दशाैं महाधिवेशन र चितवन

कम्युनिष्ट आन्दोलन संसार बदल्न सक्ने महत्त्वपूर्ण र अपराजित शक्तिको रुपमा स्थापित छ। समाजमा उच निच, धनी–गरिव असमानता, अन्याय र अत्याचारको अन्त्य तथा समन्याय र समानताको सुनिश्चितताका लागि यो आन्दोलन अझ सशक्त ढंगले अगाडि बढ्दैछ। 

नेपालको राजनीतिमा २००६ साल वैशाख १० गते स्वर्ण अक्षरले इतिहास लेखिएको दिन हो। जुन दिन साम्राज्यवाद र सामन्तवादविरोधी नेपाली क्रान्तिको दिशा अवलम्बन गर्ने अठोटका साथ नेपाल कम्युनिष्ट पार्टी स्थापना गरियो। नेपाल कम्युनिष्ट पार्टीको पहिलो घोषणापत्र जारीसंगै मुलुक नयाँ दिशामा अघि बढ्यो। 

त्यसयता नेकपा (एमाले) नेपाली कम्युनिष्ट आन्दोलनको मूलधार एवं एक सशक्त अग्रगामी र प्रगतिशील पार्टीको रूपमा अगाडि बढिरहेको छ।

नेपाल कम्युनिष्ट पार्टीको पहिलो महाधिवेशन २०१० मा भूमिगत रूपमा पाटनमा गरियो। दोस्रो राष्ट्रिय महाधिवेशन २०१४ मा काठमाडौंमा सम्पन्न भयो। तेस्रो राष्ट्रिय महाधिवेशन २०१९ मा सम्पन्न गरियो। २०४६ मा सिरहामा भूमिगत रूपमा चौथो महाधिवेशन सम्पन्न भयो।

पाँचौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा २०४९ मा खुला र अभूतपूर्व रूपमा सम्पन्न भयो। यसले नेपाली क्रान्तिको मौलिक कार्यक्रम जनताको बहुदलीय जनवाद पारित गर्‍यो। जसको प्रतिपादन जननेता मदन भण्डारीले गर्नुभएको थियो। यही सिद्धान्तको जगमा नेकपा एमाले अहिले देशकै सर्वाधिक शक्तिशाली पार्टीको रूपमा स्थापित हुन पुगेको छ। 

छैठौं महाधिबेशन २०५४ मा नेपालगञ्जमा, सातौं २०५९ मा जनकपुरमा, आठौं २०६५ मा बुटवलमा र नवौ २०७१ मा काठमाडौँमा सम्पन्न भए। 

अहिले हामी दशौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा छौं। नेपालको मध्यभागमा रहेको चितवनले यो ऐतिहासिक जिम्मेवारी प्राप्त गरेको छ।

ऐतिहासिक चितवन

चितवन जिल्ला देशको मध्य भागमा पर्दछ। देशका अधिकांश जिल्लाबाट बसाइँ सरेर आएका नागरिकहरूको उल्लेख्य उपस्थिति रहेकाले कतिपयले यसलाई देशको ७८औं जिल्ला पनि भन्ने गर्दछन्। विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्ज, एकसिंगै गैँडा, दुर्लभ वन्यजन्तु र घडियाल गोही आदिको बासस्थान जस्ता कारणले चितवन पर्यटकीय गन्तब्यका रुपमा पनि चर्चित छ। 

चितवनमा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका रहेका छन्। भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, कालिका नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिका चितवन जिल्लामा पर्ने स्थानीय तह हुन्।

समुद्री सतहबाट १४१ मिटरदेखि १९४५ मिटरको उचाइसम्म फैलिएको यो जिल्ला हालको संघीय संरचनामा बाग्मती प्रदेश अन्तर्गत पर्छ। चितवनको क्षेत्रफल २,२०५.९० वर्गकिलोमिटर छ। २०६८ सालको जनगणनाअनुसार यहाँको जनसंख्या ५,७९,९८४ छ। यस जिल्लाको पूर्वतर्फ मकवानपुर र पर्सा, पश्चिमतर्फ नवलपुर र तनहुँ, उत्तरतर्फ गोरखा र धादिङ जिल्लाहरू पर्दछन्। दक्षिणतर्फ भारतको बिहार राज्य पर्दछ।

चितवनलाई विभिन्न जनजाति, भाषाभाषी र संस्कृतिको विविधतामा एकता भएको जिल्लाका रूपमा चिनिन्छ। अधिकांश भाग जंगलले ढाकिएको छ।  जहाँ विभिन्न जंगली जीवजन्तुहरू पाईन्छन्। 

