नेपाली कांग्रेस महामन्त्रीमा पराजित भएका डा. मिनेन्द्र रिजालले आफ्नो स्वविवेकले रक्षामन्त्रीबाट राजीनामा दिएको बताएका छन्।
बिहीबार मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै उनले महामन्त्रीमा पराजित हुने निश्चित भएपछि नैतिकताको आधारमा स्वविवेकले रक्षामन्त्रीबाट राजीनामा दिने निर्णय गरेको बताए।
रक्षामन्त्रीबाट राजीनामा दिने विषयमा कसैसँग छलफल र सल्लाह नगरेको उनको भनाइ छ।
जबरस्ती पदमा बसिरहने आवश्यक नठानेको र सार्वजनिक जीवनमै रहने रिजालले बताए। ‘जबर्जस्ती घसेटेर पदमा बसिरहने आवश्यक ठानिनँ,’ उनले भने, ‘म सार्वजनिक जीवनमै रहनेछु। राजनीतिमा वा कहाँ भन्नेकुरा पछि थाहा हुनेछ।’
आफू पराजित हुने गरी आएको परिणाम सहजै स्वीकारेको बताएका उनले सोच विचार गरेर रक्षामन्त्रीबाट राजीनामा दिएको पनि दोहोर्याए।