साठी वर्षदेखि बिसिएका छैनन् ज्ञानबहादुरका काँध। भारीका डाम बसेका पिठ्यूँ अब त बानी परिसके। त्याेबेला न्यूरोड पुरानै थियो। ज्ञानबहादुरहरू भारी त्यहीबेलादेखि बोकिरहेका छन्, अब त त्यो ‘न्यू-रोड’ बनिसक्याे। भारीका डामहरू उस्तै पुराना भइसके। मजदुरीमै जीवन बिताइसकेका ज्ञाबहादुरहरूलाई ‘मजदुर’ हाेस् या अरु, कुनचाहिँ ‘दिवस’ले पाे छुन्छ र!
आफ्नो नामजस्तै ज्ञानी छन्, ७५ वर्षीय ज्ञानबहादुर भण्डारी।
कहिल्यै रिसाउँदैनन्, कसैको कुभलो सोच्दैनन्, खुलेर बोल्छन् अनि आफूले सकेको सहयोग गर्छन्। त्यही गुणको कारण न्यूरोड बजारमा उनी परिचित छन्।
भण्डारीका दौँतरीदेखि ग्राहकहरूले समेत उनलाई ‘ज्ञानी बुबा’ भनेर बोलाउँछन्। जुन उपनाम अहिले उनको पहिचानजस्तै बनेको छ।
ज्ञानबहादुरले न्यूरोडसँग मित्रता गाँसेको ६ दशक भयो।
१४ वर्षको उमेरदेखि भारी बोक्न थालेका थिए ज्ञानबहादुरले। त्यही पनि २० पैसामा। ‘एकपटक भारी बोकेको २० पैसा दिन्थ्यो। दिनभरि काम गर्दा २२ रुपैयाँ कमाउँथेँ’, उनले सुनाए।
दिनभरि कमाएको २२ रुपैयाँले उनलाई खान र बस्न पुग्थ्यो तर अहिले दिनको हजार रुपैयाँले पनि पेट पाल्न धौ–धौ हुन्छ।
‘उतिबेला पैसा महँगो थियो। तीन मोहरले पेटभरि खान पुग्थ्यो तर अहिले पैसा सस्तो भयो’, उनले भने, ‘हजार रुपैयाँ साट्नेबित्तिकै सकिन्छ।’
हुन त अहिले समय फेरिएको छ। र, न्यूरोडको मुहार पनि।
आजभन्दा ६० वर्षअघि सुनसान थियो न्यूरोड बजार। अहिलेजस्तो छ्यापछ्यापी घर बनेको थिएन। फाटफुट थिए पसलहरू। तिनै पसलहरूमा भरियाको अभाव खड्किन्थ्याे।
०००
धादिङका ज्ञानबहादुर घरका जेठो छोरा थिए। उनीमुनि भाइबहिनी थिए। बुबाआमा खेती–किसानी गर्थे। दुई छाक टार्न भण्डारी परिवारलाई मुस्किल थियो।
घरको आर्थिक स्थिति राम्रोसँग बुझेका थिए ज्ञानबहादुरले। त्यसैले उनी पनि बुबाआमालाई सघाउन चाहन्थे। दुई–चार पैसा भएपनि कमाउन चाहन्थे। तर उनीसँग न काम थियो, न त पढाइ नै।
६ दशकअघि भण्डारीको गाउँमा स्कुल बनेको थिएन। बनेको हुँदो हो त स्कुल पढाउने सामर्थ्य उनको परिवारसँग थिएन। उनमा पढ्छु भन्ने सोचाइ पनि कहिल्यै आएन। सधैँ काम गरेर परिवार पाल्ने सपना मात्र देखिरहे।
एकदिन ज्ञानबहादुरलाई गाउँका साथीले काठमाडौँ जाने प्रस्ताव राखे। उतै गएर काम गरेर पैसा कमाउने बताए। तिनै साथीको संगतमा लागेर भण्डारीले पनि काठमाडौँ जाने योजना बनाए।
