कविता

माैन आवाजका चार शक्तिशाली कविता

मौन आवाज

काठमाडौँ
Breaknlinks
Breaknlinks

१.संसारका सबै जनताहरु मूर्ख हुन्छन् 
---

संसारका सबै जनताहरु मूर्ख हुन्छन् !

तिनीहरु बाँचेका हुन्छन् एउटा मसिनो धागोको पिँजडामा
तिनीहरु निस्सासिएका हुन्छन् आफ्नै मृत श्वासहरुमा।

तिनीहरुलाई जीवनको जीवन्तता थाहा हुँदैन
तिनीहरुलाई समयको अनन्तता थाहा हुँदैन।

तिनीहरु बुख्याँचा झैं खडा भइरहेका हुन्छन् 
भूगोलको एउटा गतिहीन कुनामा !

तिनीहरुलाई लोकतन्त्रको फाइदा थाहा हुँदैन
स्वतन्त्रताको अर्थ थाहा हुँदैन 
जसलाई फाइदा थाहा हुँदैन 
उसलाई नोक्सानी थाहा हुँदैन।

तिनीहरुलाई श्रमको उचित ज्याला थाहा हुँदैन
जमिनमाथिको नियन्त्रण थाहा हुँदैन
पसिनाको मौलिक आन्दोलन थाहा हुँदैन।

- संसारका सबै जनताहरु मूर्ख हुन्छन्  !

तिनीहरुलाई वस्तु विनिमयको सिद्धान्त थाहा हुँदैन
तिनीहरुलाई बैंकिङ पद्धति थाहा हुँदैन
मुद्रा प्रचलनको सुनियोजित डिजाइन थाहा हुँदैन।

तिनीहरुलाई महंगो गाडीको मूल्य थाहा हुँदैन
शेयर बजारको उकालो / ओरालो थाहा हुँदैन 
आपूर्ति / निकासी केही थाहा हुँदैन।

तिनीहरुलाई युद्धले उपभोग गर्ने अमानवीय सार थाहा हुँदैन 
रोटीको लागि बिछ्याइएको कानून र न्यायिक जालसाजी थाहा हुँदैन।

तिनीहरुलाई पूँजीको रुप / रंग र / उत्पत्तिको रहस्य थाहा हुँदैन।

तिनीहरुलाई नोकरशाही व्यवस्थाले निर्माण गर्ने विविध
प्रपञ्च / परिकल्पना र / षड्यन्त्र थाहा हुँदैन।

ठूला ठूला मिडियाहरुले छाप्ने समाचारहरुबारे 
सर्वोच्च अदालतहरुले दिने फैसलाहरुबारे 
राजनीतिक दलहरुले जारी गर्ने चुनावी घोषणा - पत्रहरुबारे 
पुलिस र / सेनाहरुले गर्ने मनोवैज्ञानिक दमनहरुबारे
निजामती कर्मचारहरुले दिने दैनिक यातनाहरुबारे 
संसारका जनताहरुलाई केही थाहा हुँदैन।

- संसारका सबै जनताहरु मूर्ख हुन्छन्  !

तिनीहरुलाई ऐतिहासिक घटनाक्रमहरुको विवरण
थाहा हुँदैन
कालगत कुटनीतिक दाउपेच र / शिलशिला थाहा हुँदैन।

आफ्नै पूर्खाको  मासु /  हड्डी / छाला र /
रौंहरु भाग लगाएर बेच्ने 
कथित व्यवस्थाको स्वरुप थाहा हुँदैन 
क्रुर तानाशाहहरुको सनक थाहा हुँदैन।

- संसारका सबै जनताहरु मूर्ख हुन्छन् !

तिनीहरुलाई बुर्जुवा वर्गको खेल थाहा हुँदैन
पूँजीपति लगानीकर्ताहरुको स्वार्थ थाहा हुँदैन
तिनीहरुलाई उद्योग / कम्पनी / व्यापार केही थाहा हुँदैन।

तिनीहरुलाई ठेक्का / टेण्डर / कमिशन केही थाहा हुँदैन
दलाली / गुलामी / गुण्डागर्दी केही थाहा हुँदैन 
तिनीहरुलाई प्रचलित नियमहरु केही थाहा हुँदैन।

- संसारका सबै जनताहरु मूर्ख हुन्छन् !

