
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
श्रावणको महिना, जताततै बाढीपहिरोको समाचारले मान्छेको मनमा त्रासैत्रास फैलिएको थियो। कहिले यता पहिरोले बाटो अवरुद्ध, कहिले उता यात्रुबहाक बस पल्टिँदा कैयाैँ घाइते। श्रावण उसै त यात्राको लागि उपयुक्त समय होइन। तर हाम्रो यात्रा यात्रा मात्रै नभएर तीर्थयात्रा थियो। त्यसैले तिथिमिति तय भइसकेपछि जानलाई चाहे आकाश नै किन नखसोस्।
२०७९ श्रावण १५ गते बिहानको खाना उतै खानेगरी हामी बाउछोरा सुर्खेतबाट नेपालगन्जतर्फ गुड्यौं। नेपालगन्जबाट बिहान ११:२५ बजे पोखराको लागि उड्नु थियो। एअरपोर्टमा मेरो नजर एक परिचितको अनुहारमा ठोक्कियो। कमल दाइसँगको आकस्मिक भेटले यात्रामा सहयात्री भेटेझैं लाग्यो। उहाँ कर्णाली प्रदेशमै कार्यरत वन अधिकृत हुनुहुन्छ। उहाँ पनि पोखरा जाँदै हुनुहुँदो रहेछ। पोखरासम्म सँगसँगै जाने भइयो। सिट पनि सँगसँगै परेछ वारिपारि। हामी सवा बाह्र बजे पोखराका लागि उड्यौं। पहिलो प्रयासमा विमान अवतरण गर्न नसकेछि यात्रुहरु मुखामुख गर्दै थिए।
धावनमार्गमा चराहरुको बाख्लो उपस्थितिले यसो गर्नु परेको रहेछ। चराहरुलाई धपाइएपछि हाम्रो चरोले सकुशल अवतरण गर्याे। यहाँको विमानस्थल निर्माणले (पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसमेत) चराहरुको अझ विशेषगरी गिद्धहरुको वासस्थानमा पारेको नकारात्मक प्रभाव सबैसामु जगजाहेर नै छ। प्वाँख नभएका गिद्धहरुले प्रकृतिका कुचिकार गिद्धहरुलाई बाँच्न हम्मेहम्मे पारेका छन्।
हामी सवा एक बजे पोखरा पुग्यौं। यात्रामा जतिसक्दो बाटो छोट्याउनु नै उपयुक्त हुने बाबाको सल्लाहअनुसार आजै म्याग्दी सदरमुकाम बेनीसम्मको यात्रा तय गर्ने भइयो। विमानस्थलबाट ट्याक्सीमा बाग्लुङ बसपार्कतर्फ हुइँकियौं। त्यहाँबाट जोमसोम जाने गाडीहरु बिहान मात्रै छुट्ने रहेछन्। हामीलाई बेनीसम्म पुग्नु थियो। बाटोमा ट्याक्सीहरु नियमित चल्ने रहेछन्। चारजना बोक्ने ट्याक्सीकाे प्रतियात्रु आठसय भाडा। हामी दुईजना मात्रै भयौँ। अरु दुईजना पनि कोही दुईजनाको पर्खाइमा बसिरहनुभएको रहेछ। हामी चारजना हेम्जाको फराकिलो बाटो हुँदै कुस्मातिर लम्कियौं।
हामीसँगै एकजना ६८-७० वर्षका बुढा बा पनि हुनुहुन्थ्यो। परिचयको क्रममा घर जुम्ला बताएपछि के व्यापार गर्नुहुन्छ भनिहाल्नुभयो। ‘यसो मान्छेहरु डुलाउने काम गर्छु अहिले वर्षातमा मान्छे नभेटेपछि बाबालाई घुमाउन ल्याएँ’ भनेर ठट्टा गर्दै वास्तविकता बताए। उहाँ भर्खर-भर्खर अमेरिकाबाट नेपाल फर्कनुभएको रहेछ।
