इजलाश बहिष्कार गरेर बार एसोसिएसनको आन्दोलनलाई साथ दिइरहेका सर्वोच्च अदालतका ‘हड्ताली न्यायाधीश’ हरुले अब साथ दिइरहन नसक्ने जनाउ दिएका छन्। बारका पदाधिकारीहरुसँग मंगलबारको छलफलमा सामेल १२ जना न्यायाधीशहरुले पनि यस्तो जानकारी दिएको बैठकका एक सहभागीले जानकारी दिए।
प्रधानन्यायाधीशको राजीनामा माग्दै एक महिनादेखि इजलाश बहिष्कार गर्दै आएका न्यायाधीशहरूमध्ये छ जना मंगलबारदेखि इजलाश फर्किएका थिए। बहिष्कार त्यागेर इजलाश फर्कने न्यायाधीशहरुमा तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, प्रकाश ढुङ्गाना, कुमार रेग्मी, कुमार चुडाल र मनोजकुमार शर्मा छन्। उनीहरुले अघिल्लो दिनै बारका पदाधिकारीसँगको बैठकमा अब इजलाश बहिष्कार गरेर छलफलमा आउन नसक्ने जनाउ दिएका थिए।
बारको प्रतिनिधिमण्डलसँग छलफलमा रहेका बाँकी न्यायाधीशहरुले पनि आफूहरु अब इजलाश बहिष्कार गरेर बारलाई साथ दिइरहन नसक्ने जानकारी गराएपछि बारको आन्दोलन सङ्कट परेको छ। ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे! विचौलियाका नाइके राजीनामा दे!’ भन्दै सर्वोच्च अदालतभित्रै नारा लगाउने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ, महासचिव लीलामणि पौडेलसहित बरिष्ठ अधिवक्ताहरु प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा नै प्रधानन्यायाधीश भएको अदालतमा कुन मुखले बहस गर्न जाने भन्ने पनि नैतिक प्रश्न खडा भएको छ।
बार एसोसिएसनका एक अधिकारीले भने, ‘अब हामीसँग चीसो पानीले नुहाउनुको विकल्प छैन। तीन दिनजति धर्ना गर्दै कुर्छौं। त्यतिञ्जेल राजीनामा आएन भने आन्दोलनका नयाँ कार्यक्रम घोषणा गर्छौं। राजनीतिक दलको नेतृत्वलाई प्रधानन्यायाधीश राणामाथि महाभियोग लगाउन दबाब दिन्छौँ।’