राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले अर्को विवादित अभिव्यक्ति दिएकी छन्। उनले आफ्नो ‘विरोध वा आलोचना’ गर्ने रास्वपाका नेता-कार्यकर्ताहरूको विगत खोज्दै जाँदा कुनै न कुनै काण्डमा मुछिएको समेत दाबी गरिन्।
केही दिनअघि सामाजिक सञ्जालमार्फत ‘रवि लामिछाने गृहमन्त्री हुँदा बलात्कार आरोपीलाई उन्मुक्ति दिएको’ अभिव्यक्ति दिएपछि उनी थप विवादित बनेकी थिइन्।
पार्टीका संस्थापक नेता लामिछानेमाथि चौतर्फी घेराबन्दी भइरहेका बेला केन्द्रीय सदस्यबाटै ‘भ्रम फैलाउने खालको’ अभिव्यक्ति दिएको भन्दै ज्वालामाथि दर्जनौँ नेता-कार्यकर्ताहरूले कारबाहीको माग गरेका थिए।
तर, ज्वालाले आफ्नो अभिव्यक्तिको बचाउ गर्दै पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण सोधे जवाफ दिन तयार बताउँदै उल्टै आफ्ना नेता-कार्यकर्ताहरूको पर्दाफास गर्ने धम्की दिएकी छन्।
उनले भनेकी छन्, ‘ज-जसले आज मेरो विरोध गरेर आफू रास्वपा हूँ भनिरहेका छन्, तिनीहरूको विगत खोज्दै जाने हो भने एउटा न एउटा काण्डमा मुछिएकै छन्। मैले पर्दाफास गर्दै गए भने भोलि नाकमुख देखाउन गाह्रो होला महोदय। तसर्थ संयमित बन्नुस्। मेरो अभिव्यक्तिको विषयमा मलाई पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण सोधेमा म जुनसुकै ठाउँमा उभिएर भएपनि जवाफ दिन तयार छु।’
केन्द्रीय सदस्य ज्वालाले पार्टीको चुनावी अभियानका दौरान आर्थिक अपचलन गरेर निलम्बनमा परेका पूर्वनेता-कार्यकर्ताहरूले आफ्नो खेदो पनि आरोप लगाएकी छन्।
उनले ‘बलात्कार आरोपीलाई उन्मुक्ति दिएको’ भन्ने लेखाइमा सामान्य त्रुटी भएको स्वीकार गरेकी छन्।
ज्वालाले सामाजिक सञ्जालमा थप स्पष्टीकरण दिँदै लख्छिन्, ‘मेरो एउटा सामान्य लेखाइको त्रुटी, त्यो पनि मैले सच्याएर तीनवटा स्पष्टीकरणसहितका स्टाटस लेख्दासमेत मलाई खेद्न छोडेका छैनन्। यसबाट म कतै विचलित भएकी छैन, किनकि यस्ता बाधाका पहाडमाथि टेक्दै जीवनको उकाली चढेको निक्कै साल भै सक्यो।’
ज्वालाले फेसबुकमा लेखेको अर्को स्टाटस जस्ताको तस्तै—
अरु त त्यस्तै हो पार्टीको चुनावी अभियानका दौरान आर्थिक अपचलन गरेर निलम्बनमा परेका भूतपूर्वहरूले मेरो खेदो गरेको चाहिँ कतिपनि सुहाएन। मैले केही अपराध गरेको छैन, कसैको एकसुको खाएको छैन, पार्टीभित्र बसेर गुट र फुटको गन्धा धन्दा गरेको छैन। सकेसम्म राम्रो गरौँ, नसके नराम्रो पनि नगरौँ भन्ने सोच हो। आजपनि म पार्टीभित्र यसकारण छु कि त्यहाँ रवि दाइ हुनुहुन्छ अनि अरु केही राम्रा साथीहरू! मेरो एउटा सामान्य लेखाइको त्रुटी, त्यो पनि मैले सच्याएर तीनवटा स्पष्टीकरणसहितका स्टाटस लेख्दासमेत मलाई खेद्न छोडेका छैनन्। यसबाट म कतै विचलित भएकी छैन, किनकि यस्ता बाधाका पहाडमाथि टेक्दै जीवनको उकाली चढेको निक्कै साल भै सक्यो। ज-जसले आज मेरो विरोध गरेर आफू रास्वपा हूँ भनिरहेका छन्, तिनीहरूको विगत खोज्दै जाने हो भने एउटा न एउटा काण्डमा मुछिएकै छन्। मैले पर्दाफास गर्दै गए भने भोलि नाकमुख देखाउन गाह्रो होला महोदय। तसर्थ संयमित बन्नुस्। मेरो अभिव्यक्तिको विषयमा मलाई पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण सोधेमा म जुनसुकै ठाउँमा उभिएर भएपनि जवाफ दिन तयार छु।
रवि दाइ सञ्चारकर्मी हुँदादेखि नै दाइको सपोर्टमा सबैभन्दा बढी लेख्ने बोल्ने र कसैको डर धम्कीको परवाह नगरी एकलै भएपनि खडा भएर हिँडेकी मान्छे हूँ म। आज रवि दाइ राजनीतिमा आएर यस्तो परिबन्द झेल्दैगर्दा समेत मैले दाइको साथ छोडेको छैन किनभने दाइले यो देशको लागि सोचेको सपना ठूलो छ र त्यो सपनाभित्र आज मेरो सानो दुधे बालकको भविस्य समेत जोडिएको छ। तसर्थ उसलाई छोडी छोडी म रवि दाइलाई जोगाउनुपर्छ भनेर हिँडिरहेकी छु। रवि दाइमाथि आज सिङ्गो राज्य खनिएको देख्दा मन रोएको छ। दाइको लागि हामीजस्ता भुइँमान्छेले बोल्नुपर्छ भनेर मेरा साथीहरूलाई समेत प्रेरित गर्दैगर्दा एउटा सामान्य त्रुटीलाई दिनदिनै आफ्नो फेसबुकमा बोकेर कुदिरहेका केही साथीहरूको बौद्धिक दरिद्रता देखेर दया लागेको छ। पार्टीलाई माया गर्नुस् तर माया गरेको नाटक नगर्नुस्। म केन्द्रीय सदस्य भएकोमा नै यति सारो आपति, डाहा र रिस हो भने पार्टीले खुल्ला प्रतिस्पर्धाको नीति अपनाएको छ। महाधिवेशन लडेर आउनुस र मलाई हराइदिनुस्, सक्की गो नि!