बिएल संवाददाता
नेपाली काँग्रेसले मंसिर १५ गतेदेखि सुरु गर्ने ‘हामी तयार छौँ अभियान’बारे केन्द्रीय समितिमा छलफल सुरु गरेको छ। मंगलबारदेखि पार्टी मुख्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिको बैठकमा बरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले यो अभियानको अवधारणा र कार्ययोजना प्रस्तुत गरेका थिए।
बुधबारदेखि केन्द्रीय समिति बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले उक्त कार्ययोजनाबारे आआफ्नो धारणा र विचार राख्नेछन्। यसका लागि बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूलाई पाँच मिनेटको समय दिइएको छ।
राष्ट्रिय पुनर्जागरण, समुन्नति र पार्टी पुनर्जागरणको यही संकल्पलाई पार्टीका प्रत्येक सदस्य, शुभेच्छुक र आम नागरिकसम्म पुर्याउन नेपाली कांग्रेसले देशभरका ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ’ विशेष अभियान सञ्चालन गर्ने प्रस्ताव गरेको हो।
यस्तो छ अभियानको प्रस्तावना
पृष्ठभूमि
हामीलाई हाम्रो इतिहासप्रति गौरव छ। तर इतिहासको गौरवमा मात्रै रमाएर हाम्रो आजको जिम्मेवारी पूरा हुँदैन। नेपाली कांग्रेस इतिहासमा अडिएर बस्ने पार्टी होइन, इतिहास निर्माण गर्दै अगाडि बढ्ने पार्टी हो। विगतका उपलब्धिबाट प्रेरणा लिँदै, विगतका कमजोरीबाट सिक्दै र वर्तमान समयका समस्यालाई सम्बोधन गर्दै देश र समाजलाई नेतृत्व दिनु हाम्रो जिम्मेवारी हो।
२०८३ असोजमा सम्पन्न नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट हामीले यही जिम्मेवारी निर्वाह गर्ने दृढ संकल्प गरेका छौँ। पार्टीको नेतृत्वमा हासिल भएका ऐतिहासिक उपलब्धिप्रति गौरव गर्दै, समुन्नतिको लक्ष्यप्रति प्रतिबद्ध रहँदै आजको समयका चुनौतीको सामना गर्न र समाजका बदलिँदा आकांक्षा तथा अपेक्षालाई सम्बोधन गर्न हामी तयार रहेको उद्घोष गरेका छौँ।
यो संकल्प पूरा गर्न महाधिवेशनबाट आवश्यक नीतिगत मार्गदर्शन, सांगठनिक आधार र कार्ययोजना तय गरेका छौँ।
हाम्रो गौरवशाली विगत, अग्रजहरूको त्याग, संघर्ष र बलिदानबाट प्रेरणा लिँदै आजको समयको चेत बुझ्ने, नयाँ पुस्ताको विश्वास र भरोसा आर्जन गर्न सक्ने, समुन्नत नेपालको स्पष्ट ध्येय बोकेको, व्यवस्थापनमा अब्बल, गतिशील र आधुनिक संगठन निर्माण गर्ने हाम्रो संकल्प छ।
अबका वर्ष आशा जगाएर मात्र बिताउने वर्ष होइनन्, आशा पूरा गर्ने जिम्मेवारी लिएर काम गर्ने वर्ष हुन्।
राष्ट्रका सामु विद्यमान चुनौतीलाई सम्बोधन गर्न, लोकतन्त्रको रक्षा गर्न, समुन्नतिको यात्रालाई नेतृत्व दिन र त्यसका लागि आफूलाई बदल्न नेपाली कांग्रेस तयार छ।
राष्ट्रिय पुनर्जागरण, समुन्नति र पार्टी पुनर्जागरणको यही संकल्पलाई पार्टीका प्रत्येक सदस्य, शुभेच्छुक र आम नागरिकसम्म पुर्याउन नेपाली कांग्रेसले देशभरका ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ’ विशेष अभियान सञ्चालन गर्ने प्रस्ताव गरेको छ।
१. अभियानको नाम
हामी तयार छौँ।
२. अभियानको समयावधि
२०८३ मंसिर १५ गतेदेखि पुस ५ गतेसम्म।
३. अभियानका उद्देश्य
१. नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम, संकल्प र सन्देश पार्टीका प्रत्येक तह र सदस्यसम्म पुर्याउने।
२. आगामी चार वर्षका लागि पार्टीले अवलम्बन गर्ने राजनीतिक दिशा, प्राथमिकता र सांगठनिक कार्यपद्धतिबारे पार्टीका सबै तहमा साझा बुझाइ निर्माण गर्ने।
३. पार्टीको संशोधित विधान, नयाँ सांगठनिक व्यवस्था र कार्यप्रणालीबारे सदस्यहरूलाई अभिमुखीकरण गर्ने।
४. पार्टी पंक्तिमा आत्मविश्वास, जिम्मेवारीबोध र कार्यसम्पादनप्रतिको प्रतिबद्धता अभिवृद्धि गर्दै आगामी कार्ययात्राका लागि तयार बनाउने।
५. नागरिकका समस्या, अपेक्षा, सुझाव र स्थानीय जनसरोकारका विषय पहिचान गरी पार्टीको नीति निर्माण तथा प्रतिपक्षीय भूमिकासँग जोड्ने।
६. पार्टीका स्थानीय संरचनालाई नियमित सामाजिक तथा सामुदायिक कार्यमा संलग्न गराउने।
७. स्थानीय तहको आगामी निर्वाचनका लागि विधानसम्मत उम्मेदवार छनोट प्रक्रिया तथा प्राइमरी निर्वाचनको आवश्यक तयारी प्रारम्भ गर्ने।
४. अभियानका लागि केन्द्रीय प्रतिनिधि
१. देशभरका ७५३ वटै गाउँपालिका तथा नगरपालिकामा एक–एक जना केन्द्रीय प्रतिनिधि खटाइनेछ।
२. केन्द्रीय प्रतिनिधिले अभियानको अवधिभर सम्बन्धित स्थानीय तहमा नै रहेर अभियानको सहजीकरण, समन्वय र अभिमुखीकरण गर्नुहुनेछ।
३. प्रतिनिधिले सम्बन्धित जिल्ला, निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, गाउँ–नगर तथा वडा कार्यसमितिसँग आवश्यक समन्वय गर्नुहुनेछ।
४. केन्द्रीय प्रतिनिधिको भूमिका निर्देशन दिनेमा मात्र सीमित नभई स्थानीय पार्टी संरचनाका कुरा सुन्ने, समस्या बुझ्ने, आवश्यक सहजीकरण गर्ने र प्राप्त सुझाव केन्द्रसम्म पुर्याउने हुनेछ।
५. प्रत्येक प्रतिनिधिलाई अभियान प्रारम्भ हुनुअघि अभियानका विषयवस्तु, कार्यक्रम सञ्चालन विधि, जिम्मेवारी र प्रतिवेदनको ढाँचाबारे अभिमुखीकरण गरिनेछ।
५. अभियानका विषय र संकल्प
१५औँ महाधिवेशनबाट पारित नीति तथा कार्यक्रमको दस्तावेज यस अभियानको मूल आधार हुनेछ। उक्त दस्तावेजका आधारमा निम्न विषयमा छलफल, अभिमुखीकरण तथा संवाद गरिनेछ।
५.१ राष्ट्रिय पुनर्जागरण र समुन्नतिको संकल्प
नेपाली कांग्रेसले आफूलाई नेपालको एउटा राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्दै आएको छ। राष्ट्रिय शक्तिका रूपमा पार्टीको भूमिकालाई कुनै एउटा निर्वाचनको परिणामबाट मात्र नभई नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा निर्वाह गरेको ऐतिहासिक भूमिका र वर्तमान जिम्मेवारीका आधारमा पनि बुझ्नुपर्छ।
नेपाली समाजका विभिन्न ऐतिहासिक मोडमा कांग्रेसले तत्कालीन समयका समस्या र आकांक्षालाई बुझ्ने तथा सम्बोधन गर्ने प्रयास गरेको छ। आज पनि हाम्रो जिम्मेवारी वर्तमान समयका समस्या पहिचान गर्नु र तिनको समाधानका लागि स्पष्ट नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हो।
आज नेपाली समाजका मूल समस्या के हुन्? नागरिकका अपेक्षा कसरी बदलिएका छन्? नेपालको आर्थिक, सामाजिक र राजनीतिक अवस्थालाई हामीले कसरी बुझेका छौँ? रोजगारी, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, सुशासन र सार्वजनिक सेवाका चुनौतीलाई कसरी सम्बोधन गर्ने?
