बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बालविवाह मुक्त नेपालका लागि प्रतिवद्धता व्यक्त गरेका छन्।
बालविवाह मुक्त नेपालका लागि ‘जस्ट राइट्स फर चिल्ड्रेन इन नेपाल’का प्रतिनिधि तथा बालबालिकामाझ उनले प्रतीज्ञापत्रमा हस्ताक्षर गरेका हुन्।
आफू र आफ्नो सरकार बालविवाह मुक्त अभियानमा प्रतिवद्ध रहेको जनाउँदै मुख्यमन्त्री लामाले यसअघि नै बागमती सरकारले बालविवाह मुक्त गर्नका लागि नीति र कानुनहरू बनाइसकेको पनि बताए।
‘हामीले यसअघि नै कानुनहर बनाइसकेका छौं। स्थानीय तहहरूमा पनि नीति र कानुनहरू बनाउँदैछौ’ उनले भने ‘कानुनी र संवैधानिकरुपमै हामी बालविवाह मुक्त प्रदेशका लागि प्रतिवद्ध छौं।’
बागमती प्रदेशमा अहिले पनि ८.४ प्रतिशत बालविवाह छ। हस्ताक्षर समारोहमा सामाजिक अभियान्ताहरू बालकृष्ण पाण्डे, डा. गंगाधर अधिकारी र देवकी रेग्मीलगायत सहभागी थिए।
सन् २०३० सम्म बालविवाह मुक्त नेपाल घोषणा गरिसक्नका लागि गत पुस १६ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेर अभियानको सुरुवात गरेका थिए।
त्यसपछि संघीय महिला, बालवालिका तथा जेष्ठ नागरिकमन्त्री तथा सातै प्रदेश सरकारका सामाजिक विकासमन्त्रीहरूले संयुक्त रुपमा राष्ट्रिय अभियानको सुरुवात गरेका थिए।
विश्वव्यापी यो अभियान नेपालसहित ३ महादेशका करिब ३९ राष्ट्रहरूमा सञ्चालित छ।