उहाँको जुम्लाप्रतिको धारणा एक डेढ वर्षमा परिवर्तन भएको रे। ‘मैले जुम्ला गरीब, पछाडि परेको दुर्गम ठाँउ सोच्थेँ तर म अमेरिका हुँदा चन्द्रेको महारानी पढेँ। ओहो! जुम्ला त भव्य रहेछ, अब देशको जिम्मा तपाईंहरु जस्तो युवाले लिनुपर्छ’ भनिहाल्नु भयो। उहाँले म्याग्दीकै लेखक चन्द्रप्रकाश बानियाद्वारा लिखित उपन्यास महारानी पढ्नुभएको रहेछ। मैले आजसम्म यो उपन्यास पढेको छैन तर त्यसमा जुम्लाबारे के लेखिएको रहेछ, जसले ती बुढा बाको धारणा परिवर्तन गरिदियो। सायद, इतिहासको वर्णन गरिएको होला। यस्तै गफगाफ गर्दै बाग्लुङ्ग कालिका भगवतीलाई बाटोबाटै दर्शन गरी साढे चार बजे बेनी पुग्यौं।
कालिगण्डकी र म्याग्दी खोलाले सदियौँदेखि थुपारेको बालुवा बैंकमा रहेको सुन्दर नगरी बेनीको होटेल याकमा विश्राम लियौं। सबेरै पुगेकाले म भोलिको लागि बस/जीप जे पाइन्छ त्यसैको टिकट लिन बसपार्क तिर गएँ। कालिगण्डकीको तिरमा टिकट काउण्टर थियो। लाग्थ्यो कतिखेर नदीले मुनिबाट कटान गर्छ र यो बगाउँछ। नदीको किनारै किनार निर्माण गरिएको कंक्रिट स्ल्याब र तटबन्धले कतिन्जेल धान्ला?
बेनीबाट जोमसोम जाने कुनै गाडी नभेटेपछि पोखराबाटै आउने बसको टिकट लिएर बजार एक फन्को मारी पुन: होटलमै फर्किएँ। बाबाको लागि मुक्तिनाथको दर्शन गरिवरि घर फर्केर तीर्थे भोज नखुवाउन्जेल ननभेज बन्द थियो। मैले पनि मन्दिर दर्शन नगर्दासम्म बाेकै बन्ने निर्णय गरेँ। बिहान सुर्खेतबाट हिँडेका हामी साँझ बेनी पुग्दा आनन्दित थियौं। रात्रिकालीन भोजन गरेर सुत्न मात्रै के लागेका थियौं, आकाशले सिग्लन दिन सुरु गरिहाल्यो। नभन्दै त्यो रातभरी पानी पर्यो। अबको यात्रा झनै कठिन हुने निश्चित थियो।
श्रावण १६ गते बिहानसम्म पनि पानी रोकिएको थिएन। म ब्युझिँदा बुबा उठेर कतै निस्किसक्नु भएको रहेछ। एकछिन मेरा बाको पनि चर्चा गरिहालौँ। बिहान तीनै बजे उठेर निस्किनु पर्ने, खेतखेत चहार्दै चन्दननाथको पहिलो दर्शनार्थी भएर १५-२० कप चिया खाएर २५-३० खिल्ली सूर्य नउडाएसम्म खाना नरुच्ने। हैट, कस्तो अचम्मको बानी! उठेर बालाई फोन गरेँ। उहाँ त बिहानै टिकट काउण्टर पुगिसक्नु भएछ। म पनि फ्रेस भएर त्यतैतिर लागें।
सिमिसिम पानी परिरहेको थियो। नजिकैको एक पसलबाट रेनकोट किनेर काउण्टर पुग्दा बा बडेमानको छाता ओडेर उही चिया चुरोट पिउँदै गाडीवालहरुसँग गफिँदै बसिरहनु भएको थियो। त्यहाँ पुगेपछि थाहा भयो कि हिजो राति वर्षातको भेलले गलेश्वर नजिक बाटो त भत्काइसकेछ। ठुलो गाडी जान सम्भव छैन। सानो गाडीको लागी केही सीप लागाउँदै छन् भन्ने खबर आयो। मैले ठुलो गाडीको टिकट लिइसकेको थिएँ। काउण्टरको दाइले तपाईंहरु खाना खाएर विस्तारै आउनुहोला, जीपहरु सम्पर्कमा आए फोन गरौंला भन्नुभयो। बा-छोरा खिन्न मन लिएर याकतिर गयौं।