यी प्रश्नको उत्तर खोज्दै समुन्नत नेपाल निर्माण गर्ने ध्येयका साथ १५औँ महाधिवेशनले राष्ट्रिय पुनर्जागरण र समुन्नतिको संकल्प गरेको छ।
अभियानका क्रममा महाधिवेशनले तय गरेको राष्ट्रिय पुनर्जागरणको अवधारणा, समुन्नतिको मार्गचित्र र नीतिगत प्राथमिकताबारे पार्टी सदस्यहरूलाई जानकारी गराइनेछ। साथै स्थानीय तहबाट प्राप्त सुझावलाई आगामी नीति तथा कार्यक्रमसँग जोडिनेछ।
५.२ प्रमुख प्रतिपक्षीय भूमिका
नेपाली कांग्रेस लोकतान्त्रिक निर्वाचनबाट प्राप्त जनादेशको सम्मान गर्दछ। वर्तमान जनादेशअनुसार प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्नु हाम्रो संवैधानिक तथा राजनीतिक जिम्मेवारी हो।
लोकतन्त्रमा प्रतिपक्ष सरकारको विरोध गर्नका लागि मात्र रहने संस्था होइन। सरकारलाई उत्तरदायी बनाउने, नागरिकका आवाजलाई संसद् र सार्वजनिक बहसमा स्थापित गर्ने, सरकारी नीति तथा निर्णयको समीक्षा गर्ने र वैकल्पिक नीति तथा समाधान प्रस्तुत गर्ने लोकतान्त्रिक संस्था हो।
सरकार जति जिम्मेवार हुनुपर्छ, प्रतिपक्ष पनि त्यति नै जिम्मेवार हुनुपर्छ।
नेपाली कांग्रेसले जनहितमा सरकारले गर्ने सकारात्मक कामलाई समर्थन गर्नेछ। तर लोकतन्त्र, संविधान, विधिको शासन, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूको स्वायत्ततामा आँच पुग्ने कदमप्रति निरन्तर खबरदारी गर्नेछ।
प्रमुख प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निम्न जिम्मेवारी निर्वाह गर्नेछः
* सरकारका नीति, निर्णय, कार्यशैली र कार्यसम्पादनको नियमित तथा तथ्यमा आधारित समीक्षा गर्ने।
* संवैधानिक सर्वोच्चता, लोकतान्त्रिक संस्था, विधिको शासन र उचित कानुनी प्रक्रियाको रक्षाका लागि काम गर्ने।
* सुशासन, पारदर्शिता, सार्वजनिक जवाफदेहिता र आर्थिक न्यायका विषय उठाउने।
* नागरिकका दैनिक जीवनसँग जोडिएका समस्या संसद् तथा सम्बन्धित निकायमा प्रस्तुत गर्ने।
* सरकारका नीति तथा कार्यक्रमका सन्दर्भमा आवश्यक वैकल्पिक नीति र रचनात्मक समाधान प्रस्तुत गर्ने।
यसका लागि पार्टीले नियमित ‘प्रतिपक्षीय निगरानी’ गर्नेछ।
अभियानका क्रममा पार्टीको प्रतिपक्षीय भूमिकाबारे सदस्यहरूलाई जानकारी गराउनुका साथै प्रत्येक स्थानीय तहमा रहेका र राष्ट्रिय वा प्रादेशिक तहमा उठाउनुपर्ने जनसरोकारका विषय पहिचान तथा अभिलेखीकरण गरिनेछ।
५.३ पार्टी पुनर्जागरणको संकल्प
नेपाली कांग्रेस आफ्नो गौरवशाली विगतलाई स्मरण गर्दै, विगतका उपलब्धिको रक्षा गर्दै, आफ्ना कमी–कमजोरी स्वीकार गर्दै र तिनलाई नदोहोर्याउने प्रतिबद्धतासहित पार्टी पुनर्जागरणका लागि तयार भएको छ।
राष्ट्रियता, लोकतन्त्र र समाजवादका आधारभूत आदर्शमा दृढ रहँदै आजको समयअनुकूल नीति, कार्यक्रम र संगठन निर्माण गर्नु पार्टी पुनर्जागरणको मूल उद्देश्य हो।
