नेपालको दक्षिणी समतल भू–भागमा बसोबास गर्ने पहिलो मूलबासी (आदिबासी) थारु हुन। शताब्दीयौं देखि तराईमा बसोबास गर्दै आएका थारु समुदाय भूमिप्रेमी हो।
धेरैले ‘थार’ मरुभूमिसँग थारु जातिको साइनो गाँसेका छन्। नेपाल सरकारले थारु जातिलाई आदिवासीअन्तर्गत सूचिकृत गरिसकेको छ। यो जाति पश्चिम तराईका अधिकांश जिल्लाहरुमा बस्दै आएको छ।
मानवशास्त्री डोरबहादुर बिस्ट १९७६, ‘पिपल अफ नेपाल’मा ‘तराईमा बस्ने सबभन्दा पुराना जाति मध्ये थारु एउटा होला भन्छन्।
बिष्टको अध्ययन तथा अन्य थुप्रै अध्ययनले समेत यसको पुष्टि गरेको छ।
नेपालको तराई क्षेत्रमा सबैभन्दा बढी जनसंख्या भएको जाति पनि हो। थारु जाति स्वभावले सोझा, इमान्दार हुन्छन्। थारु समुदाय भाषा, भेषभूषा, संस्कार, चाडपर्व, एव रीतिरिवाज परम्पराले समेत धनी छ।
थारु समुदायमा दर्जनौँ रितिसंस्कृति रहेका छन्। थारु समुदायमा विरहेन चाँचर, चोरखेलिया नाच, रासलीला, कृष्णलीला, तरबार नाच, मयूर, वडका, बाह्रमासेरसधारी, झुमटा, छोकरा, झुर्रालगायतका नाच प्रचलित छन्।
बाँकेमा आठ वटै स्थानीय तहमा थारु समुदायको बसोबास रहेको छ। जुन यहाँको आदिवासी समुदाय हो।
जनसंख्याको हिसाबले नेपालकै सबैभन्दा ठूलो गाउँपालिकाका रुपमा रहेको राप्तीसोनारी गाउँपालिकामा समेत थारुको समुदायको उल्लेख्य बसोबास रहेको छ।
हिन्दु र बौद्ध धर्म मान्ने थारु र नेपाली भाषा बोल्ने थारु जाति साँस्कृतिक जातिसमेत हो।
थारु समुदायको पहिचानका रुपमा रहेका यस्तै संस्कृति संरक्षणमा राप्तीसोनारी समुदायका महिला सक्रिय छन्।
सधैँ चुलोचौकोमा सीमित हुने महिला अहिले संस्कृति संरक्षणको अभियानमा सक्रिय भएका हुन्।
थारु जातिका सखिया मादल, झुमरी मादल, कारा, टिम्की, ठेकारा, बौसी, मजैरा, मनार, मुरली, तमौरा, रेउनी, ढ्वाल, डफा, झर्रा, नारा, झाइल, पिपही, पिङरी, पिलरू,बसिया माटोको बाजा, चट्कौली, कस्टार, डिग्री मुख्य लोक बाजाहरू हुन्।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ सिनाबास टोलका महिलाहरु लोकबाजा र संस्कृति संरक्षणमा सक्रिय भएका छन्।
उनीहरुले महिला समूह नै गठन गरेर संस्कृति संरक्षणमा सक्रिय भएका हुन्।
चार वर्षअघि गठन गरिएको थारु समुदायका महिलाहरुको समूह हो, मनकामना आमा समूह।
यसमा थारु महिला मुख्य पदाधिकारीकारु रुपमा रहेका छन्। सदस्यका रुपमा थारु पुरुषहरु समेत छन्। थारु समुदायमा प्रचलित रितिरिवाज, संस्कृति बाजाको संरक्षण मूख्य उद्देश्य हो।
सोही अनुसार उक्त समूहले वडामा हुने हरेक कार्यक्रममा थारु समुदायका रीतिरिवाज झल्कने, गीत, नाच र सहभागिता अनिवार्य बनाउने अभियान थालेको छ।
समूहकी अध्यक्ष सिरमला थारु महिलाहरुले पनि संस्कृति संरक्षणमा काम गर्न सक्छन् भन्ने ध्यायले मनकामना आमा समूह गठन गरिएको बताउँछिन्।
उनका अनुसार समूहले विभिन्न कार्यक्रममा समेत अर्थपूर्ण सहभागिता जनाउने गरेको छ।
‘हामीले महिला अधिकारका विषयमा समेत आवाज उठाउने गरेका छौं। थारु संस्कृति संरक्षण गर्नु हाम्रो मूल दायित्व हो।
त्यसैले थारु महिलाको सशक्तिकरणका सवालमा समेत कुराकानी गर्छौं।’ बिएल नेपाली सेवासँग कुराकानी गर्दै उनले भनिन्। उनीहरुको यो अभियानमा स्वास्थ्य संस्था तथा स्थानीय सरकारको समेत साथ छ।
थारु समुदायमा प्रचलित नाचमध्ये छोकरा नाच एक हो। यो नाच थारु समुदायमा प्रचलित परम्परागत बाजा र भेषभूषासहित नाचिन्छ।
यो नाचमा १०–१२ जना महिला परम्परागत भेषभूषा सहित विभिन्न बाजा बजाएर नाच्छन्। यो नाचमा पुरुष भने मादल र झ्याली बजाउँछन्। जुन यो बाजाका लागि अनिवार्य हो।
यो नाचमा सबै महिलाहरुले फरक–फरक बाजा बोकेका हुन्छन्। यो नाच विशेष गरी विभिन्न चाडपर्वहरुमा नाच्ने गरिन्छ। माघी तथा विवाहको समयमा समेत यो नाच नाचिन्छ।
यो नाचमा प्रयोग हुने लोक बाजा मध्ये झ्याली, चिरैयाँ मुख्य हो। यी दुवै बाजा काठबाट निर्माण गरिन्छ। यस्तै महिलाहरुले चाँदीको सिक्का, खोस्या, सुत्या, च्याख्याउली, कस्तारको समेत प्रयोग गर्दछन्।
छोकरा नाचमा पहाडि र थारु भाषाको प्रयोग गरिन्छ। यो एक प्रकारको दोहोरीसमेत हो।
यो नाच नाच्दा खुशी भएर दिएको रुपैयाँ नाचमा सहभागी महिलामध्ये एक जनाले अनिवार्य रुपमा घोप्टो गरेर मुखले छोऐर मात्रै आशिषका रुपमा स्वीकार गर्ने गर्छन्।