वि.स २०२० सालमा त्रिशूली नदीको तुइन तरेर पहिलोपटक काठमाडौँ पसेका थिए ज्ञानबहादुर। दुई दिनको पैदलयात्रा तय गरेर झोलामा चामल र तरकारी बोकेर।
‘त्योबेला गाडी थिएन। हिँडेर आउनुपर्थ्यो। बाटोमा भोक लाग्छ भनेर झोलामा चामल र दाल बोकेर ल्याउँथ्यौँ अनि बाटोमा पकाएर खान्थ्यौँ’, काठमाडौँ आउदाँको दुखबारे उनले सुनाए।
काठमाडौँ आइसकेपछि उनी कालीमाटीको एक होटलमा बसे। त्यही पनि सित्तैमा।
‘गाेजी रित्तो थियो तर होटलमा हामीलाई पैसाबिना बस्न दिइयो’, उनले भने, ‘हामी त्यही होटलमा खाना किनेर खान्थ्यौँ। त्यसैले होटेलले बस्न दिएको थियो।’
घरको दुख सम्झिएर पैसा कमाउने सपना बोकेर राजधानी छिरेका थिए भण्डारी। त्यही पैसा कमाउने हुटहुटीले उनलाई भरिया बनायो।
उनीसहित गाउँका ८ जना ठिटा न्यूरोड बजारका पहिलो भरिया बने।
‘हामी काठमाडौँ आउँदा न्यूरोडमा कुनै पनि भरिया थिएन’, न्यूरोड बजार देखाउँदै उनले भने, ‘यो ठाउँको पहिलो भरियाहरू नै हामी धादिङे हौँ।’
न्यूरोडमा भण्डारी महिना दिनसम्म काम गर्थे अनि दुई–तीन सय रुपैयाँ बोकेर घर जान्थे। आफूले कमाएको पैसा बुबाआमाको हातमा थमाउँथे। केही दिन घरकाे बसाइँपछि उनी फेरि काठमाडौँ फर्किन्थे।
गाउँ र काठमाडौँ गर्दै बितिरहेको थियो ज्ञानबहादुरको दिनचर्या। तर बुबाआमालाई छोराको विवाहको पीरले सताउन थाल्यो। उनलाई बाआमाले विवाहको प्रस्ताव राखे। आमाबुबाको कुरा मान्दै उनले नुवाकोटकी फुलमाया भण्डारीसित विवाह भयो।
उनीभन्दा पाँच वर्ष कान्छी थिइन् श्रीमती। तर घरधन्दा सम्हाल्न सिपालु थिइन्। बुबाआमा दिनभरि खेतीपाती सम्हाल्थे अनि फुलमाया घरको काम।
फुलमायासँग विवाह गरेकाे केही दिनपछि उनी काठमाडाैँ फर्किए। श्रीमतीलाई बुबाआमाको साथमा छाडेर।
‘काठमाडौँमा ल्याएर श्रीमतीलाई कहाँ राख्न सक्थेँ र? त्यसैले बुबाआमाको लागि साथी हुन्छ भनेर गाउँमै छाेडिदिएँ। बेलाबखतमा भेट्न जान्थेँ’, उनले बिएल नेपाली सेवालाई बताए।
विवाह गरेको केही वर्षपछि फुलमायाले छाेरी जन्माइन्। त्यसपछि छोरा जन्मिए अनि कान्छी छोरी भइन्। तीन सन्तानका बुबाआमा बनेका थिए ज्ञानबहादुर र फुलमाया।
छोराछोरीको अभिभावक बनेका थिए। असल श्रीमती थिइन्। धेरथाेर भएपनि आम्दानी थियाे। खुसी थियाे परिवार।
जिन्दगीमा अरू के चाहिन्थ्याे र!
