काठमाडौंको नयाँ बसपार्कमा सोमबार ३३ बर्षीया महिलामाथि बलात्कार गर्ने ९ जना विदेश जाने तयारीमा रहेका युवाहरु रहेको खुलेको छ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीले केहि विदेश जना टिकट काटेका, केहि भिषा आएर जाने तयारीमा रहेका र विदेश जानको लागि मेडिकल गर्न आएका युवाहरु भएको बताए।
‘पक्राउ परेका सबै युवाहरु वैदेशिक रोजगारीको लागि काठमाडौं आएका हुन्,’ एसएसपी गिरीले बिएल नेपाली सेवासँग भने, ‘कतिपय टिकट काटेर उड्न तयारी अवस्थामा थिए।’
महिलामाथि नयाँ बसपार्कको मित्रनगरमा रहेको एउटा होटलमा मात्रै बलात्कार नभएर ३ वटा होटमा बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पीडित महिला मंगलबार दिउँसो घाइते अवस्थामा नयाँ बसपार्कको प्रहरी प्रभागमा पुगेर आफू सामूहिक बलात्कारमा परेको भन्दै उजुरी गरेकी थिइन्।
त्यसपछि प्रहरीले उनलाई थापाथलीको प्रसूति गृहमा उपचारको लागि पठाएको थियो। अस्पतालमा उपचार भएपछि सामान्य अवस्थामा आएपछि उनीसंग प्रहरीले घटनाको जानकारी लिएको थियो।
त्यहाँबाट केहि व्यक्तिले बलात्कार गरेको जानकारी दिएपछि प्रहरीले सोमबार राति उपत्यकामा भएका क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) फुटेजको अनुन्धान गरेको थियो।
‘उहाँ (ती महिला)ले बसपार्क मात्रै भन्न सक्नुहुन्थ्यो तर कता, कुन होटल भन्न सक्ने अवस्थामा थिएन,’ एसएसपी गिरीले भने, ‘सीसीटीभीको आधारमा अनुसन्धान गरेका थियौं।’ प्रहरीले सोमबार राति ठूलो संख्यामा प्रहरी परिचालन गरेर अनुसन्धान गरेको थियो।
सीसीटीभी फुटेजमा प्रहरीले ती महिलासँग एक जना पुरुष सडकमा हिंडेर एक होटलमा गएको देखेपछि पहिलो ‘क्ल्यू’ फेला पारेको थियो।
त्यहाँबाट प्रहरीले होटलमा अनुसन्धान गर्दै जाँदा अन्यलाई पक्राउ गरेको थियो भने सीसीटीभीमा देखिएका युवालाई अन्तिममा पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीले अहिले ९ जनालाई पक्राउ गरेको छ। एक जनालाई मंगलबार बेलुका पक्राउ गरेको थियो।
प्रहरीले युवराज बडुवाल, हिक्मत नेपाली, मुगु घर भएका रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरि बुढा, अर्घाखाँची घर भएका गोपालकुमार श्रीस र अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका उनीहरुलाई म्याद थप गरेर अनुसन्धान गर्ने तयारीमा रहेको परिसर काठमाडौंले जनाएको छ।