अबेर राति ‘बर्थडे पार्टी’मा केक खाएपछि ओलीको स्वास्थ्यमा समस्या

प्रधानमन्त्री केपी शर्मा ओली दुई दिनदेखि अस्वस्थ भएर बालुवाटारमै आराम गरिरहेका छन्।

दुई दिनदेखि बाहिर ननिस्किएका ओलीले पूर्व निर्धारित सबै कार्यक्रमहरू रद्द गरिरहेका छन्। आज शुक्रबार पनि ओलीको दिनभरका सबै कार्यक्रमहरू रद्द भएका छन्।

प्रधानमन्त्री ओली आज सिद्धबाबा सुरुङ्ग ब्रेक-थ्रुका लागि पाल्पा जाने कार्यक्रम थियो। तर, स्वास्थ्यमा सुधार नभएपछि प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट सुरुङ ब्रेक-थ्रु गर्दैछन्।

के भएको थियो ओलीलाई?

चिसोका कारण घाँटीमा समस्या भएपछि बुधबारदेखि ओली प्रधानमन्त्रीको सरकारी निवासमै आराम गरिरहेका छन्। प्रधानमन्त्रीको स्वर भासिएको र क्रमशः सुधार भइरहेको सचिवालयले जनाएको छ।

सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मंगलबार बेलुका बालुवाटारमै एमाले सचिवालय बैठक डाकेर बामदेव गौतमलाई पार्टी प्रवेश गराउने विषयमा छलफल गरेका थिए। 

बैठकपछि ओली राती दुई बजेसम्म एउटा जन्मदिन पार्टीमा सरिक भएका थिए। चिसो मौसममा अबेर रातिसम्म जाग्राम रहेका ओलीले बर्थडे पार्टीमा केक खाएपछि चिसोले सताएको र स्वर भासिएको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: : 2025-01-24 14:01:00

प्रतिकृया दिनुहोस्