आफूले पढ्न नआएपनि उनले छोराछोरीलाई शिक्षित बनाएका थिए। त्यही पनि तीनै जना छोराछोरीलाई।
‘त्योबेला छोरालाई मात्र पढाउने चलन थियो। छोरीलाई पढाउनु हुँदैन भन्थियो तर मैले दुइटै छोरीहरूलाई पढाएँ’, उनी भन्छन्, ‘मेरो लागि छोराछोरी उस्तै थियो।’
छोराछोरीको माया र श्रीमतीको साथ पाएर खुसी थिए ज्ञानबहादुर। उनलाई जिन्दगीसँग कुनै गुनासो थिएन।
तर जिन्दगीमा सधैँ खुसी भइरहन त कहाँ सकिँदो रहिछ र! उनको खुसी पनि हराएर गयो, कहिल्यै नफर्किन बाटो।
बुबाआमालाई गुमाइसकेपछि उनको लागि अभिभावकजस्तै थिइन् फुलमाया। उनलाई सम्झाउँथिन्, माया गर्थिन् अनि हौसला पनि। उनको जिउने आधार नै श्रीमती फुलमाया थिइन्।
तर उनको श्रीमती २०७१ सालमा नमज्जाले थला परिन्। ‘दम’को बिरामी भइन् फुलमाया। उपचारका लागि ज्ञानबहादुरले श्रीमतीलाई काठमाडौँ ल्याए। त्यसपछि बल्खुको एक अस्पतालमा भर्ना गराए।
अस्पताल ल्याएपछि उनको मनमा आशा पलाएको थियो, अब त श्रीमती निको हुन्छिन् कि!
आफ्नोभन्दा धेरै माया लाग्ने श्रीमतीको उपचारका लागि उनले जीवनभर कमाएर बचत गरेको नौ लाख रुपैयाँ खर्चिए। तर अपसोच बच्न सकिनन् फुलमाया।
अस्पताल भर्ना गरेको ८ दिनपछि दमकी बिरामी फुलमायाको मृत्यु भयो। श्रीमतीको मृत्युले उनी छटाहा भए। दुनियाँ उनको लागि रंगहीन बन्यो।
‘यदि रोएर मरेको मान्छे फर्किन्थे भने मेरी श्रीमती आज मेरो साथमा हुन्थिन्’, स्वर्गीय श्रीमतीलाई सम्झिएर भावुक हुन्छन् ज्ञानबहादुर।
श्रीमतीको मृत्युपछि बिरानो बन्यो उनको लागि गाउँ। त्यसपछि उनी काठमाडौँमा नै रमाउन थाले। ‘गाउँमा बस्न मन लाग्दैन, त्यसैले धेरैजस्तो सहरमा बस्ने गरेको छु’, उनी सुनाउँछन्, ‘अब यहीँ मर्छु।’
अहिले तीनै जना छोराछोरी लाखापाखा लागिसकेका छन्। बुबाबाट उनी हजुरबुबा भइसकेका छन्।
‘जेठी छोरीको नातिनातिना छन्, मेरो पनातीहरू छन्’, हाँस्दै उनी भन्छन्, ‘छोराछोरीको भन्दा धेरै नातिनातिनाको माया लाग्छ।’
श्रीमतीको मृत्युले बदलिएका ज्ञानबहादुर
श्रीमतीको मृत्यु भएको एक दशक भयो। तर अझै पनि उनको यादमा रुने गर्छन् ज्ञानबहादुर। उनी भन्छन्, ‘अब त के याद गर्नू। मलाई छाडेर गइहालिन्।’
श्रीमती भइञ्जेल उनले भारी बोकेर कमाएको पैसा जमाएर राखे। तर अहिले उनलाई पैसाकाे कुनै मतलब लाग्दैन। बस! खान पाए हुन्छ।
‘अब, कसको लागि बचत गर्ने?’, उनी भन्छन्, ‘सबै जना आफ्नो बाटो लागिसकेका छन्। मलाई एक छाक खान पाए हुन्छ।’
७४औँ वसन्त पार गरिसकेका ज्ञानबहादुरलाई अहिले कर्कलाको पानीजस्तै लाग्छ, जिन्दगी। जतिखेर पनि पोखिन सक्ने। त्यसैले उनी बाँचुन्जेल रमाउन चाहन्छन्।