मनोरम भूमि, प्राकृतिक सौन्दर्य, जैविक विविधता, विशेष जीवजन्तु र आदिम मानवको उत्पति थलो तथा आधुनिक विकासका सञ्जालहरू जस्ता कारणले चितवन अनुपम रहेको मान्न सकिन्छ।

यहाँका मैदानी भागमा वर्षाैदेखि बसोवास गर्दै आएका आदिवासी थारू जाति छन् भने अर्कातर्फ पहाडी क्षेत्रमा अर्को आदिवासी समुदाय चेपाङ जाति रहेका छन्। 

ऐतिहासिक र सांस्कृतिक महत्वका ‘महाभारत’ र ‘रामायण’ कालको झल्को दिने पुरातात्विक स्थलहरू र वस्तुका अवशेषहरू वाल्मीकि आश्रम, गोद्धक, परशुरामकुण्ड, देवघाटको रामअश्वमेघ यज्ञकुण्ड, बागेश्वरीको सरस्वती मन्दिर आदिले पनि ऐतिहासिक सभ्यतालाई जनाउँछ।

नेकपा (एमाले)का श्रद्धेय अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको समयमा उहाँकै पहलमा माडीको अध्योध्यापुरीमा ‘अयोध्याधाम’को पहिचान र निर्माण भएको छ। रामको वास्तविक जन्मभूमि अयोध्यापुरी हो भन्न सकिने विभिन्न आधारहरू फेला परेका छन्। यसमा अझै धेरै अध्ययन हुनु आवश्यक छ।

श्रद्धेय अध्यक्ष ओलीले केही दिनअघि पनि अयोध्याधामको अवलोकन तथा स्थानीयवासीहरु संग भेटघाट तथा अन्तरक्रिया गर्नुभएको थियो।

भौतिक प्रगतिको हिसाबले चितवन देशभरिमै तीव्र विकास भइरहेका जिल्ला अन्तर्गत पर्दछ। देशका छ वटा महानगरपालिकामध्ये भरतपुर एक हो।

ऐतिहासिक, भौगोलिक, आर्थिक, सामाजिक र सांस्कृतिक हिसाबले भरतपुर निकै सम्भावना बोकेको शहर हो। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, गरीबी न्यूनीकरण लगायतका सूचकहरूमा भरतपुर र यहाँका अन्य नगरपालिकाहरू अग्रणी छन्।

चितवनमा कम्युनिष्ट आन्दोलन

चितवनमा कम्युनिष्ट आन्दोलनको शुरूआति क्षण केलाउँदै जाँदा २००८ मा पुगिन्छ। एक अध्ययन अनुसार गौरीभक्त प्रधानलाई चितवनको पहिलो कम्युनिष्ट संगठनकर्ता मानिएको छ। प्रधान काठ्माडौंबाट बसाइँ सरेर चितवन आएपछि विस्तारै कम्युनिष्ट गतिविधि शुरू भएको थियो।

यद्यपि उहाँको चितवन बसाई राजनीतिक भन्दा व्यापारिक प्रयोजनका लागि बढी रहेको इतिहासका जानकारहरू बताउँछन्। तैपनि हालसम्म पहिचान भएकामध्ये प्रधान चितवनको पहिलो कम्युनिष्ट अगुवा भएको मान्न सकिन्छ। नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लागेपछि प्रधान गुरिल्ला तालिमका लागि चीन जानुभएको थियो।

उहाँ झण्डै तीन वर्ष चीन बसेर नेपाल फर्किनुभयो। त्यसपछि उहाँको बसाइँ कहिले चितवन त कहिले काठमाडौं हुन थाल्यो। वि.सं. २०६२ माघमा दिएको एक अन्तर्वार्तामा प्रधान स्वयंले यी कुरा उल्लेख गर्नुभएको छ। प्रधानका अलावा किशोरचन्द्र ढुंगाना पनि चितवनका पुराना कम्युनिष्ट अगुवा मानिनुहुन्छ।

२०२२ सालतिर वीरेन्द्र बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख भएर आउनुभएका आनन्ददेव भट्टलाई पनि चितवनको कम्युनिष्ट आन्दोलनको ईतिहासमा निकै स्मरण गर्ने गरिन्छ। उहाँका अलावा नरबहादुर खाँण, जेपी भेटवाल लगायतको देन चितवनको आन्दोलनमा स्मरणीय छ।

चितवन जिल्लामा हाल नेकपा (एमाले)का २५ हजार संगठित सदस्य छन्। जिल्ला अधिवेशन गर्नका लागि पार्टीको दशौं जिल्ला अधिवेशन आयोजक कमिटी गठन भएको छ। उक्त कमिटी ७ सय ९९ सदस्यीय छ।

एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका गरी सात वटै स्थानीय तहमा पालिका कमिटी क्रियाशील छन्। जिल्लाका ९८ वटै वडामा वडा कमिटी र रामपुर कृषि विश्वविद्यालय तथा क्यान्सर अस्पतालमा गरी दुई दुई वटा शाखा कमिटी गठन भएर क्रियाशील रहेको छ

सबै जनवर्गीय संगठन र पेशागत संगठनका कमिटीहरूले पनि निकै सशक्त ढंगले आफ्ना गतिविधि गर्दै आएका छन्।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा चौतर्फी घेराबन्दी र विपक्षीको मोर्चाबन्दीका बावजुद पनि पार्टीले उत्साहजन नतिजा हात पारेको थियो। जिल्लाका सात स्थानीय तहमध्ये चार वटा स्थानीय तहमा प्रमुख र पाँच वटामा उपप्रमुख नेकपा एमाले एमालेका उम्मेदवार निर्वाचित भएका थिए।

भरतपुर महानगरपालिकामा भने मतपत्र च्यात्ने जस्तो घृणित गतिविधिका कारण हाम्रो पार्टीका महानगर प्रमुखका उम्मेदवारले पराजित हुने अवस्था आयो। जुन घटना देशव्यापी रुपमा चर्चामा पनि आएको थियो।

स्थानीय पालिकाका वडातर्फ एमालेले ५५ वडाअध्यक्ष र २५५ वडा सदस्य जितेको थियो। स्थानीय तहमा पार्टीका कुल ३ सय १९ उम्मेदवारले जीत हात गरेका थिए। 

जिल्ला समन्वय समिति पनि पार्टीको एकल शक्तिका आधारमा गठन भएको छ। प्रमुख, उपप्रमुख सहित नौ जना नै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू छन्।

प्रतिनिधि सभाका तीन मध्ये दुई र प्रदेश सभाका छ मध्ये चार निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएकोमा सबैले जीत हात पार्न सफल हुनुभयो। 

चितवनमा नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन हुनु चितवन र चितवनवासीका लागि गौरवको विषय बनेको छ। मुलुकभरका प्रतिनिधिबाट चितवनको आर्थिक, सामाजिक, पर्यटकीय अवस्था आदिको अध्ययन र अवलोकन हुनुले देश बिदेशमा चितवनको पहिचान फैलिन मद्दत पुग्ने छ। परिणमस्वरूप भविष्यमा उद्योग व्यवसाय, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि लगायतका विषय र क्षेत्रमा चितवन थप आकर्षणको केन्द्र बनेको छ। 

कम्युनिष्ट आन्दोलन र मुलुकका सबै राजनीतिक परिवर्तनमा अग्रणी भूमिका खेल्दै आएको चितवनमा गैरवशाली पार्टीको दशौं महाधिवेशन आयोजना हुनुले पार्टीका नेता कार्यकर्तालाई थप उत्साही बनाएको छ। 

चितवनका राजनीतिक चेतना भएका सबै मानिसलाई यसले प्रत्यक्ष वा परोक्ष रूपले राजनीतिक प्रशिक्षण प्रदान गर्ने छ। साथै आगामी  निर्वाचनमा नेकपा एमालेलाई विजयी गराउन थप मद्दत पुग्ने गरी जागरण ल्याउने छ। 

चितवनलाई महाधिवेशन स्थल तोक्ने निर्णय गरेर ऐतिहासिक अवसर प्रदान गरेकोमा पार्टीको केन्द्रीय नेतृत्वलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

देश विदेशबाट आउनु हुने नेता कार्यकर्ताहरू फर्किएर आफ्नो कार्यक्षेत्रमा पुग्दा पार्टीको विचार, संगठन, संघर्ष र उत्पादनको क्षेत्रमा थप सक्रियता देखाउने अपेक्षा गर्न सकिन्छ। 

यो महाधिबेशनले श्रद्धेय अध्यक्ष ओलीले अगाडि सार्नुभएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न र पार्टीलाई थप शक्तिशाली बनाउन अतुलनीय योगदान पुर्याउने छ। महाधिवेशनका क्रममा चितवन पाल्नु हुने सबै नेतागण, प्रतिनिधिहरू, स्वयंसेवक, पत्रकार र आम जनसमुदायमा हार्दिक स्वागत एवं अभिवादन।

रावल नेकपा एमाले चितवनकी अध्यक्ष हुन् | नवयुगबाट

प्रकाशित मिति: : 2021-11-19 14:25:00

प्रतिकृया दिनुहोस्