बिहानको खाना खाएर जीपको खोजीकार्यमा होटलबाट निस्कियौं। पोखराबाट जोमसोमको लागि हिँडेको बस साढे दश बजेतिर बेनी आइपुग्यो। तर त्यो बस माथि जानेवाला थिएन। पोखराबाट आएका यात्रीहरु पनि यतै अलपत्र पर्ने निश्चित थियो। अन्तत एकजना लामा दाइले बोलेरो लिएर आउनुभयो। हामी बाउ-छोरा त्यसमै सवार गर्ने कुरा मिलाए। जेनतेन साढे एघार बजेतिर जोमसोमका लागि हिड्यौं।
हिँडेको एक मिनेट पनि नबित्दै जाम सुरु भयो। अघिसम्म जीप खोज्दा एउटा भेट्न मुस्किल पर्थ्यो, अहिले ठुलै जाम छ। कुरा के रहेछ भने त्यो दिन श्रावणको सोमबार परेकोले गलेश्वर धाममा पूजाआजा गर्नेको ठुलै भिडभाड हुने रहेछ। श्रीमद्भागवत् पुराणअनुसार महादेवले सतीदेवीको मृत शरीर बोकेर कृष्णागण्डकी किनारै किनार हिमालय पर्वततर्फ जाँदै गर्दा यसै स्थानमा सतीदेवीको गलापतन भएको हुँदा ज्योतिर्लिङ्गेश्वर महादेव उत्पन्न भई शिवशक्तिस्वरूप रहनुभएकाले यसको नाम गलेश्वरधाम रहन गएको किम्बदन्ती रहेछ।
अघिल्लो रातिको वर्षातले एक ठाउँमा एउटा मात्रै सानो गाडी छिर्न मिल्ने गरी जेनतेन बाटो बनाइएको थियो। लगभग एक घण्टाको जामपछि बाटो विस्तारै खुल्यो र हामी अगाडि बढ्यौँ। अरुहरुले खाना खानुभएको रहेनछ र करिब साढे बाह्र बजेतिर पिप्लेमा बिहानको खानाका लागि जीप रोकियो। हामीले यताउता अवलोकन गर्याैं।
ठुला पहाडहरुबीच बगिरहेको कालिगण्डकी किनारै किनार बाटो बनेको रहेछ। वर्षाको समय भएकोले सानातीना झरनाहरुले यात्रामा मज्जा थपिरहेका थिए। बाटोको बीचमा कतिकति खेर समुन्द्रमै पानी जहाज चढेजस्तो झल्को दिने खाल्डाहरु थिए। मलाई धुलो खानुभन्दा हिलो रमाईलो लाग्छ। हामी पौने दुई बजेतिर बेखोलामा रोकियौं। खोला बढेर जीपहरु तर्न नसक्ने भएको रहेछ। त्यहाँ पुग्दा डोजरले खोला सम्याउँदै थियो। केही भारतीय पर्यटकहरु पर्खिरहेका थिए। जेनतेन पानीको बहाव सबैतिर फैलिएपछि पालैपालो खोला तर्यौँ, जीपमै।
हामी तिपल्याङ्ग, रातोपानी, पोखरेबगर हुँदै अगाडि बढ्यौं। पोखरेबगर अन्नपूर्ण गाउँपालिकाको केन्द्र हो। बजार बन्ने क्रममै थियो। सडकका नालाले उचाई लिँदै थिए। हामी सरासर तातोपानी हुँदै अगाडि बढ्यौँ। बाटोबाट कालिगण्डकी पारिपट्टी रहेको माउन्टेन इनर्जी नेपाल लिमिटेडको मिस्त्री खोला जलविद्युत आयोजना दृष्यचरण गर्दै अगाडि लम्कियौं। हाम्रो जीप एकाएक दाना भन्ने स्थानमा प्रहरीले रोक्याे। खबर थियो ‘काभ्रेभिर खस्यो, दुई हप्ता बाटो खुल्दैन। तपाईंहरु फर्किनु नै उपयुक्त होला।’ यो सुनेर मन खिन्न भयो।
