कैलालीको टीकापुर, शक्तिनगरमा सुरजलाई पहिलोपटक भेटेकी थिइन् प्रतिमाले।
स्कुल बिदा हुँदा दिदीकाे घर गइरहने उनकाे त्यही भएकाे थियाे सुरजसँग चिनजान। दिदीकाे छिमेकी भनेर।
दिदीकाे घर जाँदा सामान्य बाेलचाल मात्र हुन्थ्याे सुरज र प्रतिमाकाे।
तर एकदिन प्रतिमाकाे फेसबुकमा सुरजको ‘फ्रेण्ड रिक्वेस्ट’ आयो। बाेलिरहेकाे साथी सम्झिएर उनले सुरजकाे रिक्वेस्ट स्वीकार गरिन्।
फेसबुकमा जाेडिएपछि उनीहरूबीच ‘च्याटिङ’ हुन थाल्याे।
एक दिन–दुई दिन गर्दै प्रतिमा र सुरजकाे कुराकानी बाक्लिन थाल्यो। म्यासेजमा मात्र सीमित रहेका उनीहरू फोनमा पनि बोल्न थाले।
‘त्योबेला लकडाउन चलिरहेको थियो। दिनभरि मोबाइल चलाएर बस्नुबाहेक केही काम थिएन। त्यहीकारण सुरजसँग कुराकानी बढ्दै गयो’, उनकाे लागि सुरजसँग बोल्ने बाहाना बनेको थियो लकडाउन।
म्यासेज र फोनमा बोल्न थालेको महिना दिन बितिसकेको थियो। सुरजले प्रतिमालाई मन पराउन थालिसकेका थिए। त्यो कुरा उनले प्रतिमालाई पनि सुनाए।
सुरजले आफूलाई प्रेम गरिरहेको थाहा पाएपछि उनी फुरुङ्ग भइन्। र, सुरजको प्रेम प्रस्ताव सहजै स्वीकारिन्।
त्यसपछि उनीहरूबीच सम्बन्ध पनि बाक्लिन थाल्यो। घण्टौंसम्म फोनमा बोलिरहनु उनीहरूकाे दैनिकी जस्तै बन्यो। ‘माया–प्रेमका कुराकानीहरू हुन्थे’, उनले सुनाइन्।
प्रेम सम्बन्धमा रहेको पाँच महिना हुँदै थियो। त्यही मौकामा सुरजले प्रतिमालाई विवाहको प्रस्ताव राखे।
१६ वर्षकै उमेरमा विवाहको प्रस्ताव सुनेपछि उनी डराइन्। तर उनलाई विवाहपछि पढाइ दिने र काम सिकाउने भन्दै सुरजले फकाउन थाले।
आफूलाई माया गर्ने मान्छेले त्यतिधेरै भनिसकेपछि प्रतिमाले पनि ‘विहे गर्दिनँ’ भन्न सकिनन्। र, उनी तयार भइन् १७ वर्षका सुरजसँग विहे गर्न।
प्रेम गरेको पाँच महिनापछि भागेर विहे गर्ने उनीहरूको योजना बन्यो। त्यही योजनानुसार प्रतिमा घरबाट भागिन्। बुबाआमाको डरैडरमा।
‘मलाई घरबाट भाग्न डर लागेको थियो तर मेरो श्रीमान मसँगै हुनुहुन्थ्यो। त्यसैले डर लागेपनि भाग्न तयार भएँ’, चार वर्षअघिको कुरा कोट्याउँदै उनले भनिन्, ‘मलाई भगाएर सुरजले घर लैजानुभयो।’
प्रतिमालाई भगाएर घर ल्याउने कुरा राम्रोसँग बुझेका थिए सुरजका परिवारले। त्यसैले प्रतिमाको पर्खाइमा थिए उनका परिवार।
‘मलाई विहे गर्न लागेको कुरा सुरजको परिवारलाई थाह भइसकेको थियो। उहाँहरूले मेरो स्वागत गर्नुभयो’, उनले भनिन्, ‘राम्रो व्यवहार गर्नुभयो।’