जनसंख्याको बदलिँदो बनोट, बसाइँसराइ, प्रविधिको विकास, नयाँ पुस्ताका आकांक्षा, समावेशिता र आन्तरिक लोकतन्त्रलाई आत्मसात् गर्दै आधुनिक संगठन निर्माण गर्नुपर्ने आवश्यकता छ।
पार्टी पुनर्जागरणका दुई प्रमुख आयाम रहनेछन्।
क. नागरिक तथा समुदायसँग जोडिएको पार्टी
पार्टीको भूमिका निर्वाचन, राजनीतिक सभा, बैठक र सांगठनिक गतिविधिमा मात्र सीमित हुनु हुँदैन। पार्टी सदस्यहरूको सामाजिक जिम्मेवारी र सामुदायिक सहभागितालाई पनि संगठनको नियमित कार्यको अंश बनाइनुपर्छ।
यसै उद्देश्यका साथ पार्टीले #NC4NC (Nepali Congress for Nepali Citizens) अभियान सञ्चालन गर्नेछ।
नेपाली कांग्रेसले विगतमा राजनीतिक आन्दोलनसँगै सामाजिक सुधार, शिक्षा, स्वास्थ्य, श्रम संस्कृति, सहकारिता, सामाजिक सद्भाव र सामुदायिक विकासका क्षेत्रमा गरेका अभ्यासबाट प्रेरणा लिँदै आजको सन्दर्भमा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्नेछ।
स्थानीय आवश्यकताका आधारमा पार्टीका संरचना र सदस्यहरू स्वयंसेवा, सामाजिक सुधार र सामुदायिक हितका कार्यमा सहभागी हुनेछन्।
ख. आधुनिक, व्यवस्थित र उत्तरदायी संगठन
पार्टीलाई विधानसम्मत, विधिसम्मत, प्रविधिमैत्री, व्यवस्थित र कार्यसम्पादनमा आधारित संगठनका रूपमा सञ्चालन गर्न महाधिवेशनबाट तय भएका नयाँ सांगठनिक व्यवस्था तथा संस्थागत संरचनाबारे अभिमुखीकरण गरिनेछ।
विशेषगरी निम्न विषयमा जानकारी गराइनेछः
* पार्टीको संशोधित विधान र सांगठनिक कार्यपद्धति।
* उम्मेदवार छनोटका लागि प्राइमरी निर्वाचन प्रणाली।
* नेतृत्व विकास प्रतिष्ठान (Leadership Academy)।
* सुशासन प्रतिष्ठान (Governance Institute)।
* निर्वाचन ब्युरो (Election Bureau)।
* सदस्यता व्यवस्थापन तथा सांगठनिक अभिलेखको आधुनिकीकरण।
* पार्टीका विभिन्न तहको जिम्मेवारी, कार्यसम्पादन र जवाफदेहिता।
६. अभियानका कार्यक्रम र जिम्मेवारी
६.१ गाउँ–नगर कार्यसमितिको बैठक
केन्द्रीय प्रतिनिधिले सम्बन्धित गाउँ–नगर कार्यसमितिको बैठक आयोजना गरी देहायका कार्य गर्नुहुनेछः
१. ‘हामी तयार छौँ’ अभियानको अवधारणा, उद्देश्य, विषयवस्तु र कार्यक्रमबारे अभिमुखीकरण गर्ने।
२. पार्टीको विधानअनुसार विभिन्न तहका पदाधिकारी तथा सदस्यको जिम्मेवारीबारे जानकारी गराउने।
३. पार्टीको बैठक तथा कार्यक्रम सञ्चालनसम्बन्धी विधि र आचारसंहिताबारे जानकारी गराउने र कार्यान्वयन सुनिश्चित गर्ने।
४. अभियान अवधिभर सञ्चालन गरिने कार्यक्रमको स्थानीय कार्यतालिका तयार गर्ने।
५. स्थानीय सांगठनिक अवस्था, समस्या र सुधार गर्नुपर्ने विषयमा छलफल गर्ने।
६.२ पार्टी सदस्यहरूको भेला तथा अभिमुखीकरण
