कविता 

रुपान्तरण

ठ्याक्कै यो बेला- यो मौसममा,
म यो मुटुसँग सन्तुष्टि छैन।

चाहिएको हो- फलामको मुटु,
दल्छिन ढुङ्गा जस्तो कडा होस् रगत

यो परिवेशमा,
चाहिएको हो- संवेदनहीन मुटु ताकी कुनै चोट सहनु नपरोस्।

फलामले- फलामकै असीमित चोट सहेपछि
बन्छ- धारिलो धार!
र काट्छ उभिएर क्रुरताको विशाल चट्टान् 

त्यो परिदृश्यमा- आकृतिको नाम,
तरबार हुन सक्छ!
बामफोक हुन सक्छ!
खुकुरी हुन सक्छ!
खुर्पा हुन सक्छ!
कर्द हुन सक्छ! 
भाला हुन सक्छ!
छुरी हुन सक्छ!
र हुन सक्छ हँसिया पनि।

यो मुटुलाई फलामको संरचना भन्नु पर्दा,
फलामलाई धारहरूको कार्यदिशा बताउनु पर्दा,
कार्यसूचीलाई हातहरूले निर्देशन गर्नु पर्दा,

मसँग- फलामे पृथ्वी होस् 
मसँग-आँखामा काँडैकाँडाको घनाघोर बस्ती होस् 
शीरमा- कसैले छुन नसक्ने आकाशको उचाइ होस्।

यो
मुटुलाई- फलाममा रुपान्तरण गर्ने समय हो।

प्रकाशित मिति: : 2021-04-03 11:58:00

प्रतिकृया दिनुहोस्