नेकपा (माओवादी केन्द्र)को जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रस्तुत भएका प्रतिवेदनमाथिको छलफलमा सात जना उपाध्यक्ष पद राख्न नहुने सुझाव आएकाे छ।
गण्डकी प्रदेशकाे तर्फबाट देवेन्द्र पौडेलले समूहको छलफलमा आएका सुझाव बन्द सत्रमा पेश गर्ने क्रममा उक्त कुरा बताएका हुन्।
‘केन्द्रीय पदाधिकारीमा सात उपाध्यक्ष राख्दा राम्रो सन्देश जाँदैन भन्ने हाम्राे प्रस्ताव छ’, पाैडेलले भने।
त्यस्तै उनले २९९ सदस्यीय केन्द्रीय समिति निर्माणको औचित्य र आवस्यकता समेत प्रस्ट्याउनुपर्ने सुझाव आफ्नो समूहका सदस्यहरुले राखेको बताए। साथै विशिष्ट अवस्थामा बाहेक एक कार्यकालभन्दा बाहेक पदाधिकारी हुन नहुने र उमेर हद विधानमै तोकिनुपर्ने उनकाे समूहकाे सुझाव रहेकाे छ।