सुदूरपश्चिमका एमाले नेतामाथि रास्वपा कार्यकर्ताले किन गरे दुर्व्यवहार?

Break n Links
Break n Links

सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता राजेन्द्रसिंह रावलमाथि रास्वपा कार्यकर्ताले दुर्व्यवहार गरेका छन्।

कञ्चनपुरको महेन्द्रनगरबाट धनगढी जाने क्रममा दैजी चोक भन्ने ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले रावल सवार गाडी रोकेर दुर्व्यवहार गरेका रावलका स्वकीय सचिव राजबहादुर चन्दले बताए।

चन्दले विज्ञप्ति निकाल्दै रास्वपाका कार्यकर्ताले गाडी रोकेर चालकलाई गालीगलौज, हातपातको प्रयास र गाडी तोडफोड गर्न खोजेका दाबी गरेका छन्। उनले उक्त घटनामा संलग्नहरूलाई कारबाहीको माग पनि गरेका छन्।

भएको के थियो?

शनिबार सार्वजनिक बिदाको दिन पूर्वमुख्यमन्त्री रावल सरकारी गाडीमा महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै थिए। शनिबार सरकारी गाडी व्यक्तिगत काममा प्रयोग गर्न नपाउने भन्दै रास्वपा कार्यकर्ताहरूले गाडी रोकेका थिए।

रावलको स्वकीय सचिवले बिदाको दिन प्रदेश सभा सचिवालयबाट अनुमति लिएर सवारी चलाइरहेको अवस्थामा योजनाबद्ध ढंगले बाटो छेकेर दुर्व्यवहार गरिएको दाबी गरेका छन्।

चन्दले सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरीले अराजक समूहको अगाडि निरिहता देखाएको आरोप पनि लगाएका छन्। र, घटनाको छानबिन गर्न माग गरेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पूर्व मुख्यमन्त्रीमाथि दुर्व्यवहार भएको घटनामा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। तर, केही सोधपुछपछि उनलाई परिवारको जिम्मा लगाएको थियो।

प्रकाशित मिति: : 2025-01-26 11:40:00

प्रतिकृया दिनुहोस्