विहेको गरेको महिना दिनसम्म राम्रै चलिरहेको थियो प्रतिमाको वैवाहिक जीवन। तर विस्तारै खटपट सुरु भयो।
विहेअघि पढाउने र काम सिकाउने देखाएको सपना सिसाझैं चर्कियाे। उनलाई पढाउन र काम सिकाउनको सट्टा घरको सारा काम गर्न लगाइयो।
‘म पढ्न चाहन्छु भन्दा घरको मान्छेल गाली गर्नुहुन्थ्यो। विहे गरिसकेपछि किन पढ्नु पर्याे भन्दै कराउनुहुन्थ्यो’, विहेपछि सुरजको सोच बदलियो।
कक्षा–८ पास गरिसकेकी प्रतिमालाई धेरै पढेर होटल क्षेत्रमा काम गर्ने रहर थियो। तर विहेपछि उनको सपना कहिल्यै पूरा नहुनेगरि टुट्यो।
आफूले पढ्न नपाएको कुरा उनी आमालाई फोन गरेर सुनाउँथिन् अनि धरधरी रुन्थिन्। ‘मैले छिट्टै विहे गरेर मेरो आमाबुबा रिसाउनुभएको थियो। तर म रुँदा मेरी आमा पनि रुनु हुन्थ्यो’, बाल विवाह गरेर पछुताएकी थिइन् प्रतिमा।
विवाहपछि नपढाएपनि श्रीमानको प्रेम पाएर खुसी थिइन् उनी। तर त्यो माया पनि समयसँगै बदलियो।
श्रीमतीलाई वेवास्ता गर्ने सुरजले सधैं गालीगलौज मात्र गरिरहन्थे प्रतिमालाई। त्यहीपनि जसोतसो सहेर बसिन्।
श्रीमान र परिवारको अपहेलनाको कारण प्रतिमाको जिउने इच्छा पनि हराएको थियो। तर विवाह गरेको वर्ष दिनपछि उनले छोरा जन्माइन्।
‘छोरा जन्मेपछि म धेरै खुसी भएँ। परिवारले वास्ता नगरेपनि मसँग छोरा थियो भनेर खुसी हुन्थें’, त्यो उनका लागि सबैभन्दा खुसीको दिन थियो।
छोरा जन्मिएपछि खुसी हुन थालेकी प्रतिमाले झनै परिवारको यातना सहनुपर्यो। दिनभरि घरको काम गर्दा पनि कहिल्यै स्याबासी पाइनन्।
‘माइती घर र श्रीमानको घरमा धेरै भिन्नता छ। माइतमा थोरै काम गर्दा पनि धेरै प्रशंसा पाइन्छ तर कर्म घरमा जति काम गरेपनि गाली खाइन्छ’, बिएल नेपाली सेवालाई उनले सुनाइन्।
श्रीमानको घरमा जतिसुकै पीडा भएपनि सहेर बसिरहेकी थिइन् प्रतिमा तर विहे गरेको ती चार वर्षपछि उनलाई सुरजले कुट्न थाले।
दिनभरि फोन चलाएर व्यस्त हुन्थे सुरज अनि रिसाएपछि प्रतिमालाई झपार्थे। ‘मेरो श्रीमान धेरै परिवर्तन हुनुभएको थियो’, उनी भन्छिन्, ‘मेरो र छोराको केही मतलब थिएन।’
कुनैबेला विवाहका लागि तड्पिएका उनै श्रीमानको आँखाको कंसिगर भएकी थिइन् प्रतिमा। उनलाई छोड्न चाहन्थे सुरज। त्यसैले त दिनरात गालीगलौज गर्थे। र, घरबाट निकाल्न खोज्थे।
एकदिन घरको काम सकेर छोरासँग बसिरहेकी थिइन् प्रतिमा। त्यहीबेला सुरजसँग उनको झगडा भयो। मोबाइलको विवादले।