प्रत्येक गाउँपालिका तथा नगरपालिकामा पार्टी सदस्यहरूको सहभागितामा भेला आयोजना गरिनेछ।
भेलामा देहायका विषयमा छलफल तथा अभिमुखीकरण गरिनेछः
* १५औँ महाधिवेशनको नीति, कार्यक्रम र संकल्प।
* राष्ट्रिय पुनर्जागरण र समुन्नतिको अवधारणा।
* पार्टीको प्रमुख प्रतिपक्षीय भूमिका।
* संशोधित विधान र नयाँ सांगठनिक व्यवस्था।
* पार्टी सदस्यको राजनीतिक, सांगठनिक र सामाजिक जिम्मेवारी।
* स्थानीय तहमा सञ्चालन गरिने आगामी कार्यक्रम।
भेला औपचारिक मन्तव्यमा केन्द्रित नभई प्रश्नोत्तर, छलफल र अन्तरक्रियामूलक हुनेछ।
६.३ स्थानीय तहको निर्वाचनः उम्मेदवार छनोट र प्राइमरी
पार्टीको विधानले पार्टीका तर्फबाट उम्मेदवार छनोट गर्दा सम्बन्धित तहका सदस्यहरूको सहभागितामा प्राइमरी निर्वाचनमार्फत छनोट गर्ने व्यवस्था गरेको छ।
यस प्रक्रियामा गाउँ–नगर तथा वडा कार्यसमितिको महत्त्वपूर्ण भूमिका रहनेछ।
अभियानका क्रममा देहायका कार्य गरिनेछः
१. प्राइमरी निर्वाचनको अवधारणा बारे पार्टी सदस्यहरूलाई जानकारी गराउने।
२. पार्टी सदस्यताको अभिलेख अद्यावधिक गर्ने र विधानबमोजिम प्राइमरीमा सहभागी हुन योग्य सदस्यहरूको विवरण व्यवस्थित गर्ने।
३. स्थानीय तहको जनसांख्यिक, आर्थिक तथा सामाजिक अवस्थाबारे सार्वजनिक र आधिकारिक तथ्यांकका आधारमा विवरण तयार गर्ने।
४. प्राइमरी निर्वाचनका लागि आवश्यक सांगठनिक, प्रशासनिक र प्राविधिक तयारीका विषय पहिचान गर्ने।
५. स्थानीय तहसँग सम्बन्धित नेतृत्व विकास प्रतिष्ठान, निर्वाचन ब्युरो र सुशासन प्रतिष्ठानको भूमिका तथा कार्यक्षेत्रबारे जानकारी गराउने।
६. उम्मेदवार छनोट प्रक्रियामा निष्पक्षता, समान अवसर, पारदर्शिता र विधानको पालना सुनिश्चित गर्न आवश्यक तयारी गर्ने।
६.४ नागरिक संवाद
प्रत्येक गाउँपालिका तथा नगरपालिकाका वडा, टोल र बस्तीमा स्थानीय आवश्यकताअनुसार नागरिक संवाद तथा भेटघाटका कार्यक्रम सञ्चालन गरिनेछ।
संवादका क्रममा पार्टीका नीति तथा कार्यक्रमबारे जानकारी दिनुका साथै नागरिकका अनुभव, प्रश्न, असहमति, समस्या र सुझाव सुन्ने तथा अभिलेखीकरण गर्ने कार्य गरिनेछ।
संवादमा पार्टीका अग्रज, शुभेच्छुक, सहिद परिवार, द्वन्द्वप्रभावित परिवार, प्रजातन्त्र सेनानी, महिला, युवा, स्थानीय समुदाय, पेसाकर्मी, नागरिक समाज तथा अन्य इच्छुक नागरिकको सहभागिताका लागि खुला अवसर प्रदान गरिनेछ।
नागरिक संवादका क्रममा प्राप्त विषयलाई स्थानीय, प्रादेशिक र राष्ट्रिय तहमा सम्बोधन गर्नुपर्ने विषयका रूपमा वर्गीकरण गरी सम्बन्धित निकायमा पठाइनेछ।
नागरिकका व्यक्तिगत विवरण संकलन गर्नुपर्ने अवस्थामा सम्बन्धित व्यक्तिको सहमति, गोपनीयता र विवरणको सुरक्षित प्रयोग सुनिश्चित गरिनेछ।
