‘दुःख पाएका नेपालीको फोन नउठाउने राजदूत’ एमाले नेतालाई स्वागत गर्न एयरपोर्टमै

Break n Links
Break n Links

नेकपा एमालेका महासचिव शंकर पोखरेल जापानको नारीता अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्दा स्वागतका लागि तैनाथ थिए ‘प्रवासी नेपाली’ नेता-कार्यकर्ता। उनीहरूसँगै थिए एमालेका केन्द्रीय सदस्य डा. सूर्य पाठक, प्रवासी नेपाली मञ्च जापानका राष्ट्रिय कमिटीका पदाधिकारी तथा सदस्य।

त्यस्तै, सहयोगी सरोज रेग्मीसहित महासचिव पोखरेल विमानस्थलमाबाट बाहिरिँदा खादा-माला समातेर लहरै उभिएका प्रवासी नेपालीहरू स्वागत गर्न आतुर देखिन्थे। र, त्यसैबेला हतारहतारमा हातमा पुष्पगुच्छा बोकेर एकाएक आइपुगे जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी।

प्रवासी नेपाली मञ्च जापानका एक पदाधिकारीले अचम्म मान्दै भने, ‘भागाभाग गरेर महासचिव कमरेडलाई स्वागत गर्न आइपुगेको देखेर म छक्क परेँ! हिजोअस्तीसम्म कसैलाई नटेर्ने मान्छे, अरुबेला नेता-सेता भनेका यस्तै हुन्, देश चलाउने त हामी कर्मचारीहरूले हो भन्ने यी राजदूत महोदय! कसरी आउनुभयो दौडिएर एयरपोर्टमै?’

राजदूत सुवेदीले सत्ताधारी पार्टी एमालेका शक्तिशाली महासचिवलाई विमानस्थलमा स्वागत मात्रै गरेनन्, उनले त ‘माननीयज्यू जापानमा त राम्रो रहेछ एमालेको संगठन’ भनेको एक प्रवासी नेताले बताए।

सबै दलका, सबै नेता र प्रधानमन्त्री-मन्त्रीलाई रिझाएर देश फेरिफेरि, विभाग छानीछानी नियुक्ती पड्काउन सुवेदी माहिर नै मानिन्छन्।

अरुबेला राजदूतावासमा होस् या अन्यत्रै सार्वजनिक कार्यकर्तामा भेट्दा नै किन नहोस्, ‘रेस्पोन्स’ नगर्ने राजदूत सुवेदीलाई किन एकाएक महासचिवसामु एमालेजस्तै देखिनुपर्यो होला! यतिबेला छक्क छन् जापानी एमालेहरू।

‘महासचिवज्यू प्रवासी नेपाली मञ्च जापानको कार्यक्रममा आउनुभएको हो। यसको व्यवस्थापन मञ्चले गरेको छ। डा. सूर्य पाठन पनि यहीँ हुनुहुन्छ, हामीले राजदूतज्यूलाई भनेका पनि थिएनौँ। तर उहाँ आइपुग्नुभयो, ठिकै छ,’ प्रनेम जापानका एक क्षेत्रीय सदस्यले भने। 

एमाले महासचिव पोखरेललाई विमानस्थलमा स्वागत गर्न विमानस्थलमै पुगेका केही विद्यार्थीहरूले जापानका लागि नेपाली राजदूत सुवेदीको आलोचना गरेका छन्। 

उनीहरूले जापानमा पढ्न आएर दुःख पाएका कतिपय नेपाली विद्यार्थीहरूको फोन उठाउने गुनासो गरेका छन्। पारिवारिक समस्या भएको बेला दूतावासले वास्तै नगरेको बताएका छन्।

‘राजदूतको काम नेताको चाकडी गर्ने मात्रै हो,’ म्याग्दीका ती विद्यार्थीले प्रश्न गरे, ‘हामीलाई समस्या परेको बेला राजदूतावासको नम्बरमा पटकपटक फोन गरेका थियौँ, फोन उठेन। फेरि राजदूतलाई फोन गर्यौं। उहाँको पनि फोन उठेन। तर अहिले तिनै व्यक्ति नेताको पछिपछि हिँडेको देख्छु! लाज लाग्नुपर्दैन!’

प्रकाशित मिति: : 2025-01-29 11:15:00

प्रतिकृया दिनुहोस्