सुरजले ‘च्याटिङ’ गरिरहेको फोन खोसेकी थिइन् उनले। त्यही झोकमा सुरजले प्रतिमालाई मरणासन्न हुनेगरी कुटे।
छोराले बुहारीलाई हिकाएको देखेर ससुराले पनि कुट्न थाले। ‘मलाइ कसैले पनि मन पराउनु हुन्न थियो। त्यसैले श्रीमानले कुटेपछि ससुराले पनि बेस्सरी कुट्नभो’, त्यो दिन सम्झिदा अझै दुखी हुन्छिन् प्रतिमा।
श्रीमान र ससुराको कुटाइ खाएर थलिएकी प्रतिमालाई कसैले सुनाइदिए कि सुरजले अर्की केटीलाई इण्डिया भगाउँदैछ। त्यो सुन्नासाथ उनी टीकापुरको स्टेशन पुुगिन्।
त्यहाँ उनले आफ्नो श्रीमान र नयाँ केटीलाई एकसाथ बसिरहेको देखिन्। त्यो देख्नासाथ उनी बेहोस भइन्। उनीमाथि आकाश बजारिएजस्तो भयो।
जसको लागि उनले आफ्नो पढाइ र बाआमाको विश्वास तोडेकी थिइन्। उसैले प्रतिमालाई ठुलो चोट दिएको थियो।
‘मैले आफ्नो श्रीमानलाई अरू केटीको साथ देख्नै सकिनँ। त्यो देखेर म दुई पटक बेहोस भएछु’, उनको लागि सबैभन्दा दुखको दिन थियो त्यो।
प्रतिमालाई स्टेशनमा देखेर घर फर्किएका थिए श्रीमान। दोस्रो श्रीमतीको साथमा।
‘सुरज एक्लै आएको थिएन। ऊसित नयाँ श्रीमती पनि थिन्’, प्रतिमा भन्छिन्, ‘मेरो व्यहोरा राम्राे नभएर नयाँ श्रीमती ल्याएको भन्दै मलाई हप्कायो।’
छोराले कान्छी श्रीमती ल्याउँदा समेत परिवारले केही बोलेन। बरू, उनै कान्छी बुहारीको समर्थन गरे।
सायद! प्रतिमाको गरिबीले निर्दयी बनाएको थियो सुरजको परिवारलाई।
‘म गरिब थिएँ। त्यसैले धनी बुहारी ल्याउँदा परिवार सबै खुसी भए। मैले दाइजो नल्याएको भन्दै सधैं गाली गरिरहन्थे’, उनले भनिन्, ‘कान्छी श्रीमती ल्याएपछि म नोकरानी जस्तै भए।’
निम्न वर्गको परिवारमा हुर्किएकी प्रतिमाको बुबाआमा कमैया थिए। उनीहरूलाई डेरा बनाउने जग्गा समेत सरकारले दिएको थियो। त्यही गरिबीको कारण श्रीमानको घरमा हेपिएको उनको बुझाइ छ।
चटपटेको व्यापार
श्रीमानले अर्की विवाह गरिसकेपछि उनी माइती घर गइन्। तीन वर्षको छोरालाई साथमा बाकेर।
‘श्रीमानको घरमा माया नपाएपछि माइत फर्किएँ’, उनी सुनाउँछिन्, ‘दुःख पर्दा बुबाआमाको याद आउने रहेछ।’
भागेर विवाह गरेकी प्रतिमासँग बुबाआमा रिसाएका थिए तर दुःख पाएकी साइली छोरीको अवस्था देखेर साहारा दिए।
‘आफ्नो खुसीले सानैमा विहे गरेर धेरै दुख पाइस्। अब राम्रोसँग छोरालाई हुर्काऊ’, उनलाई आमाले सम्झाएकी थिइन्।
