मोरङमा कोइरालाको वर्चश्व

नेपाली कांग्रेस मोरङमा संस्थापनभन्दा कोइराला–पौडेल समूह बलियो देखिएको छ। १२ प्रदेशसभा निर्वाचन क्षेत्रमा देउवा पक्षीय दुई जना सभापतिमात्र विजयी भएका छन्।

मोरङका १२ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये चारवटामा सर्वसम्मत भएपछि थप आठ वटामा सभापति चयन गर्न शनिबार निर्वाचन भएको थियो। साँझदेखि नै मतगणना आरम्भ भएको थियो। आइतबार बिहान प्राप्त मत परिणामअनुसार मोरङ निर्वाचन क्षेत्र नम्बर १ ‘क’ मा नरबहादुर तामाङ र ‘ख’ मा राजकुमार लामा निर्वाचित भएका छन्। लामा सर्वसम्मत भएका हुन् । यसैगरी निर्वाचन क्षेत्र नम्बर २ ‘क’ मा कन्यैहालाल राजवंशी र ‘ख’ देवेन्द्र बस्नेत विजयी भएका छन्। कन्हैयालाल सर्वसम्मत चयन भएका हुन्। 

निर्वाचन क्षेत्र नम्बर ३ ‘क’ गंगा याक्खा र ‘ख’ जगतलाल चौधरी, क्षेत्र नम्बर ४ ‘क’ मा एकाराम माझी र ‘ख’ मा सुबोध निरौला निर्वाचित भएका छन्। निर्वाचन क्षेत्र नम्बर ५ ‘क’ अचानु खाँ गन्गाई र ‘ख’ जितु साह सर्वसम्मत चुनिएका छन्। कांग्रेस नेता अमृत अर्यालको समर्थन र सहयोगमा चयन भएका उनीहरु देउवा पक्षकारुपमा चिनिन्छन्। 

मोरङको निर्वाचन क्षेत्र नम्बर ६ ‘क’ दिपक भगत र ‘ख’ मधुवाबु तिवारी विजयी भएका छन्। निर्वाचनबाट प्रदेश निर्वाचन क्षेत्रको सभापतिसहित पदाधिकारी निर्वाचति भएको मोरङ कांग्रेसका सचिव मोदराज घिमिरेले जानकारी दिए। 

घिमिरेकाअनुसार मोरङको मत परिणामअनुसार जिल्लामा पौडेल–कोइराला समूह बलियो देखिएको छ। निर्वाचनबाट हरेक निर्वाचन क्षेत्रबाट १६ जना प्रदेश अधिवेशन प्रतिनिधि चयन भएका छन्। जिल्लाबाट जम्मा १९२ जना अधिवेशन प्रतिनिधिले प्रदेश पदाधिकारी चयन गर्न मत खसाल्ने छन्।

मोरङ कांग्रेसकाअनुसार जिल्लामा जम्मा ३५५१ क्षेत्रीय प्रतिनिधि विजयी भएका थिए। प्रदेश प्रतिनिधि र पदाधिकारी चयन गर्न तीमध्ये करिब ९९ प्रतिशतले मत खसालेको पार्टी सचिव घिमिरेले बताए।

प्रकाशित मिति: : 2021-11-21 10:14:00

प्रतिकृया दिनुहोस्