तर लामा दाइको घर माथिल्लो मुस्ताङ भएकोले उहाँ जसरी पनि घर जाने कुरामा दृढ हुनुहुन्थ्यो। उहाँले गुरुजीलाई काभ्रेभिरसम्म जान मनाउनु भयो। हामी यस रुटकै प्रख्यात रुप्से झरना हुँदै काभ्रेभिरसम्म गयौं। रुप्से आफ्नो रौद्र रुपमा प्रकट भएकी थिइन्। सायद प्रकृतिमाथि मानवले गरेको उग्र ज्यादती असैह्य थियो। प्राकृतिक वातावरण सिध्याएर गरिएको विकासप्रतिको विद्रोह। झरना छिचोल्न निर्माण गरिएको सानो फलामे पुलको मुनि, माथि र दायाँबायाँबाट झरनाको पानी बगिरहेको थियो। आसपास साना-ठुला ढुङ्गाहरु खसिरहेका थिए। कतिकति खेर गाडीमै ठोक्किन आइपुग्थे। ज्यान बचाउँदै अगाडि बढ्नु हाम्रो कर्म थियो।
काभ्रेभिरमा प्रति व्यक्ति पन्ध्र सय रुपैयाँ दिएर हामी अगाडि बढ्यौँ। अबको यात्रा पैदल हुनेवाला थियो, कहाँसम्म थाहा छैन। सायद, मुक्तिनाथसम्म। तर हामीसँग लामा दाइ भएकोले केही न केही जुक्ति निकाल्नु हुनेछ भन्नेमा ढुक्क थियौं। हामी साढे तीन बजेतिर काभ्रेभिरबाट पारिपट्टी झाेलुङ्गे पुल तरेर जोमसोमका लागि लस्करै हिँड्यौं।
पहिले-पहिले बाटो नबन्दासम्म मानिसहरु आवतजावत गर्ने बाटो थियो यो। बाटोमा किसानहरु आलु भित्र्याइरहेका देखिन्थे। चिसो स्वच्छ वायुको सर्को फोक्सोभरी खाँदेर हिँड्न पाउँदा हामी आनन्दित थियौं। हामीसंगै बेनीबाट आएका दुईजना भाइहरुलाई हिँड्न अलि गाह्रो भएको थियो। सन्तोष शाह र भगवान यादव।
वीरगञ्जका सन्तोषले आफ्ना भारतीय साथीलाई मुक्तिनाथ दर्शन गराउन मोटरसाइकलमा ल्याएका रहेछन्। उनीहरुले बाटोको अवस्था बुझेर मोटरसाइकल लुम्लेमा राखी गाडीमा बेनीसम्म आएछन्। केही उकालो कटेपछि बाटो तेर्साेतेर्साे थियो। वारीपट्टीबाट हेर्दा त राजमार्गमा सिङ्गै भिर खसेको रहेछ।
पानी निरन्तर परिरहेकोले बाटो पन्छाउनु सुरक्षित हुँदैनथ्यो। हामी करिब पाँच बजेतिर पुन: घाँसाको झाेलुङ्गे पुल तरेर राजमार्गतिरको घाँसाको तल्लो भागमा पुग्यौं। अब जति ढिला भयो भयो चिया खाएर मात्रै हिँड्ने सहमति भयो। बाटो छेउको सानो पसलमा आराम गर्दै चिया खायौं।
बादलको घुम्टोले सजिएको गोब्रे सल्लाको घना जंगल, बारीमा परागसेचन गर्ने उमेरका बैंसले मात्तिएका मकै, सिरिरि चल्ने जोमसोमे हावा। बस्, के चाहियो र मकैलाई, बदमासीका सम्पूर्ण सिमा पार गरी सल्लालाई जिस्काइरहेका थिए। सल्लोले मनमनै सोच्यो, असोजसम्म नटिक्ने जवानीको यत्रो धाक? लामा दाइ कता-कता फोन घुमाउँदै के के कुरा गरिरहेका थिए। सायद अगाडिको बाटोका बारेमा जानकारी र गाडी पाइने/नपाइनेबारे उहाँ कोही न कोहीसँग निरन्तर संवादमा हुनुहुन्थ्यो...।
१ .
२ .
३ .
४ .
५ .