आमाबुबाको साथमा बस्न थालेकी उनी घरको कामकाजसँगै मेलापात पनि सम्हाल्थिन्। त्यहीबाट आफ्नो र छोराको लागि खर्च जुटाउँथिन्।
श्रीमानबाट छुटेर बुबाआमासँग बस्न थालेको तीन महिना भइसकेको थियो। उनलाई काठमाडौंमा बसिरहेकी दिदीले त्यतै बोलाइन्।
प्रतिमालाई पनि दिदीको सल्लाह राम्रो लाग्यो। र, उनी छोरालाई लिएर दुई महिनाअघि काठमाडौं छिरिन्।
‘आमाबुबाले पनि दिदी भिनाजुसँग काठमाडौंमा बस्न लगाउनुभयो। त्यसैले म काठमाडौं आएँ’, उनले बताइन्।
छोरालाई पढाउने सपना बुनेर काठमाडौं छिरेकी प्रतिमालाई काम गर्ने हुटहुटी थियो। त्यसैले उनलाई दिदीले चटपटेको व्यापार गर्न लगाइन्।
त्यसपछि उनले काठमाडौंको बुढानीलकण्ठमा ‘चटपटे र पानीपुरी’ बेच्न थालिन्।
प्रतिमाले व्यापार गर्न थालेको अहिले दुई महिना भयो। त्यसबाट उनले केही पैसा बचाएकी छिन्। छोरालाई पढाउनका लागि।
श्रीमती काठमाडौंमा बसेर काम गरिरहेको खबर सुरजले पनि थाह पाइसकेका छन्। तर उनी खुसी छैनन्।
केही दिनअघि मात्र छोरालाई खाजा खुवाउन होटल गएकी थिइन् प्रतिमा। त्यतिबेलै सुरजले फोन गरे। होटलमा मान्छेको होहल्ला थियो। त्यो आवाज सुरजले पनि सुने।
प्रतिमाले छोरालाई खाजा खुवाउन होटल ल्याएको कुरा बताएकी थिइन्। तर अनेकथरि शब्द बोलेर थर्काए सुरजले।
‘तँ होटल–होटलमा गएर मोज–मस्ती गर्न काठमाडौं गएकी रहिछस्। मलाई मेरो छोरा फिर्ता दे भन्दै गाली गरे’, आँसु पुछ्दै उनले भनिन्, ‘म तँलाई घर ल्याउन सक्दिनँ तर छोरा ल्याउँछु भनेर मलाई हप्काए।’
छोरालाई घर फर्काउन चाहन्छन् सुरज। तर प्रतिमाको लागि जिउने आधार मात्र छोरा हुन्। त्यसैले उनी आफैंसँग छोरालाइ राख्न चाहन्छिन्। उनी भन्छिन्, ‘९ महिना पेटमा राखेको छोरालाई कसरी दिन सक्छु र!’
चार वर्षसँगै बसेका श्रीमानसँग अहिले पनि जीवन बिताउन चाहन्छिन् प्रतिमा। मात्र छोराको लागि।
बिना बुबाको छोरालाई समाजले हेला गर्छ कि भन्ने उनको डर छ।
‘म छोराबिना बाँच्न सक्दिनँ। तर छोरालाई बुबाको पनि नाम चाहिन्छ। समाजले बुबा नभाको छोरालाई अनेकथरि भनेर कुरा काट्छ। त्यसैले सुरजसँग बस्नु मेरो बाध्यता हो’, उनी भन्छिन्, ‘तर उसले कान्छी श्रीमतीलाई त्याग्नुपर्छ।’
श्रीमानले कान्छीलाई छोडे उनी घर फर्कन तयार छिन्। तर प्रतिमालाई अपनाउन चाहँदैनन् सुरज।
सुरजले आफूलाई साथमा नराखेपनि छोरालाई एक्लै हुर्काउन सक्ने हिम्मत छ, प्रतिमासँग। अब उनको सपना भनेको धेरै पैसा कमाएर छोरालाई पढाएर ठुलो मान्छे बनाउनु छ।