तर बिडम्बना, फुलमायाको मृत्युले छाएको अन्धकार उनको मुहारबाट अझै हट्न सकेको छैन। उनी सम्झन्छन्, ‘म अन्तिम पटक पनि श्रीमतीसँग रमाएको थिएँ।’
६ दशकदेखि न्यूरोडलाई आफ्नो कर्मथलो बनाएका ज्ञानबहादुरको थाप्लो गलिसकेका छन्, भारीको चाङहरूले। तर अझैपनि उनमा आत्मविश्वास छ, ‘आफैँ गरेर खान सक्छु।’
जन्मिएर अहिलेसम्म अस्पताल भर्ना नभएका उनी भन्छन्, ‘भगवानको कानमा नपरोस् तर म अहिलेसम्म अस्पताल जान परेको छैन। कहिलकाहीँ ज्वरो आउँदा र टाउको दुख्दा सिटामोल खाएर पचाएको छु। त्यसैले अझै काम गर्न सक्छु।’
च्यातिएको सर्ट, थोत्रो स्टकोट र हाफ सुरुवाल लगाएर भारी बोक्ने उनलाई छोराले गाउँमै बस्नका लागि बोलाइरहन्छन्। तर उनी मान्दैनन्।
सानैदेखि काम गर्ने बानी परेका उनी काम गर्दागर्दै संसार त्याग्न चाहन्छन्। ‘छोराछोरीहरूले गाउँ बस्नु भनेर धेरै पटक भनिसके तर मलाई गाउँ बस्ने मन छैन। काम गर्ने बानी भइसक्यो। काम नगरिकन बस्नै सक्दिनँ’, उनी भन्छन्, ‘बुढो भइसकेँ। छोराबुहारीले केही भन्दापनि चित्त दुखिहाल्छ। त्यसैले आफैँले कमाएर खान्छु।’
चाडपर्वको बेला गाउँघर पुग्ने गर्छन् उनी। आफूले भारी बोकेर कमाएको पैसा आफ्नो नातिनातिनालाई खर्चिन्छन् अनि वृद्ध भत्ता छोराछोरीलाई। ‘अब मलाई पैसाले के गर्नु छ र?’, उनले भने, ‘छोराछोरीलाई भत्ता दिँदा मनमा आनन्द हुन्छ।’
छोराबुहारीसँगको सुखमय जीवन त्यागेर काम गर्नमा पोख्त रहेका उनी बिहान ८ बजेदेखि साँझको ७ बजेसम्म न्यूरोडमै हुन्छन् अनि रातिको ९ बजेतिर घर पुग्छन्।
‘कोठाभाडा महिनाको हजार रुपैयाँ तिर्ने गरेको छु। खाना पकाउँदिनँ, सुत्नको लागि एकजना मात्र अटिने सानो कोठा छ।’, स्वयम्भूमा भएको डेराबारे उनले बताए।
साताको सातै दिन उनी काम गर्छन्। घर बस्नलाई उनको मन मान्दैन। भण्डारी भन्छन्, ‘छुट्टी बसेँ भने मलाई कसले खान दिन्छ?’
ज्ञानबहादुरले न्यूरोडमा भारी बोक्न थालेको ६ दशक कटिसकेको छ तर अहिलेसम्म उनले मजदुर दिवस मनाएका छैनन्।
‘मजदुर दिवस भनेको धनीहरूको लागि हो’, उनी भन्छन्, ‘हामीजस्तो दिनमा कमाएर रातमा खानेको लागि के को मजदुर दिवस हुन्छ र? काम नपाएको दिन हाम्रो मजदुर दिवस हुन्छ।’
उमेरले डाँडाकाे घाम भइसकेका ज्ञानबहादुरलाई अहिले कोहीसँग रिस र डाहा छैन। तर उनलाई आफ्नो नाम्लासँग भने खुबै प्रेम छ।
श्रीमतीले छाडेर गएपछि उनको लागि सहारा बनेको छ, डोरी र बोराले बनेको नाम्लो। जसलाई बोकेर उनी न्यूरोडका चक्कर लगाइरहेका छन्।