खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान

खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको छ। खोटाङलाई पूर्वी सहरसँग जोड्ने दिक्तेल-गाईघाट सगरमाथा राजमार्ग अन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका-५ आँपटार जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको हो। गाईघाट-दिक्तेल सडक आयोजनाको ६८ लाखमा रेग्मी-भानुमती-चौधरी जेभीले मंसिर दोस्राे सातादेखि जडान सुरु गरेको अस्थायी बेलिव्रिज बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो।

हिउँदभरी सञ्चालन गर्ने र वर्षामा झिक्नेगरी फोक्सिङटारमा करिब ५० मिटर लम्बाई भएको अस्थायी बेलिब्रिज जडान गरिएको हो। ‘स्काभेटर वारपार गराएर टेष्ट गरियो। लाइट गाडी र ट्याक्टर वारपार गर्न सुरु गरेको छ,’ गाईघाट-दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर (डिई) गोपाल खकुरेलले भने, ‘भोलीबाट हेभीवेटका गाडी चल्न थाल्ने छन्।’ नदीमा पानीको वहाव बढ्न थालेपछि सो स्थानको बेलिब्रिज गत जेठमा निकालिएको थियो। 

१०१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारमा बेलिब्रिज सञ्चालनमा आएसँगै दिक्तेलबाट सिधै गाईघाट हुँदै धरान, बिराटनगर लगायतका सहर जाने दोस्राे र छोटो बाटो खुलेको छ। फोक्सिङटारमा बेलिब्रिज नहुँदा जिल्लावासी दिक्तेलबाट घुर्मी-कटारी हुँदै पूर्वी सहर आउने र जाने गरेका छन्। 

पक्की पुल निर्माणमा चरम ढिलासुस्ती 

फोक्सिङटारमा निर्माणाधिन पक्की आर्क डिजाइनको पुलको काममा ठेकेदारको चरम ढिलासुस्ती भएपछि सो स्थानमा विगत ६ वर्षदेखि बेलिब्रिज राख्ने गरिएको छ। फोक्सिङटारको पक्की पुल निर्माणकाे काममा ढिलासुस्ती भइरहेको अवस्थामा अस्थायी बेलिब्रिज राख्ने गरिएको छ।

निर्माण कम्पनी गौरी पार्वती वाईपी जेभीको ढिलासुस्तीका कारण दुई पटक म्याद गुज्रदा समेत फोक्सिङटारस्थित सुनकोसीको पक्की पुलको काम पूरा हुन सकेको छैन। म्याद गुज्रेको वर्षौ बित्दा समेत पक्की पुलको पिलर ठड्याउने काम समेत पूरा हुन नसकेको अवस्थामा फोक्सिङटारमा बेलिब्रिज राख्ने र हटाउने काममै नेपाल सरकारको वार्षिक करोडौँ खर्च भइरहेको छ।

प्रकाशित मिति: : 2021-12-17 08:54:00

प्रतिकृया दिनुहोस्