६.५ सामाजिक कार्यक्रमः #NC4NC
संस्थागत संकल्प (Institutional Pledge)
पार्टीका प्रत्येक गाउँ–नगर कार्यसमितिले स्थानीय समुदायको आवश्यकताका आधारमा कम्तीमा एउटा सामाजिक वा सामुदायिक हितको कार्यक्रम छनोट गरी संस्थागत संकल्प घोषणा गर्नुपर्नेछ।
उक्त संकल्पअनुसार २०८३ पुसदेखि चैत मसान्तसम्मको चारमहिने कार्ययोजना तयार गरी कार्यान्वयन गरिनेछ।
सामाजिक कार्यक्रमका सम्भावित क्षेत्र निम्नानुसार रहनेछन्।
क. सामुदायिक पूर्वाधार तथा सेवा
* विद्यालय, स्वास्थ्य संस्था, पुस्तकालय तथा अन्य सामुदायिक संस्थाको सुधार।
* खानेपानी, सरसफाइ तथा सार्वजनिक स्थलको संरक्षण र सुधार।
* स्थानीय आवश्यकतामा आधारित सामुदायिक पूर्वाधार सुधार।
ख. शिक्षा, स्वास्थ्य तथा सार्वजनिक सेवा सुधार
* स्वयंसेवक शिक्षक अभियान।
* विद्यालय शिक्षा सुधार अभियान।
* स्वास्थ्य सचेतना तथा स्वास्थ्य सेवा पहुँचसम्बन्धी कार्यक्रम।
* सार्वजनिक सेवा प्राप्त गर्न नागरिकलाई आवश्यक सूचना तथा सहजीकरण।
ग. वातावरण संरक्षण तथा विपद् व्यवस्थापन
* वातावरण संरक्षण, वृक्षारोपण तथा सरसफाइ अभियान।
* स्थानीय विपद् पूर्वतयारी तथा स्वयंसेवक परिचालन।
* विपद्प्रभावित बालबालिकाको शिक्षा निरन्तरताका लागि सहयोग।
घ. सीप, रोजगारी तथा उद्यमशीलता
* मौलिक सीप संरक्षण तथा प्रवर्द्धन।
* स्थानीय उत्पादन तथा उद्यमशीलता विकास।
* ‘पुर्खाको सीप, आधुनिक उद्यम’ जस्ता कार्यक्रम।
* सीप विकास र रोजगारीसम्बन्धी सूचना तथा सहजीकरण।
ङ. संस्कृति तथा सम्पदा संरक्षण
* स्थानीय भाषा, कला, संस्कृति तथा परम्पराको संरक्षण।
* ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन।
च. अन्य सामुदायिक कार्यक्रम
स्थानीय आवश्यकताअनुसार सामाजिक सद्भाव, अपाङ्गता भएका व्यक्तिको सेवा पहुँच, ज्येष्ठ नागरिकको सहयोग तथा अन्य सामुदायिक हितका कार्यक्रम पनि छनोट गर्न सकिनेछ।
संस्थागत संकल्प कार्यान्वयनका आधार
प्रत्येक गाउँ–नगर कार्यसमितिले छनोट गरेको कार्यक्रमका लागि निम्न विषय स्पष्ट गर्नुपर्नेछः
* कार्यक्रमको नाम र उद्देश्य।
* चार महिनाभित्र हासिल गर्ने मापनयोग्य लक्ष्य।
* जिम्मेवार व्यक्ति वा कार्यसमूह।
* आवश्यक स्रोत तथा स्रोत व्यवस्थापनको विधि।
* वडा कार्यसमितिहरूको सहभागिता र जिम्मेवारी।
* मासिक कार्यतालिका र प्रगति समीक्षा।
सामाजिक कार्यक्रम सबै नागरिकका लागि खुला, गैरभेदभावपूर्ण, पारदर्शी र कुनै राजनीतिक समर्थनको सर्त नराखी सञ्चालन गरिनेछ। कार्यक्रम सञ्चालन गर्दा स्थानीय सरकार तथा सम्बन्धित सार्वजनिक र सामुदायिक संस्थासँग आवश्यक समन्वय गरिनेछ।
७. प्रतिवेदन र जानकारी