तिनीहरुलाई आफ्नै मगजको उत्तेजना थाहा हुँदैन
आफ्नै हृदयको संवेदना थाहा हुँदैन।

तिनीहरुलाई आगोको राप थाहा हुँदैन
गहिरो धाप थाहा हुँदैन।

तिनीहरुलाई पृथ्वीको गोलाइ थाहा हुँदैन
आफ्नै पीडाको चौडाई थाहा हुँदैन।

तिनीहरुलाई थाहा हुँदैन - केहीपनि थाहा हुँदैन !

तिनीहरुलाई समाजवादी संविधानको अन्तिम परिच्छेदमा 
उल्लेख गरिएको आफ्नै अस्तित्वमाथिको 
विभेद थाहा हुँदैन।

इतिहास / स्मृति र / क्रान्तिको चेतनाबाट च्यूत गराइएका
दुर्वल जनताहरुलाई केही थाहा हुँदैन।

हो /
संसारका सबै जनताहरु मूर्ख हुन्छन् !

बाँच्नुको भ्रममा -
दासताको जन्जिरलाई जीवनको उच्च प्राप्ति ठान्ने 
संसारका सबै जनताहरु मूर्ख हुन्छन् !

२. जात
---
म शून्य हूँ -
अर्थात् एक आरम्भ - एक जात हुँ !

म विन्दु हुँ -
अर्थात् एक परिचय- एक जात हुँ !

म रेखा हुँ - 
अर्थात् एक उपस्थिति - एक जात हुँ !

म एक कोण हुँ -
अर्थात् एक दृस्टीकोण - एक  जात हुँ !

म अंक हुँ -
अर्थात् एक गणना - एक जात हुँ !

म अक्षर हुँ -
अर्थात् एक सत्य - एक जात हुँ !

म / कतै न कतै एक चित्र हुँ
म / कतै न कतै एक संगीत हुँ
म / कतै न कतै एक काव्य हुँ
म / कतै न कतै एक सृजना हुँ 

- अर्थात् म एक जात हुँ !

हुन त -
म प्राचीन भाषा 
आदिम आवाज
र / सनातन दृश्य हुँ !

हुन त -
म सबैको साझा व्याकरण हुँ -
अर्थ हुँ -
अस्तित्व हुँ !

म माछा हुँ
भ्यागुतो हुँ
गड्यौला हुँ
कीरा हूँ / फट्याङ्ग्रा हुँ !

म हात्ती हुँ
घोडा हुँ
सिंह हुँ 
मूसा हुँ
अर्थात् एक जात हुँ !

म रुख हुँ
माटो हुँ
ढुङ्गा हुँ !

म हावा हुँ
घाम हुँ
पानी हुँ
अर्थात् एक जात हुँ ! 

म जड्
गतिशिल 
र / स्थिर सबै हुँ !

म प्रक्रिया 
र / विकास दुवै हुँ !

म संस्कृति
सभ्यता
र / पहिचान सबै हुँ !

म नेवार 
जनजाती
क्षेत्री 
ब्राह्मण सबै हुँ !

म आर्य / अनार्य सबै हुँ !

म भौतिक - धार्मिक र / अध्यात्मिक सबै हुँ !

म विविध तत्वको एक पदार्थ हुँ
म अनेक रूपको एक रूप हुँ !

 म ब्रह्माण्ड हुँ 
अर्थात् एक जात हुँ !

म कालो
सेतो 
र / गहुँगोरोको समिश्रण हुँ !

म दुःख 
पीडा र / आँसुको एक जात हुँ !

म उत्पीडनको एक जात हुँ 
म दलनको एक जात हुँ !

- म आन्दोलनको एक जात हुँ !

- एकएक जोड्दै म सबै जात हुँ !

यद्यपि -
म सबै जातले अस्वीकार गरेको एक जात हुँ !

हुन त -
म मान्छे कै जात हुँ !

