नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी अनेरास्ववियु क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनबाट नेतृत्व छनोटका लागि शनिबार भएको निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ।
निर्वाचन समितिले दिएको जानकारीअनुसार तीन प्रदेशमा अध्यक्ष पदको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ।
अखिल स्रोत भन्छ– अध्यक्ष पदमा माओवादी उपमहासचिव शक्ति बस्नेत र जनार्दन शर्मा समूहबीच कडा टक्कर छ। त्यसो त वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तेस्रो स्थानमा छ भने, अर्का उपमहासचिव वर्षमान पुन समूहले देशभर कमजोर प्रदर्शन गरेको छ।
सार्वजनिक नतिजाअनुसार शक्ति बस्नेत समूहका विजयप्रकाश शर्मा सापकोटाले अग्रता बनाइरहेका छन्। दोस्रोमा जनार्दन समूहका हेमन्त राई, तेस्रोमा नारायणकाजी समूहका उपदेश यादव र चौथोमा वर्षमान समूहका सुदीन पौडेल छन्।
सापकोटाले हालसम्म ४५३ मत, राईले ३९९ मत यादवले १६८ र पौडेलले १४२ मत पाएका छन्।
लुम्बिनी प्रदेशमा अध्यक्ष पदका उम्मेदवार विजयप्रकाश शर्माले सबैभन्दा बढी ८७ मत पाएका छन्। अर्का अध्यक्षका उम्मेदवार ६६ मत पाएका छन्। यसैगरी सुदिन पौडेलले २२ मत पाउँदा उपदेश यादवले जम्मा १० मत पाएका छन्।
यस्तै, कर्णाली प्रदेशमा अध्यक्ष पदको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा सापकोटा र राईबिच कडा प्रतिस्पर्धा देखिएको छ। राईले ८२ मत पाउँदा सापकोटाले ८० मत पाएका छन्।
पौडेलले ८ मत ल्याउँदा यादवले ५ मत पाएका छन्।
यता कोशी प्रदेशमा अध्यक्ष पदको मतगणना अन्तिम चरणमा पुगेको छ । पछिल्लो जानकारी अनुसार यहाँ राई सबैभन्दा अगाडि छन्। २२० मत गणना हुँदा राईले ११६ मत पाएका छन्।
सापकोटाले ४९, यादवले ३५ र पौडेलले जम्मा १८ मत पाएका छन्।