नेपालमा पनि भेटियाे कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

File photo
File photo

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिएका छन्। 

दक्षिण अफ्रिकाबाट आएका दुई जनाको नमुना संकलन गर्दा ओमिक्रोन ​भेरियन्टको सङ्क्रमण भेटिएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

सोबारे जानकारी दिन मन्त्रालयलले अहिले पत्रकार सम्मेलन गरिरहेको छ।

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन्।

ओमिक्रोन भेरियन्ट सङ्क्रमण भएको दुवैजनाले कोरोनाविरुद्धको खोप लगाएका थिए।

विदेशी नागरिक त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका थिए। नेपाल आउँदा पीसीआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पूरा गरेको पाइएको थियो।

उनीहरुमा कोभिड-१९ सँग मिल्दाजुल्दा लक्षणहरु देखिएको थियो। त्यसपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ विधिबाट परीक्षण गर्दा  मंसिर १९ गते ओमिक्रोन नेपालमा पहिलो पटक पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल दुवै जना सरकारले तोकेको मापदण्ड अनुसार आइसोलेसनमा छन्। उनीहरुमा कुनै लक्षणहरु नदेखिएको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ।

ती दुई व्यक्तिहरुसँग सम्पर्कमा आएका ६६ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दा सबैको नतिजा नेगेटिभ आएको र सबै स्वस्थ रहेको पाइएको छ।

नेपालको निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिंगको कार्यलाई थप प्रभावकारी बनाइएको छ। 

कोभिड–१९ का अरु भेरियन्ट जस्तै ओमिक्रोनको संक्रमणबाट बच्न पनि जनस्वास्थ्यका सबै मापदण्डहरुको पालना (मास्कको सही प्रयोग, भौतिक दुरी कायम गर्ने, भिडभाड नगर्ने तथा हात धुने कार्य, हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने) र खोपको प्रयोग महत्वपूर्ण हुने भएकोले सबैमा मापदण्डको पालना गर्न र खोप अभियानमा सहभागिता हुन मन्त्रालयले आग्रह गरेको छ। 

पहिलो पटक २४ नोभेम्बर २०२१, दक्षिण अफ्रिकामा पुष्टि भएको ओमिक्रोन हालसम्म विश्वका ३५ देशहरुमा फैलिसकेको छ। जसबाट ५७४ जना संक्रमित देखिएका छन्।

  

 

 


 

प्रकाशित मिति: : 2021-12-06 13:30:00

प्रतिकृया दिनुहोस्