केन्द्रीय प्रतिनिधिले अभियान सम्पन्न भएपछि निर्धारित ढाँचामा केन्द्रीय कार्यालयमा प्रतिवेदन पेस गर्नुपर्नेछ।
प्रतिवेदनमा देहायका विषय समावेश गर्नुपर्नेछः
१. अभियानका क्रममा सम्पन्न बैठक, भेला, अभिमुखीकरण तथा संवादको विवरण।
२. स्थानीय तहको सांगठनिक अवस्था, समस्या र सुधारका लागि सुझाव।
३. पार्टी सदस्यहरूबाट प्राप्त नीतिगत तथा सांगठनिक सुझाव।
४. स्थानीय, प्रादेशिक तथा राष्ट्रिय तहमा सम्बोधन गर्नुपर्ने जनसरोकारका विषय।
५. प्राइमरी निर्वाचनको तयारी र थप गर्नुपर्ने कार्य।
६. गाउँ–नगर कार्यसमितिले घोषणा गरेको संस्थागत संकल्प र चारमहिने कार्ययोजना।
७. अभियान कार्यान्वयनका क्रममा देखिएका समस्या तथा आगामी कार्यका लागि सुझाव।
८. अभियानको समीक्षा र निरन्तरता
‘हामी तयार छौँ’ अभियान मंसिर १५ गतेदेखि पुस ५ गतेसम्म सञ्चालन हुने भए पनि यसअन्तर्गत तय भएका जिम्मेवारी र कार्ययोजना उक्त अवधिमा मात्र सीमित रहने छैनन्।
अभियानबाट प्राप्त प्रतिवेदनको केन्द्रीय कार्यालयले एकीकृत समीक्षा गर्नेछ। प्राप्त सुझाव र जनसरोकारका विषय सम्बन्धित पार्टी निकायमा पठाइनेछ।
गाउँ–नगर कार्यसमितिले घोषणा गरेको संस्थागत संकल्पको मासिक समीक्षा गरिनेछ। चैत मसान्तमा चारमहिने कार्यक्रमको उपलब्धि, चुनौती र आगामी निरन्तरताबारे मूल्याङ्कन गरिनेछ।
९. अभियान सञ्चालनका विशेष निर्देशन
१. केन्द्रीय प्रतिनिधि अभियान अवधिभर अनिवार्य रूपमा सम्बन्धित गाउँपालिका वा नगरपालिकामा नै रहनुपर्नेछ।
२. अभियानका नाममा औपचारिक सभा, स्वागत, सम्मान, बधाई, शुभकामना तथा लामो मन्तव्यका कार्यक्रम आयोजना गरिने छैनन्।
३. अभियान सहभागितामूलक, संवादमूलक र कार्यकेन्द्रित हुनेछ।
४. केन्द्रीय प्रतिनिधिसहित अभियानमा सहभागी सबैले पार्टीको आचारसंहिता र कार्यक्रम सञ्चालन निर्देशिकाको पूर्ण पालना गर्नुपर्नेछ।
५. अभियान सञ्चालन गर्दा अनावश्यक खर्च, तडकभडक र औपचारिकतालाई निरुत्साहित गरिनेछ।
६. अभियानको मूल्याङ्कन कार्यक्रमको संख्याबाट मात्र नभई सम्पन्न जिम्मेवारी, प्राप्त सुझाव, कार्ययोजना र हासिल भएका उपलब्धिका आधारमा गरिनेछ।
जय नेपाल !
(केन्द्रीय कार्यसमिति बैठकमा बरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रस्ताव)
प्रधानमन्त्रीको भारत भ्रमणः सन्तुलनको सम्बन्ध र विश्वास स्थापनाको प्रयास
किसुनजीको सुराहीमा मोदीजीको सादगी!
विस्तृत शान्ति सम्झौतादेखि जेनजी विद्रोहसम्म: धरमराएको ‘शान्ति-यात्रा’
प्रधानमन्त्रीको भारत भ्रमण ‘नयाँ कूटनीतीको परीक्षा’
अब समाजमा झुकेको आमाबुबाको शिर उठाउनु छ…
धन्न! यूएईको जेलबाट बाँचेर फर्किएँ...
‘सरकार! प्रहरीमा तिम्रो गैरसंवैधानिक खेल हुन्छ है फेल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया