्यसलाई अब रोल्पालीको आङबाट खोसेर डलरमा मूल्य गाँसिन्छ।
हाम्रा पाखाबारीका ती सिस्नोका घारहरू अब चित्त लाग्ने प्याकेट अनि डब्बाहरूमा ‘धूलो’ बनेर विदेशिएका छन्। एलिट मेनूमा गाँसिएका छन्, ठुल्ठूला मलहरूमा सजिएका छन्, आफ्नै सहरिया मूल्य बोकेर। त्यसकै ठाँठका लुगाहरू ‘अल्लो’का ब्राण्ड बनेर विदेशी बजारमा पुग्छन्, जो लगाउँदा हामी ‘भाङग्रे’ हुन्थ्यौं।
गाउँघरमा आम मान्छेको दैनिकी बनेर हरेक गाँससँगै प्राणमा घोलिने त्यही गाँजा फाँड्न पुलिसलाई करोड बजेट हुन्छ।
नवीनले अब यिनै कथाहरू लेख्छन्। जुन झारपातमा उनका जेईबाका पुस्ताले आफ्नो जीवनशैली बाँचेको थियो। मेलापात अनि पँधेराहरूमा ती सजीव हुन्थे मान्छेको प्राण बाँचेका।
‘अहिले गाँजा भनेर बदनाम गरिएको छ, त्यो खासमा गाँजा थिएन। हाम्रो पाखाबारीका आली र आँगनका छेउँकुनामा आफैँ उम्रिने त्यो हाम्रै दैनिकी अनि जीवनशैलीको एउटा हिस्सा थियो’, नवीन भन्छन्, ‘हाम्रो जीवनशैलीमा सिस्नो अनि तीतेपातीको सम्बन्ध पनि त्यस्तै गहिरो छ।’
त्यही भाङोको बोट हो, जसले हरेक गाँसलाई सुवासिलो बनाउँथ्यो, सिटोमोलका गोली नपाइने त्यो युगका मान्छेहरूका सानातिना बिमार अनि घाउचोट निको पार्ने ती औषधी पनि थिए।
तीतेपाती नदलिएका लगभग घाउचोटै हुन्नथ्यो। सिस्नोको झोल अडिलो लाग्थ्यो। त्यसको जारा र डाँठ थिचेर मिसाइएको पानी पिउँदा ज्यान आफैँ शितलिन्थ्यो।
यिनका महिमा यतिमात्रै छैनन्, ती अब नवीनले लेख्ने किताबका हरेक पानाका हरेक अक्षरमा अर्थ बोकेर आउनेछन्।
यसका लागि उनले धेरै दु:ख गरिसकेका छन्। धेरै कष्ट भोगिसकेका छन्। मान्छेको जीवन कथाहरूमा शब्द बेरेर त्यसलाई बेच्दै आएका नवीनका लागि यी झारपातहरूको जराजरामा सजीव कथा खोज्नु चानचुने कुरो पनि हैन। त्योसँग अझ मान्छेको साइनो खोतल्नु झन् सजिलो त कहाँ हो र!
‘धेरै कथा त जेईले भनेर गइन्। कति बासँग लिएँ। कति आफ्नै गाउँघर र पाखाबारीका आलीका ढिकमा बसेर कोट्याएँ’, नवीन भन्छन्, ‘हाम्रातिरमात्रै होइन, देशका धेरै ठाउँमा म भाङो, तीतेपाती र सिस्नोको कथा खोज्न हिँडेको छु। तिनका जराजरा पुग्ने कोसिस गरेको छु।’
त्यसका लागि उनले अरुले लेखेका लाखौं शब्दहरू पनि पढिसकेका छन्। विश्वको कुन भूगोलमा यिनका रुप कस्ता थिए भनेर भ्याए र पाएजति हेरेका छन्, पढेका छन् र सुनेका छन्।
हो, जब उनले आफ्नी जेईलाई सम्झन्छन्, अनि भाङोका यादहरूले स्मृती रसाउँछन्। जब उनले जेईलाई सम्झिन्छन् अनि तीतेपातीको झल्को उधिनिन्छ। जब जेईको सम्झना आउँछ अनि सिस्नोका सम्झनाहरू एकाएक उध्रिन्छन्, जहाँ उनको बालापन छुनमुनाउँदै थियो।
‘यो अलि नयाँ काम थियो, हर नयाँ कामकुरो आफैँमा च्यालेन्ज पनि त हो’, नवीनलाई लाग्छ, ‘र, पनि हिम्मत त हार्नु भएन। किनकि यसमा मेरो किताब र लेखनमात्रै होइन मेरा जेई-बाले बाँचेको जिन्दगीको सुवास पनि घोलिनेछ।’
२०४५ सालमा तत्कालीन राजा वीरेन्द्र मध्यपश्चिम भ्रमणमा निस्किएका थिए। त्यो बेला मध्यपश्चिमको राजधानी सुर्खेत पुगेका राजा एकाएक रोल्पा हानिए। थवाङसम्मै पुगे।
त्यो बेला रोल्पालीहरूले राजालाई बिन्ती चढाएका थिए- यी गाँजा(भाङो) नफाँडियोस्। यी हाम्रा हरेक गाँसमा चाहिन्छ।
राजाले के भने? त्यो धेरैलाई पत्तो छैन, तर अहिले पनि बेलाबेला पाखाबारी पसेर पुलिसले ती भाङोका बोट फाँड्न छोडेको छैन। सरकारले यसपालिदेखि ‘गाँजा खेती’को सम्भाव्यता अध्ययन गर्ने भनेर बजेट त छुट्याएको छ तर कानुनमा त्यसलाई बैधता छैन। एकातिर गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्न बजेट छ, यही सरकारले अर्कोतिर गाँजा फाँड्न पनि बजेट छुट्याइरहेको छ।
खासमा त्यो गाँजा होइन, सहरमा जो त्यत्तिकै बदनाम छ। त्यो त बरु हाम्रा पाखाबारीको भाङो हुन्।
‘खासमा हामी गाँसिएको त यी तीन बनस्पतीमात्रै होइन, अरु पनि तमाम छन् जो हाम्रा पाखाबारीमा त्यत्तिकै हामीजस्तै गरी उम्रिए र झाँगिए’, नवीन भन्छन्, ‘खासमा मेरो कथाहरू त्यस्तैत्यस्तै हुनेछन्। अलिकति विज्ञान हुनेछ, धेरै त हामी गाँसिएको जीवनपद्धती हुन्छ। अनि धेरै त यी झारपातसँग जोडिएको राजनीति हुनेछ। जसले हाम्रो जीवनशैली खोसेर त्यसलाई ‘एलिट’ नाम दिइरहेको छ।’
भिडियाे :