एमालेको महाधिवेशन, देवघाटधामको दर्शन [तस्बिरहरू]

नेकपा एमालेको १० औं महाधिवेशनमा सहभागी नेता कार्यकर्ताहरु धर्मकर्मका लागि धार्मिकस्थल देवघाट पुगेका छन्। महाधिवेशन शुक्रबार मध्यान्ह मात्र उद्घाटन हुने भएकाले  अघिल्लै दिन नारायणघाट पुगेका नेता–कार्यकर्र्ताहरु शुक्रबारै देवघाट पुगेका हुन्। 

एमाले कम्युनिष्ट पार्टी हो । सिद्धान्तत: कम्युनिष्टले धर्म मान्दैनन् । 'नो रिलिजन' को धार्मिक सिद्धान्तमा विश्वास गर्ने कम्युनिष्टहरु भौतिकवादी हुन् । उनीहरु देवताको अस्तित्वलाई स्वीकार गर्दैनन् तर ०४६ सालअघि त्यस्तै कट्टर कम्युनिष्ट पार्टी भए पनि एमाले अहिले 'लिवरल' हुँदै गएकाे छ ।

अहिले कोही नेताले धर्म मानेकै कारण कारवाही भोग्नुपर्दैन । समर्थक वा कार्यकर्तालाई धर्म मानेबापत वा मन्दिर गएकै कारण कारवाही भोग्नु पर्दैन । बेलाबखत एमाले अध्यक्ष केपी शर्मा ओली नै पशुपतिनाथको मन्दिर पुगेर पूजाआजा गर्ने गरेका कारण एमाले कार्यकर्तालाई मन्दिर जान सजिलो भएकाे छ।

देवघाट हिन्दू धर्मावलम्बीहरुको पावन तीर्थस्थल हो । कालीगण्डकी र त्रिशुलीको संगमस्थल देवघाटधाममा परापूर्वकालमा देवताहरुले बसोवास गरेको धार्मिक विश्वास छ । देवघाटमा स्नान गरेमात्र पनि चारधाम तीर्थयात्रा गए बराबरको पुण्य प्राप्त हुन्छ भन्ने धर्मशास्त्रमा उल्लेख छ।

देवघाट परापूर्वकाल देखि पवित्र तीर्थस्थलको रुपमा परिचित छ । हिन्दु धर्म शास्त्रमा उल्लेख गरिए अनुसार चारधाम क्षेत्र स्नान गरेर पनि देवघाट तीर्थमा स्नान गरिएको छैन भने मानव जीवन व्यर्थ हुन्छ । त्यसैले पनि एमालेका समर्थक र प्रतिनिधिहरु बिहानै देवघाट स्नान गर्न पुगेका हुन् । विशेष गरी माघे संक्रान्तिमा देवघाट स्नानका लागि ठूलो सङ्ख्यामा भक्तजन आउने गर्छन् । त्यहाँ हरेक माघ १ गते मेला लाग्ने गरेको छ ।

विदेशी पाहुनाको लागि देवघाट नदीमा विभिन्न मनोरञ्जन लिने वोटीङ डुङ्गाहरु राखिएका छन । हिमालबाट विभिन्न नदीहरु मिसिएर बग्दै आएको चिसो सुन्दर पवित्र यस नदीको पानीमा 'बोटlङ' गर्दै मनोरम प्रकृतिक हरियाली जंगलको दृश्य अवलोकन गर्छन् ।

महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले नारायणी नदी किनारमा मध्याह्न १२ बजे गर्ने कार्यक्रम छ। 

एमाले विभाजन पश्चात पहिलो पटक महाधिवेशन हुन लागेको हो। महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले उद्घाटन कार्यक्रमका लागि देशभरबाट उपस्थित हुने पाँच लाखभन्दा बढी सहभागी हुने बताए।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालगायत सात पार्टीका प्रमुख नेता सहभागी हुने छन्। जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा, राजमोबाट चित्रबहादुर केसी र नेमकिपाका नेतासमेत सहभागी हुनेछन्। 

प्रकाशित मिति: : 2021-11-26 10:40:00

प्रतिकृया दिनुहोस्