दीपावलीले काठमाडौँ उपत्यकालगायत प्रमुख शहर उज्यालोले झिलिमिलि बनेको छ।
उपत्यकामा दशैँको भन्दा बढी नै चहलपहल देखिए पनि कोरोना महामारीका कारण विगत वर्षमा जस्तो भने मानिस बजारमा निस्किएका छैनन्। युवतीहरु समूह बनाई घर घरमा भैलो खेल्छन्।
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइएको छ।
सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले वास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरेपछि धार्मिक विधिपूर्वक लक्ष्मी पूजा गरिएको हो। आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ-याङलगायत स्थानमा सरसफाइ गरी दीपावलीसमेत गरेपछि लक्ष्मी घरमा प्रवेश गर्ने विश्वास छ । आजको रातलाई सुखरात्रि पनि भनिन्छ।
लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरिने पूजा कोठा वा ढुकुटीसम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो एवं अबीरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ। पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइ पूजा गरिने परम्परा छ।
दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित थालीमा अष्टदल लेखेर लक्ष्मीको प्रतिमा स्थापना गरेर गरगहना, पैसाको पनि पूजा गरी फलफूल, सेलरोटी र फूलमाला चढाइएको छ। लक्ष्मी पूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा समेत दिने गरिन्छ। आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ। घरका अलावा व्यापारिक प्रतिष्ठानमा आज विधिपूर्वक लक्ष्मी पूजा गरिएको छ।