अमेरिकामा नेपालीको पसलमा गोली हानी लुटपाट

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

क्रिसमसको पूर्वसन्ध्यामा अमेरिकामा चोरी, डकैत र लुटपाटका घटनामा ठूलो बढोत्तरी भएको छ। यसै क्रममा लस एञ्जलसमा घटेको एक परिघटनामा एक नेपालीमाथि गोलीप्रहार भएको समाचार प्राप्त भएको छ।

सोमबार राति लेकउड, आर्टेसिया, नर्वाक र बेलफ्लावरका पाँचवटा चुरोट र भाप स्टोरमा लुटपाट हुँदा नेपालीले सञ्चालन गरेको एउटा स्टोर पनि आक्रमणको निशानामा परेको थियो। सोही स्टोरमा कार्यरत एक नेपालीमाथि लुटेराहरुले ६ राउण्ड गोली प्रहार गरेका थिए। घाइते नेपालीको स्थानीय अस्पतालमा उपचार गरिएको थियो।

तीनजनाको समूहमा आएका लुटेराहरू ग्राहक बनेर प्रवेश गरेका थिए। हुडी लगाएका उनीहरू स्टोरमा पसेपछि टाउकोमा बन्दुक तेर्स्याएर पैसा मागेका थिए। उनीहरूले हजारौ डलर पैसा र केही स्टोरमा रहेका ग्राहकका सुनको गहना पनि लुटेको पीडितहरूले बताएका छन्।  

स्थानीय प्रहरीका अनुसार लुटेराहरूले एक घण्टाभित्रमा पाँचवटा स्टोर लुटेका थिए। उनीहरूको  खोजी भैरहेको प्रहरीले जनाएको छ।

नेपाली स्टोरका सञ्चालक र आक्रमणका परेका नेपालीले परिचय नखुलाइदिन आग्रह गरेकाले उनीहरूको नाम समावेस गरिएको छैन। अमेरिकामा व्यक्तिको गोपनियतालाई हिप्पाले पूर्णत: सुरक्षाको प्रत्याभूति गरेको हुन्छ।

प्रकाशित मिति: : 2021-12-23 18:00:00

प्रतिकृया दिनुहोस्