मङ्गलबार, २४ नोभेम्बर २०२६

ओलीको प्रसंग कोट्याउँदै गगनले भनेः कांग्रेसको सभापतिले अन्य पार्टीका अध्यक्षलाई भेट्नु स्वाभाविक

News Image
फाइल तस्बिर
• • •

गगन थापाले आफू कांग्रेसको सभापति बनिसकेपछि एमाले अध्यक्ष केपी ओलीसँग पाँच पटक भेट गरिसकेको बताएका छन्।

केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै गगनले आफू कांग्रेसको सभापति भएकोले अन्य पार्टीका शीर्ष नेताहरूसँग भेटघाट हुनु स्वाभाविक भएको बताए।

ओलीसँगको भेटवार्तालाई अतिरञ्जना गरिएको सन्दर्भमा प्रदेशको सरकारको विषयमा छलफल हुनु स्वाभाविक भएको उनको भनाइ छ।

गगनले भने, ‘मैले कांग्रेसको सभापति भइसकेपछि केपी ओलीलाई पाँच चोटि भेटेको छु। अस्ति मैले पाँचौँ पटक भेटेँ। म कांग्रेस सभापति हुँ, एमालेको अध्यक्षसँग मेरो भेटघाट हुन्छ, माओवादी अध्यक्षसँग भेटघाट हुन्छ, रास्वपाको सभापतिसँग भेटघाट हुन्छ। प्रधानमन्त्रीले कोहीसँग भेटघाट नगर्ने भएको हुनाले उहाँसँग हुँदैन, बाँकी सबैसँग हुन्छ।’

फरक प्रसंगमा थापाले सरकारले स्वास्थ्य बिमा कार्यक्रमसमेत अस्तव्यस्त बनाएको आरोप लगाए। लामो प्रयासपछि सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा हजारौँ नागरिकले बिमा छाडिरहेको उल्लेख गर्दै उनले यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए।

अध्यादेशको विषयमा बोल्दै सभापति थापाले अप्ठ्यारो परिस्थितिमा अध्यादेश ल्याउनु अस्वाभाविक नभए पनि त्यसलाई नियमित अभ्यासजस्तो बनाउन नहुने बताए। विगतमा कांग्रेस नेतृत्वको सरकारले पनि अध्यादेश ल्याएको स्मरण गराउँदै उनले वर्तमान सरकारलाई अध्यादेशलाई सामान्य राजनीतिक औजारका रूपमा प्रयोग नगर्न सचेत गराएको बताए।

उनले सरकारले अध्यादेश ल्याएर राष्ट्रपतिसमक्ष पठाउने तर त्यसको प्रक्रिया र उद्देश्य स्पष्ट नहुने अवस्था देखिएको टिप्पणी गरे। पछिल्लो पटक पठाइएको अध्यादेशबारे सञ्चारमाध्यमले पूर्ण विषयवस्तु नबुझी समाचार प्रकाशन गरेको भन्दै उनले त्यसको आधा विषय मात्रै बाहिर आएको दाबी गरे।

उनले सरकारका सकारात्मक कामको प्रशंसा गर्नुका साथै कमजोरीका विषयमा प्रश्न उठाउनु पनि प्रमुख प्रतिपक्षी दलको दायित्व भएको स्पष्ट गरे। उनले नागरिकका सरोकारका विषयमा कांग्रेस निरन्तर खबरदारीमा रहने बताए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!