बेलायतमा नेपालीहरूको सबैभन्दा सघन बसोबास भएको शहर अल्डरसटमा सुम्निमा ज्वेलरी एण्ड कलेक्सन नामको सुनचाँदीको नयाँ सोरुम खुलेको छ।
पछिल्लो समय बेलायतमा स्थायी रुपमा बसोबास गर्न थालेका गायक श्याम सामसोहाङ राईले अर्का गायिका जानुका राईसँग मिलेर उक्त व्यवसाय सुरु गरेका हुन्।
बेलायतस्थित अल्डरसटमा नेपालीज् ज्वेलरी एसोसियसन र आदिवासी जनजाती महासंघका अध्यक्ष मेजर रिटायर्ड योगेश कोयी राईको प्रमुख आतिथ्यतामा ह्याप्सायर काउण्टीका काउन्सिलर बिल ओ डोनाभान तथा चर्चित नायिका तथा नाटयकर्मी सिर्जना सुब्बाले संयुक्त रुपमा उद्घाटन गरेका थिए।
लण्डनदेखि नजिकै रहेको अल्डरसट बसोबासको लागि मात्र नभई नेपालीहरूका लागि व्यापारिक केन्द्रको रुपमा समेत विकास हुँदै गइरहेको छ। नेपालीहरूले दर्जनौं रेष्टुरेण्टदेखि किराना पसलहरू खोलेका छन्। यहाँ करिब एक दर्जन सुनचाँदीका पसलहरू संचालनमा छन्।
नेपालीहरू पहिलेदेखि सुनचाँदीका गहनामा सौखिन रहेका र सुरक्षित लगानीको रुपमा समेत नेपालीहरूले सुन किन्न थालेकाले सुन व्यवसायमा आफूहरू आकर्षित भएको गायक श्यामले बताए।
गायक श्यामले भने ‘नेपालमा पनि व्यवसायको थोर-बहुत अनुभव लिएर आएको हुदा नयाँ ठाउँमा नयाँ व्यवसाय सुरु गर्न त्यति धेरै चुनौती छैन। अलिकति लगानी ठुलो भएकोले त्यही अनुसारको आक्रामक व्यापारको रणनीति अपनाएर अगाडी बढ्नेछौ।’
सुम्निमा ज्वैलरी एण्ड कलेकशनमा सुनचाँदीका अलावा विभिन्न जातजातीका पोशाकदेखि हस्तकलाका सामाग्रीहरू समेत बेच्न राखिएको गायिका जानुका राईले बताइन।
‘हाम्रो पसलमा सुनचाँदी बाहेक हस्तकलाका साथमा नेपालीहरूको शान खुकरी, सबै जातजातीका पोशाक, उनीहरूको साँस्कृतिक बाजालगायत विभिन्न शोभनिरका सामाग्रीहरू सुफत मुल्यमा बेच्न राखेका छौ। यहाँ पसलमा आएर तपाईहरूले छानी-छानी किन्न सक्नुहुन्छ भने अनलाइनमार्फत विश्वभरी डेलिभरीको व्यवस्था समेत गरेका छौ’ जानुकाले भनिन्।
गायिका जानुका राई मुन्दुमी गायिकाको रुपमा चर्चित छिन् भने उनले नेपाली कथानक चलचित्र बिनायोमा समेत पार्श्व गायन गरी गरिसकेकी छन्।