३.हामी दलाल व्यवस्थाभित्र बाँचिरहेका छौं
---
हामी जकडिरहेका छौं 
दलाल पञ्जाहरुमा।

हामी थुनिएका छौं 
दलाल चिन्तनको पिँजडाभित्र।

हाम्रा मुक्ति सम्बन्धी पखेटाहरु
कुँजिएक छन्।

हाम्रा स्वतन्त्रता सम्बन्धी आन्दोलनहरु
बिरामी परेर थलिएका छन्।

हामी हिँडिरहेका त छौं 
तर / कतै पुगिरहेका छैनौं।

हामी सोचिरहेका त छौं 
तर / केही सोच्न सकिरहेका छैनौं।

हामी बोलिरहेका त छौं
तर / केही बोल्न सकिरहेका छैनौं।

हाम्रो स्नायु प्रणाली
दलाल सिस्टमले अपहरण गरेको छ।

हाम्रो भावना एवम् संवेदना प्रणाली
दलाल सिस्टमले अपहरण गरेको छ।

हाम्रो सोचाइको निर्बन्ध आकाशमाथि
दलाल गुप्तचरहरुको ड्रोन उडिरहेको छ।

हाम्रा समाजवाद सम्बन्धी संविधानहरु 
हाम्रा समानता सम्बन्धी प्रस्तावहरु
हाम्रा न्याय सम्बन्धी दर्शनहरु 
हाम्रा मानवता सम्बन्धी स्वघोषणाहरु
दलालहरुको नियन्त्रणमा छ।

हाम्रो सामूहिक सपना 
दलालहरुको कब्जामा छ।

हाम्रो राष्ट्रिय योजना 
दलालहरुको कब्जामा छ।

हाम्रो स्वाधीनता 
हाम्रो आत्म - सत्ता दलालहरुको कब्जामा छ।

हाम्रो आँसु र / उमंग 
दलालहरुको कब्जामा छ।

हाम्रो श्रम र / पसिना
दलालहरुको कब्जामा छ।

हाम्रो पहिचान र / संस्कृति 
दलालहरुको कब्जामा छ।

हामी दलालहरुको विशाल व्यूह - रचनाभित्र
कैद भइरहेका छौं !

हामी दलालहरुको सामान बेचिरहेका छौं
हामी  दलालहरुको सामान किनिरहेका छौं।

हामी दलालहरुका लागि उठिरहेका छौं
हामी दलालहरुका लागि सुतिरहेका छौं।

हाम्रो दैनिकी दलालहरुले स्थापना गरेको
दलाल अर्थतन्त्रको कारोबारमा वितिरहेको छ।

हाम्रो जिन्दगी दलालहरुले तय गरेको 
दलाल मार्गमा अलपत्र परिरहेको छ।

हाम्रा हप्ताहरु 
दलालहरुले चलारहेका छन्।

हाम्रा महिनाहरु
दलालहरुले चलाइरहेका छन्।

यसरी - 
वर्षौं वर्ष दलालहरुले चलाइरहेको 
व्यवस्थाभित्र हामी बाँचिरहेका छौं।

हो -
हामी दलाल व्यवस्था भित्र बाँचिरहेका छौं !

४. भीड
---

कृपया भीडतिर नजानुहोस् !

भीड -
असंख्य उत्तेजना र कुण्ठाले निर्माण भएको हुन्छ।

भीड -
जड् चिन्तन र अस्थिर मनस्थितिले निर्माण भएको हुन्छ।

हेर्दा -
बहुल विचारको पुञ्ज जस्तो देखिएपनि
भीड एक्लो र वेवारिसे हुन्छ।

हेर्दा -
जीवन्त र गतिशील जस्तो देखिएपनि
भीड निर्जीव हुन्छ।

भीड -
संवादै संवादको संवादहिनता हो।

भीड -
असंख्य हल्लाहरुको एकल मौनता हो।

भीड -
अस्तित्वको अमूर्त अवसान हो।

भीडको आफ्नो अनुहार हुँदैन 
भीडको आफ्नो पहिचान हुँदैन।

हेर्दा -
रोमाञ्चक देखिएपनि
भीड निरस हुन्छ।

हेर्दा -
स्वतन्त्र र सार्वभौम देखिएपनि 
भीड पराधीन र पराश्रित हुन्छ।

भीड -
बाढी - पहिरो र / भूकम्प जस्तै हुन्छ 
भोक - रोग -  र / प्रकोप जस्तै हुन्छ !

भीड -
मान्छेहरुका लागि 
अत्यन्त खतरनाक हुन्छ।

- कृपया भीडतिर नजानुहोस्  !

किनकि -
भीडले भीडलाई कुल्चेर मार्ने गर्छ !

प्रकाशित मिति: : 2021-07-10 11:16:00

प्रतिकृया दिनुहोस्