देशभरि परेको झरी अझै दुई दिन जारी रहने, बिहीवारदेखि मौसम सफा हुँदै जाने पूर्वानुमान

नेपालको पूर्वदेखि पश्चिमी भूभागसम्म आइतबारदेखि सुरु भएको झरी र भारी वर्षा बिहीबारदेखि क्रमश: हट्दै जाने मौसमविद्हरुले अनुमान गरेका छन्। 

बंगालको खाडी र मध्य भारतमा रहेको न्यूनचापीय प्रणालीमा पश्चिमी वायु प्रणालीको प्रभाव थपिएपछि तीन दिनदेखि देशभरि वर्षात् हुँदा भित्र्याउने बेलाको धानबालीमा गम्भीर क्षति भएको छ। काटेर सुकाइएका धानका नीन पानीमा डुबेका छन्। 

त्यसबाहेक बाढीपहिरोका कारण जनधनको समेत व्यापक क्षति भएको छ। लगातारको वर्षाका कारण सेती (पश्चिम), महाकालीलगायतका नदीमा ठूलो बाढी आएको छ। नदीले कटान र डुबान समेत गरेको छ। हिमाली भेगहरुमा समेत भारी वर्षा भएपछि बाढी-पहिरो गएको हो। 

जल तथा मौसम विज्ञान विभागले दिएको जानकारीअनुसार देशभरि नै पानी परेको छ। केही ठाउँमा त भारी वर्षा समेत भएको छ। 

सूदूरपश्चिम प्रदेशको डडेलधुरामा गत २४ घण्टामा सबैभन्दा भारी वर्षा भएको छ। गत २४ घण्टामा डडेलधुरामा २२० मिलिमीटर पानी पर्योर। जुन वर्षामासको भन्दा पनि बढी हो। 

गत दुई दिनमा पूर्वमा भन्दा पश्चिम नेपालमा बढी पानी परेको छ। दिपायलमा १८७.५, धनगढीमा १४०.२ मिलिमीटर वर्षा भएको जलतथा मौसम विभागले रेकर्ड गरेको छ। विभागका अनुसार, बङ्गालको खाडी हुँदै आएको मनसुनको बढी असर सूदूर पश्चिम प्रदेशमा देखिएको छ। सूदूरपश्चिममा आइतबारै मनसुन भित्रिएको थियो जसका कारण सूदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा भारी वर्षा भएको छ।

प्रदेश १ का केही ठाउँमा सोमबार हुरीबतास सहित भारी वर्षा भएको छ। प्रदेश १ सहित वागमती प्रदेश, सूदूरपश्चिम, कर्णाली र लुम्बिनी का केही ठाउँहरुमा अझै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। हिमाली भेगमा हिमपातसमेत भएको छ। 

पानी पर्ने क्रम अझै दुई दिन जारी रहने मौसम विभागको पूर्वानुमान छ। जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले भनिन्, ‘आज र भोलि भने धेरै स्थानमा मौसम यस्तै रहन्छ।’

विभागले गत साता नै मुलुकबाट मनसुन बाहिरिएको घोषणा गरेको थियो। धानबाली भित्र्याउने समयमा भारी वर्षा भएपछि देशभरका किसान मर्कामा परेका छन्।

प्रकाशित मिति: : 2021-10-19 15:56:00

प्रतिकृया दिनुहोस्